PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

युरोपबाट फर्केपछि गुठी, वाइडबडी र लोकसेवा विज्ञापनबारे के के भने प्रधानमन्त्री ओलीले?



युरोपबाट फर्केपछि गुठी, वाइडबडी र लोकसेवा विज्ञापनबारे के के भने प्रधानमन्त्री ओलीले?

काठमाडौं: युरोप भ्रमणबाट स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीले विभिन्न प्रश्न गरे।

जेठ २५ मा युरोप भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीलाई विमानस्थलको अति विशिष्ट कक्षमा समसामयिक विषयमा ८ वटा प्रश्न राखेको प्रधानमन्त्री कार्यालयले जारी गरेको प्रेसनोटमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले दिएको जवाफ जस्ताको तस्तै: 

अबको समय संवाद, सहकार्य र अग्रगमनको 

मैले एक दुईवटा कुरा मात्रै भन्छु। केही कुराहरू हाम्रो वक्तव्यमा उल्लेख नभएका जस्तो हामीले मैले टर्कीका उपराष्ट्रपतिसँग पनि भेटघाट गरेको थियौँ। आइएलओका डाइरेक्टरले दिनु भएको भोजमा संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष, दक्षिण अफ्रिकाका राष्ट्रपति लगायत नर्वेका प्रधानमन्त्री अनेक नेताहरूसँग साइड लाइनमा वा अनेक ढंगले वाञ्छित कुराकानी भएको छ र त्यसले ती देशहरूसँगको हाम्रो सम्बन्ध, हाम्रो आर्थिक गतिविधि, बहुआयामिक सम्बन्धलाई अगाडि बढाउन मद्दत पुर्‍याएको छ।

अर्को, एउटा कुरा केही मानिसहरूले नबुझेको कुरा के छ भने अबको समय नेपालको आवेश, उत्तेजना, द्वन्द्व, आन्दोलनको समय होइन। अबको समय संवाद सहमति, सहकार्य र अग्रगमनको समय हो।

हिजो एउटा समय थियो, जति बेला आधारभूत प्रश्नमा नै हामीले अधिकार प्राप्त गरेका थिएनौँ। राजनीतिक अधिकार नै थिएन। त्यस कारण हामीले आन्दोलन गर्नु पर्दथ्यो। जनता सार्वभौमसत्ता सम्पन्न थिएन। त्यस कारण आन्दोलन गर्नु पर्दथ्यो।

अहिले दुई ओटा कुरा नबुझेको हो। एउटा– जनता नै सार्वभौसत्ता सम्पन्न भइसकेको छ। तसर्थ जनताको इच्छा, भावना र हित विपरीत कुनै पनि कुरा हुँदैन। त्यो अर्को कुरा के हो भने अहिले जनतालाई देवता मान्ने, जनतालाई सर्वोपरि मान्ने, जनताको इच्छा, आकांक्षा, हित र आदेश अनुसार काम गर्ने जनताप्रति उत्तरदायी सरकार छ। त्यस कारण जनताका कुरा सुन्छ। र, जनताको हितमा काम गर्छ। अर्को कुरा कुनै पनि कुरा शतप्रतिशत परफेक्ट नहुन पनि सक्छ। त्यस्तो भयो भने सरोकारवाला पक्षले, जनताको कुनै पक्षले यहाँनिर यस्तो भयो है भन्ने बित्तिकै त्यो विरोधको भावना बेस्सरी उछालेर कहाँ पुग्छु भन्ने त्यो भावना नराख्दा पनि हुने हो। 

त्यो विरोध केही उछालिनेवाला पनि छैन। जनता भड्काउन सकिन्छ कि भन्ने नसोचे पनि हुन्थ्यो। भड्काउन सकिने वाला पनि छैन। जनताका लागि काम गर्ने सरकार छ। अनि जनता के कारणले भड्किन्छ ? कुनै कमी कहीँ देखियो भने त त्यो सरकारले सच्चाइ हाल्छ। त्यस कारण जनताको इच्छा अनुसार काम गर्ने जनताको सरकार भएको हुनाले जनतालाई दमन गरेर आएको सरकार होइन यो। जनताको अभिमतबाट जनताप्रति प्रतिबद्ध रहेर, जनताप्रति प्रतिबद्धता जनाएर, त्यो प्रतिबद्धताका साथ र देशलाई अगाडि बढाउने संकल्पक साथ आएको सरकार हो। त्यस कारण यो सानातिना कुराहरूमा नअल्झिए हुन्थ्यो। अल्झिरहनु पर्ने आवश्यकतै थिएन। 

गुठीका नाममा गरिबहरूमाथि शोषण भइरहेको छ 

गुठीसम्बन्धी कतिपय ठाउँमा गुठीका नाममा जनता माथि, गरिबहरू माथि शोषण भइरहेको छ। जमिन सबै कुरा एकै ठाउँ ‘टकासार भाजि टकासार खाजा’ भन्छ हिन्दीमा।  त्यो हुँदैन। बैली, बहल, धार्मिक गुठी, यहाँका यस्ता ऐतिहासिक गुठीहरू, हाम्रा संस्कृतिसँग, सांस्कृतिक परम्परासँग र यस्ता परोक्ष ढंगका सांस्कृतिक धरोहरसँग जोडिएका गुठीहरूको कुरा बेग्लै हो। यदि यस विधेयकले कहीँ कतै त्यस प्रकारका गुठीहरूमा कतै केही धक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्छ। 

अब केही मानिसहरूले खुबै मौका पायौँ भन्ठानेको होला। कुनै चान्स आउने वाला छैन। चान्स छैन। किन भने यो सरकार जनताका लागि, जनताले भने अनुसार काम गर्छ। जनताको हितमा काम गर्छ र यो हाम्रा परम्परा, हाम्रा संस्कृति, हाम्रा ऐतिहासिक धरोहरहरू, हाम्रा पुरातात्विक महत्त्वका धरोहरहरू, पुरातात्विक महत्त्वका धरोहर भन्दा घर मात्रै बुझिँदैन। घरसँग जोडिएका हाम्रा संस्कृति बुझिन्छ। मच्छेन्द्रनाथको रथ यात्रा आफैमा एउटा धरोहर हो। इन्द्रजात्रा आफैमा एउटा धरोहर हो। कुमारी जात्रा आफैमा एउटा धरोहर हो। त्यस कारण भवन, घर, कुदिएको कला मात्रै होइन। सांस्कृतिक कला जो झन् राम्ररी कुदिएको छ। त्यो पनि हो। त्यस कारण यसमा कुनै भ्रम राख्नु पर्ने आवश्यकता म देख्दिन। 

अब म आइसक्या छु। यो सबै कुरा हामी हेरेर कुनै पनि हाम्रो सांस्कृतिक धरोहर, ऐतिहासिक धरोहर, परम्परा, चाडबाड रीतितिथिसँग कुनै कुराले कहीँ नेरी अलिकति पनि प्रतिकुल असर वा घच्चा जानेर वा नजानेर पारेको रहेछ भने त्यसलाई त सरकारले सच्याइहाल्छ। यो सरकार बनेको जनताको मन दुखाउन होइन। यो सरकार बनेको जनताको मन हँसाउन हो।
 
त्यस कारण कहीँ कतै केही नपुगेको देख्दा वा कहीँ कतै केही भुल बस् कतै गएको देख्दा त्यो मौका आयो कि भन्ठान्नु बेकार हो। म त्यति भन्न चाहन्छु यस सन्दर्भमा।

अर्को हाम्रा जहाजहरू युरोपियन आकाशमा पनि उड्ने छन्, विश्वका जुनसुकै आकाशमा उड्ने छन्। त्यो उड्ने प्रबन्धका लागि हामी तयारी गर्दैछौँ। यस पल्ट पनि हामीले गम्भीरताका साथ कुरा उठाएका छौँ। 

सन् १९४७ को सम्झौतालाई त्रिपक्षीय राख्नु जरुरी छैन

अर्को सन् १९४७ को त्रिपक्षीय सम्झौता त्यो धेरै पुरानो भयो, त्यो साँचो हो। त्यसले आजका हाम्रा आवश्यकतालाई त्यसले निर्देशित गर्न, नियन्त्रित गर्न सक्ने अवस्था छैन। त्यस कारण स्वाभाविक हो यो कुनै आवेश उत्तेजनाको विषय होइन। १९४७ को त्रिपक्षीय सन्धी त्यो भारतबाट ब्रिटिस गोर्खा भनिएका हाम्रा दाजुभाइहरू रेजिमेन्ट मारिएका बेलाको कुरा हो।
 
त्यस कारण त्यस कुरालाई त्रिपक्षीय नै राख्नु पर्ने आवश्यकता छैन। आज हामी दुई पक्षीय सहमतिमा जान सक्छौँ। त्यसका लागि पुनरावलोकन गर्नु पर्छ। समग्र पुनरावलोकनको पक्षमा हामी छौँ। कसरी अगाडि बढ्ने भन्ने कुरा। यो कुनै भन्न नहुने कुरा वा लुकाएको कुरा होइन। मैले युकेमा त्यहाँ प्रधानमन्त्री थेरेसा मेरी मेसँग पनि यो कुरा गरे र हाम्रो विचार हो यो।

हाम्रो सोच हो भनेर भने। तर त्यो कुरा मात्रै संयुक्त वक्तव्यमा आउँछ जो दुवै पक्षलाई उत्तिकै सजिलोसँग स्वीकार्य हुन्छ। त्यो नभइसकेको अवस्थामा त्यो दुई पक्षीय संयुक्त वक्तव्यमा आउँदैन त्यो, स्वाभाविक हो। अहिले हामीले उठाएका हौँ त्रिक्षीय सम्झौता अब आवद्यिक रहेन, यसको पुनरावलोकन गर्नु पर्छ भन्ने कुरा हामीले उठाएका हौँ। 

भ्रमण फलदायी रह्यो 

भ्रमण संक्षिप्तमा अत्यन्तै फलदायी रह्यो। हामी अत्यन्त सक्रिय पनि रह्यौँ। हामीले हाम्रा नीतिहरू, उपलब्धिहरू, आवश्यकताहरू, आंकाक्षाहरु यी सबै कुराहरूलाई सबै ठाउँमा सान्दर्भिक ढंगले, सान्दर्भिक ठाउँहरूमा उठाएका छौँ, अगाडि बढाएका छौँ। 

छानबिन भइरहेका कुरामा नबोलौं 

वाइड बडी चाहिँ त्यसमा छानबिन हुँदै छ। छानबिन भइरहेका कुरामा मैले धेरै केही नबोलौँ। अब गैर जबाफदेही पाराले फलानो भ्रष्टाचार, फलानोले खायो भन्दिन मिल्छ तर मैले परिणाम नआइकन कसैको बारेमा भन्न मिल्दैन। छानबिन हुँदैछ–जो दोषी छ उम्किन पाउँदैन। दोषी माथि कारबाही हुन्छ। वाइडबडी अहिलेसम्म उडेन। किन भने पहिले त तयारी नै भएको थिएन त्यसको। अब बिस्तारै उड्छ। अब सरकारको त्यसमा ध्यान गएको  छ।  

लोकसेवा आयोगको विज्ञापन सम्बन्धी   मुद्दा अदालतमा चलिराख्या छ क्यार, सबजुडिस केसमा धेरै केही नबोलौँ, धन्यवाद।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell