PahiloPost

Jun 26, 2019 | ११ असार २०७६


राजधानीकै रित्ता स्कूल : खाली कोठा रुँघ्नु शिक्षकको काम


स्वेच्छा राउत

राजधानीकै रित्ता स्कूल : खाली कोठा रुँघ्नु शिक्षकको काम

मखन गल्ली, खड्गचोकमा छ - तारिणी आधारभूत विद्यालय। महाराजगञ्जकी सीता घिमिरे र चाबहिलकी दीपा दाहाल यस स्कूलका अध्यापक। तर, यी दुई जनाले खाली कक्षाकोठा रुँघेर बसेकै दुई वर्ष भइसक्यो।

यो स्कूलमा फाट्टफुट्ट केही विद्यार्थी आउँछन्, भर्ना गर्छन्। स्कूलले नि:शूल्क दिने पोशाक, कापी, कलम र किताब लिन्छन्। त्यसपछि भने फर्किँदैनन्। पोहोर साल पाइन्ट सर्ट लिएकाहरुले यस वर्ष 'घङ्गरा' पाए पढ्छु भन्दै त आए। तर, पोहोरजस्तै ड्रेस त 'दशैंसम्म पढ्न आए' मात्र पाउने बताएपछि भर्ना नै नभइ फर्किए।

यहाँ पढ्न आउने विद्यार्थीहरु प्राय: निम्न आर्थिक अवस्थाका हुन्। असन इन्द्रचोक वरपर पुराना घरहरुमा भाडामा बस्नेका सन्तानले यही शिक्षा लिन्थे। २०७२ सालमा भूकम्प आउँदा त्यस्ता पुराना घरहरु भत्किए। त्यसपछि उनीहरु मध्य शहरबाट बाहिरिए। अनि स्कूलको रौनक पनि हरायो।

'वर्षौ साना नानीहरुको हल्लाखल्लाबीच काम गरियो। आजभोलि त स्कूल स्कूलजस्तो लाग्दैन। हरेक दिन उहाँ मिस र म। सधैं उही कुराकानी। निकै अल्छी लाग्छ,' पन्ध्र वर्षदेखि स्कूलमा काम गर्दै आएकी दीपा बोलिन्।

२३ वर्षदेखि यही स्कूलमा कार्यरत् सीता ती दिन सम्झन्छिन् जब स्कूलमा ७० जनासम्म विद्यार्थी हुन्थे। कक्षा कोठा भरिन्थ्यो। र, ठाउँ नपुगेकाहरुलाई सिँढीमा राखेर पढाउनुपर्थ्यो।

हालसालै अभिभावक आकर्षित हुने आशाले कक्षा कोठाहरुमा रङरोगन पनि गराए। सामान मिलाएर स्कूलको भवनभित्र चिटिक्क पनि पारे। तर, विद्यार्थी आएनन्।

एउटा कोठामा सिङ्गो विद्यालय, उस्तै हाल यता पनि

ईन्द्रचोकस्थित केशचन्द्र बिहारको एउटा कोठा। डेस्कबेन्च एकमाथि अर्को खापेर थन्क्याइएको छ। ब्ल्याक बोर्ड र दराजहरु पनि भित्तातिर फर्काएर राखिएको छ। नफर्काइएका दराजमा राखिएका किताब कापी र अन्य सामान धुलोले छपक्कै छोपेको छ।

यो कोठा श्री केशचन्द्र निम्न माध्यमिक विद्यालयको हो। विद्यालयमा यही एउटा कोठामात्र छ। अध्यापक राजेश महर्जन इयरफोन लगाएर बसेका छन्। कोठामा उनी एक्लै। अर्का अध्यापक हुन्,विमला पौडेल।

दुईजना अध्यापक रहेको यस प्राथमिक विद्यालयमा विद्यार्थी भने एकजना पनि छैनन्।

राजेश थानकोट बस्छन्। विद्यालयसम्म आइपुग्न घरबाट बिहान आठ बजे नै निस्कन्छन्। किनकि कार्यालय समयमा हुने जाम चर्को छ। विद्यालयको समय दश बज्नुअघि नै सुरु हुन्छ। त्यसैले समयमै विद्यालय पुग्छन्। तर, पुग्नुको पनि अर्थ चाहिँ खासै छैन।

विमला पौडेलको पनि कथा उस्तै। कोटेश्वरदेखि हरेक बिहान विद्यालय धाउँछिन् उनी। समयको ख्याल राखेर यहाँ आइपुगे पनि औचित्य चाहिँ नील।

दुवै आउँछन्, आफैँ विद्यालयको ढोका खोल्छन्। दिनभर बस्छन्। बिहार घुम्न आउने पर्यटकहरुसँग कुराकानी गर्छन्। र, सधैं दिउँसो तीन बजेपछि निस्कन्छन्।

यो उनीहरुको दैनिकी नै हो। शिक्षक बन्ने, विद्यार्थी पढाउने सपना देखेर शिक्षण पेशामा होमिएका राजेश र विमला कामबिहीन छन्। नयाँ शैक्षिक सत्रको सुरुवातसँगै आशा थियो, नयाँ विद्यार्थी आइहाल्छन् कि भन्ने। तर, जेठ महिनाको यतिखेर पनि हरेक दिन विद्यालय आउनु, दिनभर विद्यार्थी कुर्नु र बेलुकी निराशा बोकेर फर्कनुको विकल्प छैन।

अघिल्लो वर्ष २ विद्यार्थी थिए यहाँ, रोशन बुढाथोकी र कृजन महर्जन। ती पनि मन लाग्दा आउँथे। मन नलाग्दा स्कूल वरपर नै खेलेर बस्थे। यसपाला ती पनि नफर्केपछि स्कूल शून्य छ।

विद्यालयमा विद्यार्थी नआउनुको कारण के त?

दुर्गमका धेरै विद्यालयमा विद्यार्थीभन्दा बढी शिक्षक शिक्षिका भएको खबर नौलो होइन। तर, काठमाडौँको बीचमा विद्यार्थी नै नभएको विद्यालयमा पनि अध्यापकहरु दैनिक खटिरहेको घटना अनौठो लाग्न सक्छ। तर, यी दुईमात्र विद्यालयको कथा भने होइन यस्तो।

'अङ्ग्रेजी जाने बच्चा ट्यालेन्ट हुन्छन् भन्ने सोचे। त्यसैले धेरै अभिभावकले सकी नसकी निजी स्कूलमा बच्चा भर्ना गरे। यता आउन छाडे,' विद्यार्थी नहुनुको कारण तारिणी आधारभुत विद्यालयकी सीता घिमिरेले यस्तो बुझेकी रहिछिन्, 'अङ्ग्रेजीको क्रेज नहुँदासम्म त यहीँ पनि टन्नै विद्यार्थी थिए।'

शिक्षा विभागले पच्चिस जना मात्र विद्यार्थी राख्ने अनुमति दिएको विद्यालय केशचन्द्र निमावि। तर, वरपरका मानिस छोराछोरी भर्ना गराउन आउँदा अस्वीकार गर्न सक्थेनन्। त्यसैले हरेक वर्ष तीस जनासम्म बालबालिका भर्ना हुन्थे कुनैबेला। शिशु कक्षादेखि पाँच कक्षासम्मका विद्यार्थीहरुलाई फलामे पाताले पार्टेसन गरेर भिन्नाभिन्नै राखिन्थ्यो। एउटा कक्षामा पढाएको आवाज अर्कोमा आउँथ्यो तर पनि कक्षा नियमित सञ्चालन हुन्थ्यो।

आधा दर्जन अध्यापक थिए। प्राथमिक तहमा विषय शिक्षक नछुट्याए पनि दक्षता अनुसार विषय छनोट गरेर पढाउँथे सबैले।

विद्यालयले उपलब्ध गराउने नि:शूल्क किताब, कापी, कलम र खाजाले पनि धेरै विद्यार्थीलाई आकर्षित गरेको थियो। त्यसैले मुख्यत: ज्याला मजदुरी गरेर खाने, तरकारी बेचेर दैनिकी चलाउने र आर्थिक अभावमा रहेका परिवारका बालबालिका यो विद्यालय धाउने गरेका थिए।

महानगरभित्रका यस्ता सामुदायिक विद्यालयहरुको उद्देश्य नै गरीब, दु:खी र असहाय विद्यार्थीलाई नि:शूल्क शिक्षा प्रदान गर्ने रहेको बताउँछिन् अध्यापक विमला। त्यसैले एकै परिवारका तीन चार जनासम्म विद्यार्थी आउने गरेका थिए।

तर, २०७२ मा गएको भूकम्पपछि अवस्था उस्तै रहेन।

'भूकम्प पछि त स्कूलसम्म आउने बाटोहरु थुनिए, घरहरु भत्किए। अभिभावकले जोखिम ठाउँ भनेर छोराछोरी पठाउन डराए,' उनले भनिन्, 'मनोवैज्ञानिक त्रास हुनु स्वभाविक हो। हामी समेत साँघुरा गल्ली छिचोल्नुअघि तीनपटक सोच्ने गर्थ्यौं।'

भूकम्पपछि विद्यालय शून्य भए पनि विद्यार्थी घट्नेक्रम भने त्यसअघि नै सुरु भएको थियो। जसको प्रमुख कारण मान्छिन् निजी मोन्टेश्वरी र विद्यालयको प्रभाव।

'छोराछोरी टाइ लगाएर चिटिक्क पर्दा छुट्टै गर्व महसुस गर्छन् अभिभावक। त्यसैले नाङ्लो पसल गर्ने अभिभावकले नाङ्लोको साइज बढ्ने बित्तिकै यहाँबाट निजीमा सारे, ' उनी अगाडि थप्छिन्, 'अरु त अरु हामी सरकारी विद्यालमा पढाउनेले पनि आफ्ना छोराछोरी त निजीमै पढायौं। सायद यस्तै कारणहरुले गर्दा विश्वास दिलाउन सकेनौं।'

केशचन्द्र विहारकै भवनमा रहेको यो विद्यालयमा शौचालय र खानेपानीको पनि समस्या पुरानै हो। अध्यापकहरुले काठमाडौं महानगरपालिका वडा नम्बर २४, कार्यालयको शौचालयको प्रयोग गर्दै आएका छन्।

विद्यार्थी घट्दै गएपछि केही अध्यापक रिटायर्ड भए। केहीलाई शिक्षा विभागले सरुवा गर्‍यो।

२००७ सालमा प्रजातन्त्र स्थापनापछि स्थानीयले स्थापना गरेको विद्यालय हो केशचन्द्र निमावि। आफ्नो ठाउँका बालबालिका शिक्षाबाट पर रहन नपरोस् भन्ने उद्देश्य लिएका थिए त्यतिखेर। बिहारभरि स्थानीय बालबालिका जम्मा हुन्थे। ढिला आउनेहरुलाई ठाउँ पुग्दैन थियो, त्यसै फर्कन्थे। दिनभर पढाईसँगै खेलकुद पनि चल्थ्यो।

शिक्षक शिक्षिका पनि सबै स्‍थानीय नै। तीमध्येका केही हुन् मोहनकृष्ण डंगोल, डाक्टर अच्युतबहादुर श्रेष्ठ, केशरी शाक्य, गोविन्दबहादुर श्रेष्ठ। यी विद्यालय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरु हुन्।

२०१४ सालमा दर्ता भएपछि यस विद्यालय सरकारको मातहातमा सञ्चालन हुन थाल्यो।

आफू पढेको स्कूल सुनसान भएको देखेर दु:खी छन् स्थानीय निमकाजी शाक्य। त्यस समय कोचाकोच गरेर विद्यार्थी पढाउने विद्यालय शून्य हुनु अविश्वसनीय मान्छन् उनी। सुनाउँछन्, 'टोलभरिका केटाकेटी भेला हुन्थ्यौं। सँगै पढ्थ्यौं। उमेर र क्षमता अनुसार कक्षा छुट्ट्याइको थियो। मैले कक्षा पाँचसम्म यहीं पढेँ। त्यसपछि अलि टाढा जानुपर्‍यो। माध्यमिक तह थपे टाढा जानु पर्दैनथ्यो भन्ने लाग्थ्यो। तर, अब त स्कूलनै बन्द हुने अवस्था आयो।'

सरकारले सेवा, सुविधा दिएको छ तर विद्यार्थी छैनन्। यसलाई नकारात्मक परिवर्तन मान्छन् उनी। भन्छन्, 'प्रतिस्पर्धामा निजी विद्यालयहरु छन्। त्यसैले सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न ध्यान दिनैपर्छ।'

विद्यार्थी बोलाउन घरदैलो कार्यक्रमदेखि रङरोगन सम्म

बाइस वर्षयता स्कूल धाउन थालेकी विमला पौडेल भने विद्यालयसँग भावनात्मक रुपमा जोडिएकी छिन्। धनकुटाको त्रिवेणी माध्यमिक विद्यालयमा नेपाली अध्यापन गर्थिन् उनी। सरुवा मागेर काठमाडौं आइन्। यहाँ प्राथमिक तहमा पढाउने भइन्, केशचन्द्रमा। गल्ली र घरहरुको बीचमा, एउटा कोठा। त्यही कोठा नै सिङ्गो विद्यालय। एउटा कोठामा पढाएको आवाज अर्कोमा सुनिन्थ्यो। विद्यार्थीहरु रुने कराउने अर्कोतिर। सुरुमा त पढाउनै सकस।बानी पर्दै जाँदा रमाउन थालिन्। कोठाभरी विद्यार्थी हुन्थे। पढाई, खेलकुद, नाँचगान गर्दा विद्यार्थी पनि खुब रमाउँथे। 'साना नानीहरु हुँदा समय कटेको पत्तो हुन्थेन। अहिले एकदिन पनि एक महिनाजस्तो लाग्छ,' उनी निरश सुनिन्छिन्।

विद्यार्थी टिकाउनका लागि अध्यापकहरु विभिन्न दाताको सहयोगमा नि:शूल्क खाजा खुवाए, कतिपटक आफ्नै खर्चमा पनि खुवाए। तर, पनि विद्यार्थी आउन छाड्नेक्रम रोकिएन।

नयाँ विद्यार्थी ल्याउनका लागि वरपरका टोलहरुमा घरदैलो कार्यक्रम गरे। विद्यालयमा उपलब्ध सेवा सुविधाबारे प्रचार गरे। तर, कसैले पनि छोराछोरी पठाएनन्।

अब आफ्नै सरुवाको मागमा छिन् उनी। शिक्षा विभागले विद्यालय व्यवस्थापन र सरुवा हुने आशा देखाएकै कारण अवकाश नलिइ दैनिक खटिइरहेकी छिन्।

***

शिक्षा विभाग भने तत्‍काल विद्यालय मर्ज वा सबै शिक्षक सरुवाको योजनामा छैन। एक शिक्षक सरुवा गरेर अर्कोलाई विद्यालयमै राख्नका लागि काम अघि बढेको छ।

शिक्षा विभागका शाखा अधिकृत तारापति खरेलका अनुसार यसरी विद्यार्थीबिहीन भएका विद्यालयहरुमा एक शिक्षक, प्रारम्भीक बालविकास केन्द्र (इसिडी) सहयोगी र एक सहयोगी दरबन्दी मिलानको काम भइरहेको छ। भने, 'यस्ता सामुदायिक विद्यालयहरु निश्चित समुदायको इतिहास र परम्परासँग जोडिएका शैक्षिक संस्था हुन्। यस्ता संस्था हतारमा बन्द गर्नुले विद्यालय मात्र नभएर इतिहास पनि रहँदैन। त्यसैले अब नयाँ ढङ्गबाट सञ्चालनमा ल्याउने योजना छ।'

उनले प्राथमिक विद्यालयहरुको गुणस्तर अभिवृद्धि गरी स्थानीय विद्यार्थीहरुलाई भर्ना गराउने लक्ष्य शिक्षा विभागको रहेको बताए। भने, 'मर्ज गर्नु र सरुवा गर्नु समस्याको समाधान होइन।'



राजधानीकै रित्ता स्कूल : खाली कोठा रुँघ्नु शिक्षकको काम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट