PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भेनेजुएला संकट: पेरुले भिसा बिना प्रवेश नदिने नियम ल्याउँदै, सयौं भेनेजुएलियन आजै पेरु जाने प्रयासमा



भेनेजुएला संकट: पेरुले भिसा बिना प्रवेश नदिने नियम ल्याउँदै, सयौं भेनेजुएलियन आजै पेरु जाने प्रयासमा
फोटो: REUTERS

पेरुले भेनेजुएलाका नागरिकहरुलाई आफ्नो राष्ट्रमा प्रवेश गर्न कडाई गर्ने भएको छ।

पहिला परिचय पत्रका आधारमा भेनेजुएलियनहरु पेरु प्रवेश गर्न पाउँथे। तर पेरु सरकारले शनिवार अब आफ्नो देशमा प्रवेश गर्नेहरुसँग अनिवार्य रुपमा पासपोर्ट हुनुपर्ने र भिसा लगाउनु पर्ने नियम ल्याएको छ।

पासपोर्ट र भिसाको नियम लागू गर्ने घोषणा गरेपछि अहिले सयौं भेनेजुएलियन नागरिकहरु पेरु प्रवेश गर्न सीमामा पुगेको बताइएको छ।

भेनेजुएलामा बढ्दो बेरोजगारी, खाद्यान्न र औषधीको अभावका साथै राजनीतिक अस्थिरताका कारण २०१५ यता ४० लाख भन्दा बढी मानिस भेनेजुएलाबाट पलायन भइसकेको बताइएको छ।

पासपोर्ट अनिर्वाय गर्ने भएपछि आफ्नो दुई छोरीहरु लिएर पेरुसँग जोडिएको उत्तरी सीमामा जाने प्रयत्नमा रहेकी  भेनेजुएलाकी मारिन्नी लुजार्डोले एपी प्रेसलाई भनिन्, 'भेनेजुएलामा पासपोर्ट बनाउन असम्भव छ। त्यसैले हामी सकेसम्म छिटो पेरु पुग्नु पर्छ।'

पेरुका राष्ट्रपतिले भिसा र पासपोर्टका विषयमा भने,' हामीले ८ लाख भेनेजुएलियनहरुका लाग सीमा खुल्ला गरेका छौं। उनीहरुलाई पासपोर्ट र भिसा लिएर आउन केही समस्या हुँदैन। हाम्रो देशमा को प्रवेश गर्‍यो हामीलाई राम्री जानकारि हुन्छ।'

भेनेजुएलाका करिब १३ लाख नागरिक हाल कोलम्बियामा, ७ लाख ६० हजार भन्दा धेरै पेरुमा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले अमेरिकी प्रतिबन्धका कारण भेनेजुएलामा चरम आर्थिक संकट भएको तर्क गर्दै आएका छन्। यता, जुआन गुएडोले गत जनवरीमा आफूलाई नै राष्ट्रपति घोषणा गरेपछि भेनेजुएला आन्तरिक द्वन्दको चपेटामा फस्दै आएको छ।

गुएडोलाई अमेरिका, बेलायत, दक्षिण अमेरिकी राष्ट्रहरुको समर्थन रहेको छ भने मडुरोलाई चीन र रसियाको साथ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell