PahiloPost

Jul 18, 2019 | २ साउन २०७६


कृषिमा स्नातक गरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘ट्याक्टर चलाउन जानेको छु, क्रान्तिका लागि राजनीतिमा होमिएँ’ 


कृषिमा स्नातक गरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘ट्याक्टर चलाउन जानेको छु, क्रान्तिका लागि राजनीतिमा होमिएँ’ 

  • सूर्यप्रकाश कँडेल

चितवनः नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित अर्थतन्त्र र उद्योगबाट मात्रै आर्थिक समृद्धिको नयाँ युगको सूत्रपात हुने बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयले रामपुरमा आयोजना गरेको कृषि मेलाको शनिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘जबसम्म कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने कुरा अगाडि बढ्दैन, बेरोजगारीको समस्याको समाधान पनि हुँदैन’ उनले भने, ‘कृषिमा आधारित अर्थतन्त्र र कृषिमा आधारित उद्योगले मात्रै हामीले नेपालको आर्थिक क्रान्ति वा आर्थिक समृद्धिको नयाँ युगको सूत्रपात गर्न सम्भव छ।’

नेपालमा कृषिको विविधिकरण, आधुनिकीकरण, विज्ञान र प्रविधिको यसमा सदुपयोग गरेर तीन करोड होइन, दस करोड जनालाई खान पुग्ने खाद्यान्न उत्पादन गर्न सकिने तागत नेपालको जमिन र नेपाली किसानहरुमा रहेको पूर्वप्रधानमन्त्री प्रचण्डको भनाइ थियो। 

अध्यक्ष प्रचण्डले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई नेपालको विशिष्ट, उत्कृष्ट र दक्षिण एसियाको नमुना विश्वविद्यालय बनाउनु पर्नेमा जोड दिए। ‘नयाँ संकल्पका साथ उत्पादन वृद्धि र रोजगारी सृष्टिको साथ नयाँ अभियानका रुपमा अगाडि लैजान जरुरी छ’ उनले भने, ‘सरकारले आफ्नो नीति तथा कार्यक्रमबाट कृषिमा सुधारका काम गरिरहेको छ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना त्यसको एउटा उदाहरण भएको उनको भनाइ थियो।

‘हिजो मैले कृषिमा स्नातक गर्दा यही अगाडिको रामपुर कलेजबाट गरेँ’ पुराना दिन सम्झँदै अध्यक्ष प्रचण्डले भने, ‘त्यतिबेला दस कठ्ठामा धानखेती गरेको थिएँ। मैले ट्याक्टर चलाउन सिकेको यही कृषि कलेजमा हो। सामान्य किसानको छोरो हुनुको नाताले कृषिमा क्रान्ति गर्नु पर्छ भन्ने सोचेर राजनीतिमा होमिएँ।’ 

संविधान सभाको पहिलो निर्वाचनपछि प्रधानमन्त्री बनेका बेला आफूलाई रामपुर क्याम्पसलाई कृषि विश्वविद्यालय बनाउनु पर्छ भन्ने सोच आएको र त्यसै अनुरुप काम अगाडि बढाएको उनले बताए। 

समाजवाद हुनको लागि पर्याप्त उत्पादन र रोजगारी हुनु पर्ने धारणा राख्दै उनले भने, ‘कृषिमा विज्ञान र प्रविधिको उच्च प्रयोग हुनु पर्छ। कृषिमा क्रान्तिकारी तरिकाले भिन्न इजरायल, कृषिमा प्रविधिको प्रयोगमा अगाडि रहेका चीन र भारतबाट हामीले सिक्नु पर्छ।’ कृषिमा आधुनिकीकरण गरी चक्लाबन्दीद्वारा सामुहिक खेती प्रणालीको आफ्नै मोडालिटीको विकास गर्न सकिने उनको भनाइ थियो।

‘राजनीतिक नेतृत्वको हैसियतले र यहाँ पढेको विद्यार्थी भएको नाताले कृषिमा क्रान्ति ल्याउने आकांक्षा लिएर अगाडि बढ्न जरुरी छ’ अध्यक्ष प्रचण्डले भने, ‘यो विश्वविद्यालयको विकास हामी सबैको संकल्पलेमात्र सम्भव छ। यसका लागि योजनावद्ध ढंगले हामी अगाडि बढ्नेछौं।’ 
अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्मानित कृषकहरुलाई बधाई दिँदै कृषि मेलाको सफलताको शुभकामना दिनुभयो। शनिबारदेखि सुरु भएको मेला मंगलबार समापन हुनेछ। कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक कृषि मेलाको आयोजना गरेको हो।



कृषिमा स्नातक गरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘ट्याक्टर चलाउन जानेको छु, क्रान्तिका लागि राजनीतिमा होमिएँ’  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट