PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

धनगढी विमानस्थल भोलिबाट खुल्ने, धावन मार्ग ओभर लेयरको काम भने यथावत रहने



एम बम

धनगढी विमानस्थल भोलिबाट खुल्ने, धावन मार्ग ओभर लेयरको काम भने यथावत रहने

कैलाली : गत वैशाख २२ गतेबाट हवाई उडान ठप्प पारेर धनगढी विमानस्थल स्तरोन्नतीको काम चलिरहेको छ। जेठ २१ गतेबाट उडान जारी गर्ने गरी थालिएको काम लम्बिएपछि एक साता ढिलो गरी भोलिबाट उडान सुरु हुने भएको छ। धनगढी विमानस्थलका प्रमुख तेज बहादुर बुड्थापाले भोलिबाट उडान सुरु हुने जानकारी दिए।

तर, विमानस्थलको धावन मार्गमा भने अझैसम्म ओभर लेयरको काम सम्पन्न भएको छैन। ओभर लेयरको काम जारी रहने तर उडान भने बुधवारबाटै सुरु हुने उनले बताए।

‘दलदले माटो फालेर उडान भर्न सकिने जति काम सकिएको छ,’उनले भने, ‘बुधवारबाट ३१ गतेसम्म नर्मल उडान हुन्छ, फेरि १ गतेबाट राती काम हुने गरी बाँकी रहेको ९ सय मिटर ओभर लेयरको काम अघि बढ्छ।’

धनगढी विमानस्थलको लम्बाई १८ सय मिटर रहेको छ।

असार १ गतेबाट अपरान्ह ४ बजेबाट बिहान साढे ८ बजेको समय ओभर लेयरका लागि भनेर छुट्ट्याइएको विमानस्थलका प्रमुख बुड्थापाको भनाइ छ।

विमानस्थलमा धावन मार्ग ओभर लेयर, पार्किङ क्षेत्र र धावन मार्ग विस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले लुम्बिनी, कोसी एन्ड न्यौपाने, खड्का, कोइराला कृष्ण जेभी सँग करिब साढे १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।

दैनिक साढे ६ सय यात्रुले ओहरदोहर गर्ने धनगढी विमानस्थल मर्मत सुरु भएदेखि पूर्ण रूपमा बन्द छ। त्यसको चाप नेपालगञ्ज विमानस्थलमा परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell