PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हावाहुरीका कारण मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारको एक लाख ५० हजार रुपैयाँ राहत



एम बम

हावाहुरीका कारण मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारको एक लाख ५० हजार रुपैयाँ राहत

कैलाली : सुदूर पश्चिम प्रदेश सरकारले हावाहुरीका कारण मृत्यु भएका परिवारलाई एक लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयले गत बिहीवार साँझ कैलाली–कञ्चनपुरमा आएको हावाहुरी प्रभावितका लागि उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले हावाहुरीबाट घरमा पूर्ण क्षति भएका परिवारलाई २० हजार र आाशिंक रूपमा क्षति भएका परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको बताए।

यस्तै, सुदूरपश्चिम मुख्यमन्त्री राहत कोष स्थापना गर्ने निर्णयसमेत आइतबारको मन्त्रिपरिषदले गरेको छ। प्रवक्ता शाहका अनुसार उक्त कोषमा जम्मा भएको रकम प्राकृतिक प्रकोप पीडितलाई उपलब्ध गराइने छ।

गत बिहीवार साँझ आएको हावाहुरीका कारण कैलालीमा २ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा टीकापुर नगरपालिका – २ राजिपुरका ४७ वर्षीय लाहानु चौधरी र गोदावरी नगरपालिका – ८ का ३५ वर्षीय वीरबहादुर चौधरीको रहेका छन्। सय बढी घाइते भएका थिए।

सुदूरपश्चिम प्रदेश सरकार गठनपछि प्राकृतिक प्रकोपमा परेकालाई समेत प्रति व्यक्ति एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने जनाएको छ। सरकार गठनपछि सुदूर पश्चिममा ३८ जनाको प्राकृतिक प्रकोपमा परेर मृत्यु भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell