PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भारतको पञ्जाबबाट सुनका गहना र नगद चोरी, कैलाली र कञ्चनपुरबाट पक्राउ



एम बम

भारतको पञ्जाबबाट सुनका गहना र नगद चोरी, कैलाली र कञ्चनपुरबाट पक्राउ

कैलाली: प्रहरीले सुनका गरगहना र नगद रकमसहित ४ जनालाई पक्राउ गरेको छ। भारतको लुधियाना पन्जाबस्थित गुरुदेव नगरबाट चोरिएका सुनका गरगहना र झन्डै साढे तीन लाख नगदसहित कैलालीका २ र कञ्चनपुरका २ जनालाई उनीहरूको घरबाटै प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिकाका योगेन्द्र बिक, गौरिगंगा नगरपालिकाका कुमार भुल, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मानबहादुर कार्की र सोही ठाउँका सन्तोष भट्टराई रहेका छन्। वैशाख २८ गते सुन चोरेर फरार रहेका उनीहरूलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र कैलाली बिहीबार पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट २७ ग्राम ५ सय ३० मिलिग्राम सुनको एक थान सिक्री, ८ ग्राम ८० मिलिग्राम सुनको एक थान औँठी, १ ग्राम ४ सय मिलिग्राम सुन लगायतका गहना र १ लाख ४७ हजार ५ सय भारतीय रुपैयाँ, ९२ हजार ५ सय नेपाली रुपैयाँ, १ सय ३० अमेरिकन डलर, हंगेरीको ५ सय नगद रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुदीप गिरीले बताए।

आपसी सल्लाहमा गुरुदेव नगरका नन्द किशोरको घरमा काम गर्दै आएका मशेश विकसँग सल्लाह गरी उनीहरू उक्त रकम र सुनका गहना चोर्न सफल भएका थिए।

नन्द किशोरले नेपाल आएर घरबाट सुन र हीराका गरगहना र नगद चोरी गरेको सूचना प्रहरीलाई दिएका थिए। सोही सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक गिरीले बताए। चोरीमा संलग्न केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।

नन्द किशोरले प्रहरीमा बुझाएको विवरण अनुसार थुप्रै सुन र हिराका गहना अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell