PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तेल बोकेको ट्याङ्कर आक्रमणमा इरान जिम्मेवार: साउदी युवराज



तेल बोकेको ट्याङ्कर आक्रमणमा इरान जिम्मेवार: साउदी युवराज
फोटो : Al Jazeera

साउदी अरेबियाले ओमनको खाडीमा तेल बोकेको दुईवटा ट्याङ्करमा भएको आक्रमणमा इरानको संलग्नता रहेको बताएको छ।

बिहिवार भएको पानीजहाज आक्रमणमा यसअघि अमेरिकाले समेत इरानको संलग्नता रहेको आरोप लगाएको थियो।

साउदीका युवराज महोम्मद बिन सलमानले भने,' इरानले जापानका प्रधानमन्त्री तेहरान भ्रमणमा रहेका बेला दुई वटा ट्याङ्करमाथि आक्रमण गर्‍यो। दुई ट्याङ्करमध्ये एक जापानको थियो।'

जापानको कोकुका करेजियस र नर्वेको फ्रन्ट अल्टारको स्वामित्व रहेको तेल ट्याङ्करमा आक्रमण भएको हो।

गत महिनामा समेत संयुक्त अरब इमिरेटसमा तेल बोकेको पानीजहाजमाथि आक्रमण भएको थियो। अमेरिकाले त्यसको जिम्मेवार पनि इरान रहेको आरोप लगाएको थियो।

गत अप्रिलमा इरानले अमेरिकालाई 'आतंकवादको प्रायोजक' घोषणा गर्दै आफ्नो भूमिमा रहेका अमेरिकी सैनिकलाई 'आतंकवादी संगठन' घोषणा गरेको थियो।

अमेरिकाले इरानी सेनाको एक समूह 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेको बदलामा इरानले समेत अमेरिकालाई काउन्टर दिन यस्तो निर्णय गरेको थियो।

इरानसँग युद्ध नै लड्ने घोषणा गरेको अमेरिकाले इरानले आफ्नो सहयोगी राष्ट्रका साथै त्यस क्षेत्रमा रहेका आफ्ना सेनामाथि आक्रमण गर्न सक्ने भन्दै मध्यपूर्वी क्षेत्रमा मिसाइल र युद्धपोत तैनाथ गरेको छ। यस्तै केहीदिन अघि मात्रै मध्यपूर्वी क्षेत्रमा सेनाको संख्या बढाउँदै अमेरिकाले इरानमाथि दबाव सिर्जना गरेको थियो।

इरानले भने मध्यपूर्व क्षेत्रमा अमेरिकाले अशान्ति फैलाउन खोजिरहेको आरोप लगाउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell