PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ट्रोलमा ‘गलबन्दी च्यातियो’ : ‘ढिला आयो तर कडा आयो’ 



ट्रोलमा ‘गलबन्दी च्यातियो’ : ‘ढिला आयो तर कडा आयो’ 

  • मन्दिरा खत्री-

पछिल्लो समय ‘ढिला आयो कडा आयो’ भन्ने वाक्य बच्चा देखि वृद्धसम्मको मुखमा झुन्डिएको छ। बोलीचालीको भाषामा मात्र नभएर यो वाक्य सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा समेत निकै पपुलर भएको छ। 

साता देखि युटुवको ट्रेण्डिङ एकमा रहेको प्रकाश सपुतको गीत 'गलबन्दी'लाई यो समाचार तयार पार्दासम्म ९१ लाख ८८ हजार भ्युज पुगिसकेको छ। 

गीत ट्रेण्डिङमा रहँदै गर्दा यो गीतका ट्रोलहरु पनि हिट भइरहेका छन्। सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा वली र राष्ट्रपति विद्या देवी भण्डारीलाई जोडेर समेत भिडियोहरू बनिरहेका छन्। यही गीतमा प्रचण्डको नृत्यलाई पनि जोडिएको छ।

भिडियोमा मात्र नभएर गलबन्दी गीत टिकटिकमासमेत लोकप्रिय बनेको छ। 

गीतमा समावेश ‘ढिला आयो कडा आयो’, ‘क्या चित्त बुझ्ने भनिस् नि’ लगायतका वाक्यले गीतमा थप मौलिपना र रौनकता भरेको छ। गीतमा केटाले तीन वटा अन्तरा भनिसक्दा पनि केटीले कुनै जवाफ नदिएको र ढिलो गरी दिएको जवाफमा एक वृद्धाले ‘ढिला आयो तर, कडा आयो’ भन्ने वाक्य नै सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको हो। 

सामाजिक सञ्जाल फेसबुकमा ‘ढिलो आयो कडा आयो’ नामका ग्रुपसमेत खोलिएका छन्। फेसबुक पेज खोलिएका छन्। कतिसम्म भने अहिले चलिरहेको विश्वकप क्रिकेटका समर्थकहरूले आफ्नो टोलीको समर्थनमा यही ट्रोल बनाएका छन्। बुधवार भएको भारत र दक्षिण अफ्रिका विरुद्धको खेलका क्रममा नेपाली फ्यान ‘प्रवीण’ले व्यक्त गरेको ‘भारत ढिलो आयो कडा आयो’ भन्ने भनाइलाइ क्रिकेटको लाइभ कमेन्ट्रि साइट इएसपीएन क्रिक इन्फोले ‘नेपाल ट्रेण्डिङ’ भइरहेको भनाई भन्दै उल्लेख गरेको छ। 

फेसबुकमा ढिलो आयो कडा आयो भन्दै फोटो क्याप्सनहरू पनि राखिएका छन्।

'गलबन्दी'का गायक प्रकाश सपुतलाई गीतको यो डायलग यति चर्चित हुन्छ जस्तो भने लागेको थिएन। 'मैले गीतको शब्द र सङ्गीत तयार पारेपछि गीतलाई थप रोचक बनाउनको लागि हरेक अन्तरापछि एउटा एउटा वाक्य वा थेगो राखेको हुँ,' उनले पहिलोपोस्टसँग भने, 'जसलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न ट्रोल र भिडियोहरू बनिरहेका छन्। यस्ता ट्रोल तथा भिडियोहरू मेरो गीतको लागि प्लस पोइन्ट भएको छ।'

उनले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउँदै नेपाली सामाजिक सञ्जालहरूमा आएका ट्रोलहरुलाई सकारात्मक लिएको बताए। 'यसले लोक दोहोरी गीतलाई अझ माथि पुर्‍याउन मद्दत गरेको छ,' उनले भने। 

लोक दोहोरीका ट्रेन्ड सेटर सपुत 


यस अघि प्रकाश सपुत र प्रीति आलेले ‘दोहोरी ब्याटल’ बजारमा ल्याएका थिए। जसमा उनले लोक दोहोरी गीतमा नयाँ शैलीको प्रयोग गरेका थिए। उनको दोहोरी ब्याटलले लोक दोहोरी गीतमा नयाँ ट्रेन्ड भित्र्याएको हो। त्यस्तै उनले ‘बोल माया’ गीत बजारमा ल्याए । त्यो गीत पनि हिट भयो। जसमा गरिबीको कारण बिदेशिएका नेपाली मरेर बाकसमा नेपाल फर्किएको कथालाई समेटिएको छ। 

यही कथाको निरन्तरता हो गलबन्दी। गीत सङ्गीतको दुनियाँमा दर्शकलाई नयाँ स्वाद पस्किएका प्रकाश सपुतले गलबन्दी उनको अर्को गीत ‘बोल माया’ को प्रिक्वेल भएको बताएका छन्। गीतमा प्रकाश सपुतसँगै मोडल अञ्जली अधिकारी फिचर छिन्। यस अघि रिलिज भएको गीत बोल मायामा पनि प्रकाश र अञ्जलीले नै अभिनय गरेका थिए। 

गीतमा प्रकाश सपुतसँगै गायिका शान्ति श्री परियारको स्वर रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell