PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'कागजको पानी जहाज बनाएर सामाजिक सञ्जालमा राख्ने होसियार! पाँच वर्ष जेल बस्नुपर्ला'



'कागजको पानी जहाज बनाएर सामाजिक सञ्जालमा राख्ने होसियार! पाँच वर्ष जेल बस्नुपर्ला'

काठमाडौं: नेपाली कांग्रेसका सांसद गगन थापाले सुचना प्रविधि विधेयकको विरोध गर्दै प्रनेश गौतमलाई चलचित्रको समीक्षा गरेकै भरमा हिरासतमा लिएकोमा विरोध गरेका छन्। आजको प्रतिनिधि सभाको बैठकमा सांसद थापाले सरकारले आफ्नो दम्भ देखाएर जनताको मुख थुन्न खोजेको आरोप लगाए।

नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था दर्दानक बन्दै गएको उल्लेख गर्दै उनले एब्सोर्डिस्ट ह्युमरको विधामा चलचित्रको समीक्षा गर्दा केही दिनदेखि हिरासतमा राख्नु आपत्तिजनक भएको बताए।

सुचना प्रविधि विधेयक र मिडिया काउन्सिलसम्बन्धी विधेयककोले अब चलचित्रकर्मी पनि सुरक्षित नरहेको थापाको भनाई थियो। उनले भने, 'चलचित्रकर्मी साथीहरु त्यसकारणले गर्दा होसियार। तपाईको कथा संवाद गीतमा अब कसैलाई जिस्क्याउने कन्टेन्ट छ भनेर प्रदेश गौतमको ठाउँमा अब हिरासतमा बस्नुपर्ला त्यो पनि केही दिनका लागि हैन पाँच वर्षका लागि।'

अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्ने असुरक्षित रहे पनि सरकारको अरिंगालहरु भने सुरक्षित रहेको थापाको दाबी थियो।

'प्रधानमन्त्रीले पानीजहाज ल्याउँछु भन्दा जिस्काएर कागजको पानी जहाज बनाएर सामाजिक सञ्जालमा राख्ने युवक होसियार। प्रधानमन्त्रीकै पार्टीभित्र रहेर फरक मत राख्नेहरु पनि होसियार। यहाँ कोही पनि सुरक्षित छैन,' उनले भने, 'यो कानुन पारित भइसकेपछि यो कानुनको कसरी प्रयोग हुन्छ हामीले अहिल्यै अनुमान लगाउन सक्छौँ। यहाँ केवल सरकारको अरिंगालहरु मात्र सुरक्षित रहन्छन्।'

त्यसैगरी थापाले अभिव्यक्ति स्वतन्त्रताको अवस्था दयदीय बन्दै गएको तर्क गरे। 'अक्स्फोर्ड युनियनमा प्रधानमन्त्रीले भन्नुभयो देशको समृद्धिका लागि अभिव्यक्ति स्वतन्त्रताको महत्त्व कति हुन्छ भन्ने मलाई राम्रोसँग थाहा छ। सम्माननीय प्रधानमन्त्री ज्यूले पक्कै पनि यो बेलायतको कुरा गर्नुभयो,' उनले भने, 'नेपालको अभिव्यक्ति स्वतन्त्रताको हालत प्रधानमन्त्रीको सरकारले यहाँ के गरिरहेको छ भन्ने कुरा हामी सबैलाई थाहा छ। शासकीय शैलिमाथि प्रश्न गरियो भनेर पशुपति शर्माको गीत बन्द गर्न लगाएको अस्ति मात्रै हो।'

उनले घटना घट्यो भन्दा पनि यस विषयमा सरकारले कसरी लिएको छ भन्ने कुरा महत्त्वपूर्ण भएको बताए।

'सनातन स‌ंस्कृतिको दायित्व बोकेको राज्यले गुठीलाई मासेर नेपालको सांस्कृति पहिचान र सम्पदा मासेको विरोधमा बोल्नेहरुको मुख थुन्न लाठी र पानी फ्याँकेको त झन अस्ती मात्र हो,' उनले अगाडि भने, 'एब्सोडिस्ट ह्युमरको विधामा रहेर एउटा चलचित्रको समिक्षा गरे वापत प्रनेश गौतम विना कारण केही दिन देखि हिरासतमा छन्। यी केही प्रतिनिधि घटना मात्र हुन्। घटना घट्यो भन्दा पनि सरकारले यसलाई कसरी लियो यो महत्त्वपूर्ण विषय हो।'

स्वतन्त्रताको अर्थ स्वछन्दता होइन भन्दै यी प्रत्येक घटनामा सरकारको भूमिका ठिक भएको भन्ने सरकारको दलिल डरलाग्दो भएको उनले बताए।

 संविधानले विचार अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हक स्थापति गरेको स्मरण गराउँदै थापाले भने, 'यो कसैले दिने होइन यो कसैले पाउने होइन यो अहरणीय छ। हाम्रो राष्ट्रिय अखण्डता वा कुनै व्यक्तिको अधिकारको प्रयोग गर्दा अर्को व्यक्तिको अधिकार हनन नहोस भन्नका लागि अपवादको रुपमा यसलाई लिइन्छ। यो नै नर्म बन्न गयो भने स्थिति डरलाग्दो हुन्छ। जुन अहिले बन्न जाँदै छ।'

सरकारी व्यक्तिको संरक्षणमा व्यक्तिको आत्मसम्मानलाई ध्वस्त गर्ने गरी गाली बेइज्जती गरिरहन पाउने तर सरकारलाई मन नपर्दा गालि बेइज्जती वा शिष्टताको नाममा जुन बेला मनलाग्यो जसको जतिबेला मनलाग्यो मुख थुन्न पाउने कानुन सरकारले बनाउन लागेको उनले आरोप लगाए।

 नेपाली कांग्रेको विरोधका वाबजुद पारित गर्न लागिएको सूचना प्रविधि विधेयकले सामाजिक सञ्जालमा कसैलाई जिस्काउने होच्याउनेलाई पाँच वर्षको कैद र १५ लाख रुपैयाँ जरीवानाको व्यवस्था गरेको भन्दै उनले भने, 'जिस्काउने झुक्याउने होच्याउनेको परिभाषा के?'

भारतमा यस्तै ऐनकै दफा त्यहाँको अदालतले असंवैधानिक भन्दै खारेज गरिदिएको भन्दै नेपालमा त्यसभन्दा कठोर कानुन ल्याउन लागिएको उनले आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell