PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

स्पोर्ट्स् अवार्डलाई डिस मिडियाको सह प्रायोजन, ११ लाख बराबरको सम्झौता



पहिलोपोस्ट

स्पोर्ट्स् अवार्डलाई डिस मिडियाको सह प्रायोजन, ११ लाख बराबरको सम्झौता

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको बजाज पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्क लिमिटेडले सहप्रायोजन गरेको छ।

डिस मिडिया नेटवर्क र एनएसजेएफबीच शुक्रबार मुख्य सह प्रायोजनसम्बन्धी सम्झौता भएको हो।

नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको पल्सर स्पोर्ट्स अवार्डको लागि एनएसजेएफले डिस मिडियासँग लगातार नवौं वर्ष सहकार्य गरेको हो।

आइतवार भएको कार्यक्रममा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी देवेन्द्र र डिस मिडिया नेकवर्कका प्रवन्ध निर्देशक सुदिप आचार्यले सम्झौतामा हस्ताक्षर गरे। सम्झौता एक वर्षको लागि गरिएको हो।

मुख्य सह प्रायोजनको रुपमा सम्झौता भएसँगै अब डिस मिडिया नेटवर्क पल्सर स्पोर्ट्स अवार्डको इन एसोसिएसनको रुपमा रहनेछन। यसअघि नै एनएसजेएफले अवार्डका लागि गोल्डस्टारसँग पनि मुख्य प्रायोजन सम्झौता गरिसकेको छ। गोल्डस्टार भने 'पावर्ड बाई'को रुपमा रहनेछ।

डिस मिडियासागको सम्झौतापछि अब अवार्डको नाम 'एनएसजेएफ इ एसोसिएसन विथ एक्सन स्पोर्ट्स एचडी प्रिसेन्ट्ज पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार'को नाममा रहने अध्यक्ष सुवेदीले बताए।।

सम्झौताअनुसार डिस मिडियाले अवार्डका लागि नगद ७ लाख र ४ लाख बराबरको सेट अफ बक्स उपलब्ध गराउनेछ।

'हामीले डिस मिडियासँग सम्झौतामा यस पटक गत वर्षभन्दा चार गुणा वृद्धि गरेका छौं। यस पटक हामीले दुई वटा मुख्य सहप्रायोजन राख्ने निर्णय गरेका थियौँ। त्यसै अनुसार एउटालाई पावर्ड बाई र अर्कोलाई इन एसोसिएसन विथ राखेका हौँ।' एनएसजेएफका अध्यक्ष सुवेदीले भने। 'यसले अवार्डमा एनएसजेएफको मात्र नभई अरुको पनि ओनरसिप जोडिएको देखाउँछ। यसबाट हामी खुशी छौं। यो हाम्रो मात्र नभएर सबैको अवार्ड हो।'

सुवेदीले सरकारले समेत यस पटक अवार्डको लागि रकम छुट्याएको जानकार दिए। 'अवार्डमा सरकारले समेत ९ लाख ३० हजार छुट्याएको छ।'

यस्तै डिस मिडियाका प्रवन्ध निर्देशक सुदिप आचार्यले खेलकुद क्षेत्रमै डेडिकेट भएर लागेको डिस मिडिया र नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्ट्स अवार्डको लागि सहकार्य गर्न पाउ खुशी भएको बताए। साथै उनले कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छन् त्यसमा आफूहरु तयार रहेको समेत बताए।

एनएसजेएफले यसअघि नै मुख्य प्रायोजककको रुपमा रहेको हंशराज हुलास चन्द एण्ड कम्पनीसँग सम्झौता नविकरण गरिसकेको छ।

नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डको रुपमा रहेको यस अवार्डको १६औं असार १७ गते काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ।

यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

यसअघि नै कार्यक्रमको पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ। वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ। यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ।

यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ।

पिपुल्स च्वाइसको अवार्डकका लागि मनोनयनमा परेका ५ खेलाडीको नाम यसअघि नै सार्वजनिक भइसकेको छ। जसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन छन्।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको पल्सर मोटरसाइकल रहेको छ। अन्य प्रायोजकहरूमा सूर्य नेपाल प्रालि, टी.एच.टी लाईभ ३७७२२, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, एभिन्युज खबर, केल्मी, इमेजिङ, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell