PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

रौनराजको लीला : टार्गेटमा टिनएजर, बिहेको निहुँमा ठगीको धन्दा



सविन ढकाल

रौनराजको लीला : टार्गेटमा टिनएजर, बिहेको निहुँमा ठगीको धन्दा

काठमाडौं : 'राज तिम्रो सपना भन्ने कोही साथी छ? मलाई भेट्न भन्दै थिइ,' इन्गेजमेन्टको अघिल्लो दिन सरिता (नाम परिवर्तन)ले आफ्नो प्रेमी रौनराज अर्याललाई अचानक प्रश्न गरिन्। अनायसमै आएको प्रश्नले राज अलमलिए झै लाग्यो। न कुनै जवाफ नै फर्काए।

'खै भुलेँ कि? फोटो देखाएपछि चिन्छु होला सायद,' राजको यतिमात्र भने। स्वभाविक हो, नामले मात्र सबैलाई चिन्न सकिन्न।

त्यसपछि सरिताले सपनाको फोटो देखाइन्। कुरा सामान्य थियो, भेटिएका सबैलाई चिनिन्छ भन्ने पनि हुँदैन। सरिताले राजलाई फोटो देखाइन्। तर, राजले चिनेजस्तो कुनै छनक दिएनन्।

सरिता र राजको काठमाडौँको एक पार्टी प्यालेसमा इन्गेजमेन्टको तयारी भइसकेको थियो। केही समयको चिनजान र प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सुरुमा थिए उनीहरू।

इन्गेजमेन्टको समय आउन केही घण्टामात्र बाँकी थियो। दुवै परिवार त्यसैमा व्यस्त। 'व्यस्त भएरै केही जवाफ दिएनन् होला'- सरिताले यस्तै सोचिन्। सरिता खुशी थिइन्।

तर, स्थिति एकाएक परिवर्तन भयो। इन्गेजमेन्टको दिन बिहानबाट राजसँग एक्कासी सम्पर्क हुन छाड्यो। एकाएक गुमानाम नै भए।

घरपरिवारमा हल्लाखल्ला मच्चियो। इन्गेजमेन्टका लागि तयारी रहेका केटा नै गायब! आखिर कहाँ गए राज? कसैले अपहरण त गरेन? कसै गर्दा पनि राजसँग सम्पर्क हुन सकेन। तर, सरितासामु सम्पर्कमा आयो एउटा रहस्य।

युवतीको त्यो सम्पर्क...

सरिताले इन्गेजमेन्टको अघिल्लो दिन रौनराजलाई सोधेकी युवती थिइन सपना (नाम परिर्वतन)। सरिता र सपनाको चिनजान भने थिएन। तर, सपनाले नै सरितालाई भेट्न खोजेकी थिइन्। किन अपरिचित सपनाले राजको नाम लिँदै उनलाई भेट्न खोजिन्?

सपनासँग भेट भएपछि सरिता छाँगाबाट खसेजस्तै भइन्। रौनराजको खास राज खुलेपछि सरिताको होस् हवास् नै रहेन।

बिहेको तयारीमा रहेको प्रेमी त 'ठग' हो भन्ने थाहा पाउँदा कस्तो होला?

सपनाले रौनराज 'ठग' भएको राज खुलाइन्। त्यतिमात्र होइन, एकपछि अर्को गर्दै राजका कर्तुतहरुको पर्दाफास गरिन्।

सपनाले त्यसो नगरुन पनि किन? राजबाटै यसअघि उनी ठगिएकी रहिछिन् जसरी सरिता ठगिने मुखमा पुगेकी थिइन्।

सपनालाई राजले आफू पाइलट भएको र विवाह गर्ने भन्दै लाखौँ रकम ठगेको रहेछ।

सरितालाई यी सबै कुरा पत्याउन सजिलो त थिएन। तर, सपनाको कुरासँगै एकाएक सम्पर्कबिहीन भएका राजको नियतमाथि शंका नगरी रहन पनि सक्ने कुरा थिएन। ठमेलमा घर, पाइलट पेशा, विदेशको आइडी सबै एक एक गर्दै झुट साबित भयो।

राजको एउटा डायलग रहेछ साझा। सरिता र सपना दुवै त्यो डायलगसँग परिचित। 'काँचो माटो हौं, जस्तो आकार दियौ त्यस्तै बन्छौ,' हरेक किशोरीलाई लोभ्याउन उनी यही भन्दा रहेछन्। सपना र सरिता दुवैका लागि यी शब्दहरु परिचित नै थिए।

नवलपरासी घर भएका २८ वर्षीय रौनराज अर्याल अहिले महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। तीन जना युवतीसँग विवाह गर्ने भन्दै लाखौँ रकम ठगिएको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

'टिन एजर युवतीलाई विभिन्न प्रलोभनमा पारेर विवाहको नाटक गरी लाखौँ रकम लिएर फरार हुने गरेको देखियो,' परिसरका डिएसपी होविन्द्र बोगटीले भने।

प्रहरीको अनुसन्धानमा अर्यालले अहिलेसम्म ५० जनाभन्दा बढी युवतीलाई ठगी गरेको खुलेको छ। परिसरमा एक युवतीले विवाहको नाटक गरेर ३५ लाख रुपैयाँ ठगिएको समेत उजुरी समेत दिएकी छिन्।

'उसले ठमेलमा घर छ। बाहिरको आइडी कार्ड होल्डर हुँ भन्दै ठग्ने गरेको देखियो। ठगिएका कतिपय युवतीले उजुरी नै दिन मान्नु भएको छैन,' डिएसपी बोगटीले भने।

उनको साथबाट प्रहरीले ४० वटाभन्दा बढी विभिन्न कम्पनीका सीमकार्ड समेत बरामद गरेको छ। एउटै समयमा धेरै युवतीलाई फरक फरक नम्बरबाट सम्पर्क गरेर ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको हो।

'तिमीहरू काँचो माटो हौँ। म राम्रो आकार दिन्छु भन्दै धेरैलाई एउटै भनाइ भनेर प्रलोभनमा पारेको भेटियो,' डिएसपी बोगटीले भने।

पक्राउ परेका अर्याल यसअघि पनि जबर्जस्ती करणी मुद्दामा जेल सजाय भुक्तान गरेका व्यक्ति समेत भएको अनुसन्धानमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell