PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विश्वकप क्रिकेट: भारत-पाकिस्तानको हाई भोल्टेज म्याच, यस्तो छ इतिहास



पहिलोपोस्ट

विश्वकप क्रिकेट: भारत-पाकिस्तानको हाई भोल्टेज म्याच, यस्तो छ इतिहास

क्रिकेट भन्ने बित्तिकै भारत-पाकिस्तानको म्याच सँगै जोडिएर आउँछ। यी दुई टिमको म्याच भनेपछि क्रिकेटका समर्थक र सामान्य क्रिकेट बुझ्नेहरू पनि आकर्षित हुने गर्छन्।

दुई छिमेकी राष्ट्र हुन्। तर एक अर्काका कट्टर विरोधी पनि। कुनै खेल यस्तो हुन्छ कि जसले खेल मात्र नभएर धेरै विषयमा अर्थ राख्छ। भारत भर्सेस पाकिस्तानबीचको क्रिकेट खेलले पनि त्यही अर्थ राख्छ।

यही दुई टोली इंग्ल्याण्ड र वेल्समा भइरहेको आइसीसी विश्वकप क्रिकेटमा आज भिड्दैछन्।

हाइ भोल्टेज म्याच, बहुप्रतीक्षित म्याच, टिकटको मूल्य बढेको खेल, म्याच अफ दि टुर्नामेन्ट, प्रतिष्ठासँग जोडिएको खेल लगायत यस्तै विशेषण जोडिएर आउँछ यी दुईको खेल हुँदा।

१२औं संस्करणको एक दिवसीय विश्वकपको २२औं खेलमा यी चिरपरिचित प्रतिद्वन्द्वी आमन-सामुन्ने हुँदैछन्।

यो खेललाई लिएरै एउटै मात्र चिन्ता छ, वर्षा। वर्षाका कारण यस विश्वकपमा चार खेल रद्द भइसकेका छन्। तीन खेल टस नै नभई वास आउट भएका थिए भने एक खेल सुरु भएर मात्रै रद्द भयो।

भारत र पाकिस्तानबीचको खेल इंग्ल्याण्डको म्यानचेस्टरस्थित ओल्ट ट्राफोर्डमा हुँदैछ। तर यो फुटबल खेल्ने मैदान भने होइन।

यस खेललाई लिएर दुबै देशका खेलाडी, समर्थक र टेलिभिजनमा खेल हेर्ने विश्वभरका क्रिकेट दर्शक समेत उत्साहित छन्। तर कतै वर्षाले खेल प्रभावित हुने हो कि भन्ने चिन्ता पनि साथै रहेको छ।

अर्को तथ्य के छ भने एक दिवसीय विश्वकपमा भारतलाई पाकिस्तानले अहिलेसम्म हराउन सकेको छैन। अहिलेसम्म भएको ६ खेलमा भारतले सबै जितेको छ। पछिल्लो पटक २०११ मा भारतले पाकिस्तानलाई सेमिफाइनलमा हराएको थियो। भारत त्यही लयलाई निरन्तरता दिने योजनामा छ भने पाकिस्तान त्यो जिङ्क्स तोड्ने पक्षमा हुनेछ।

तर समग्र एक दिवसीय खेलमा भने पाकिस्तान धेरै अगाडि छ। कूल १३१ खेल मध्ये पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले ५४ खेल जितेको छ। ४ खेल नतिजाविहीन बनेको थियो।

भारतले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यद्यपि न्यूजिल्याण्डविरुद्धको पछिल्लो खेल भने वर्षाका कारण रद्द भएको थियो। प्रतियोगिता सुरु भएको एक सातापछि पहिलो खेल खेलेको भारतले सुरुमै ठुला प्रतिद्वन्द्वी विरुद्ध खेल्ने तालिका थियो। त्यसमा भारतले दक्षिण अफ्रिका र अस्ट्रेलियालाई पराजित गरिसकेको छ। न्यूजिल्याण्ड र भारतमात्र यो विश्वकपमा अपराजित छन्। भारत त्यसलाई समेत कायम राख्ने दाउमा छ।

उता पाकिस्तानले भने एक नासको प्रदर्शन गर्न सकेको छैन। वेस्ट इन्डिजविरुद्ध पहिलो खेलमै खराब ब्याटिङ गर्दै पराजित भएको पाकिस्तानले आयोजक इंग्ल्याण्डलाई पराजित गरेको थियो। त्यसपछि श्रीलंङ्काविरुद्धको खेल वर्षाका कारण रद्द भयो भने साबिक विजेता अष्ट्रेलियासँग पराजित भयो।

४ खेलबाट ३ अङ्कमात्र रहेको पाकिस्तान अहिले १० राष्ट्र सहभागी विश्वकपमा पुछारबाट दोस्रोमा छ। खेलेका ४ वटै खेल हारेको अफगानिस्तान पुछारमा छ। समान अङ्क भए पनि वेस्ट इन्डिज, दक्षिण अफ्रिका र बङ्गलादेश रनरेटका कारण पाकिस्तानभन्दा माथि छ।

सुरुवात दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको भारतलाई पाकिस्तानविरुद्ध ओपनिङको समस्या हुन सक्छ। नियमित ओपनर शिखर धवन चोटका कारण ३ साता बाहिर रहेकोले पाकिस्तानविरुद्ध केएल राहुलले ओपनिङ गर्ने सम्भावना छ। यस्तै पछिल्लो खेलमा अस्ट्रेलियाविरुद्ध ५ विकेट लिएका फास्ट बलर मोहम्म आमिर पनि भारतका लागि टाउको दुखाई बन्न सक्छ।

केएल राहुलले रोहित शर्मासँग ओपनिङ गरेमा भारतको नम्बर ४ मा कसले ब्याटिङ गर्ने भन्ने समस्या यथावत् नै छ। विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकलाई खेलाउने वा अलराउण्डर विजय शंकरलाई मौका दिने भन्ने निर्णय भइसकेको छैन। परिस्थिति हेरेर पूर्व कप्तान महेन्द्र सिंह धोनी वा अलराउण्डर हार्दिक पाण्ड्या पनि उक्त स्थानमा ब्याटिङ गर्न सक्छन्।

फास्ट बलरद्वय जसप्रित बुमराह र भुवनेश्वर कुमार अनि स्पिनर युजभेन्द्र चहलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

उता पाकिस्तानको टप थ्री ब्याट्सम्यान खासै चल्न सकेका छैनन्। ओपनरद्य फकर जमन र इमाम उल हक अनि तेस्रो नम्बरका बाबर आजमले उत्कृष्ट ब्याटिङ गरेमा त्यो टिमको लागि फाइदा हुनेछ। यस्तै यसअघिका खेलमा जम्न नसकेका सोएब मल्लिकको स्थानमा पनि अन्य खेलाडीले अवसर पाउन सक्नेछन्।

सर्फराज अहेमदको कप्तानीमा रहेको पाकिस्तानी टोली जस्तोसुकै नतिजा ल्याउन पनि सक्छ। इंग्ल्याण्डमै भएको च्याम्पियनसिप ट्रफीमा पाकिस्तानले भारतलाई नै हराएर उपाधि जितेको थियो। भार त्यो हारको बदला लिने दाउमा समेत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell