PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विश्वकप क्रिकेट: रोहितको शतक, कोहलीको कीर्तिमान, भारतले पाकिस्तानलाई ८९ रनले हरायो



विश्वकप क्रिकेट: रोहितको शतक, कोहलीको कीर्तिमान, भारतले पाकिस्तानलाई ८९ रनले हरायो

आइसीसी विश्वकप क्रिकेट २०१९ को हाई भोल्टेज म्याचमा भारतले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई पराजित गरेको छ।

रोहित शर्माको शतक, कप्तान विराट कोहली र केएल राहुलको अर्धशतक तथा विजय शंकर, कुलदीप यादव र हार्दिक पाण्ड्याको उत्कृष्ट बलिङमा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको हो। वर्षाले प्रभावित खेलमा भारत डिएल मेथडमा विजयी भएको हो।

जितपछि भारतले विश्वकपमा पाकिस्तानविरुद्धको अपराजित यात्रा कायमै राखेको छ। विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको यो सातौँ पटक हो।

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको अपराजित यात्रा कायमै राखेको भारतले ४ खेलबाट ७ अङ्क जोडेको छ। अर्को अपराजित टिम न्यूजिल्याण्डको समान अङ्क भए पनि रनरेटमा पछि रहेको भारत तेस्रो स्थानमा छ। ५ खेलबाट ८ अंक जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा छ।  पाकिस्तानको यो तेस्रो हार हो। ३ अङ्क मात्र रहेको पाकिस्तान नवौँ स्थानमा छ।

म्यानचेष्टरस्थित ओल्ट ट्रफोर्डमा भएको खेलमा ३३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३५ ओभरमा १६६-६ रन बनाउँदा पानी परेर खेल रोकिएको थियो।

यो अवस्थामा डिएल पार स्कोर २५२ रहेकोले पाकिस्तान ८६ रनले पछि परेको थियो। केही समयको वर्षापछि ओभर छोट्ट्याइएर खेल पुन: सुरु गरिएको थियो। जसअनुसार पाकिस्तानले ४० ओभरमा ३०२ रनको नयाँ लक्ष्य पाएको थियो। र खेल जित्नका लागि ३० बलमा १३६ रन बनाउनुपर्ने थियो। जसमा पाकिस्तानले ४६ मात्र रन थप्न सक्यो। ३०२ को लक्ष्य पाएको पाकिस्तानले ४० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनायो।

पाकिस्तानका लागि फकर जमनले अर्धशतक बनाए भने बाबर अजामले ४८ रन जोडे। इमाद वासिमले नटआट ४६ रन बनाए।

उच्च लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले दोस्रो इनिङ्सको पाँचौँ ओभरमै पहिलो विकेट गुमाएको थियो। भुवनेश्वर कुमार घाइते भएपछि उक्त ओभरको दुई बल विजय शंकरले बलिङ गरेका थिए। उनले आफ्नो पहिलो बलमै इमाम उल हकलाई एलबिडल्बु आउट गरे। १३ रनमा पहिलो विकेट गुमाएको पाकिस्तानको लागि फकर जमन र बाबर अजामले दोस्रो विकेटका लागि १०४ रनको साझेदारी गरे।

कुलदीप यादवले यी दुईको शतकीय साझेदारी तोड्दै भारतलाई सफलता दिलाएका थिए। कुलदीपले २४औं ओभरमा बाबर अजाम र २६औं ओभरमा फकर जमनलाई आउट गरे। फकर जमनले ७५ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६२ रन बनाए। अर्धशतक बनाउन बाट दुई रनले चुकेका बाबरले ५७ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ४८ रन जोडे।

दुई सेट ब्याट्सम्यान आउट भएपछि पाकिस्तान २५.२ ओभरमा १२६-३ को अवस्थामा पुग्यो। त्यसपछि हार्दिक पाण्ड्याले २७औँ ओभरको पाँचौँ र छैटौँ बलमा मोहम्मद हाफिज (९) र सोएब मल्लिक (०) लाई लगातार आउट गरेपछि पाकिस्तानले १२९ रनमा हुँदा ५ विकेट गुमायो। त्यसपछि कप्तान सर्फराज अहमद र इमाद वासिमले छैटौँ विकेटका लागि ३६ रनको साझेदारी गर्दै इनिङ्स केही उकासे। तर ३५औं ओभरको पहिलो बलमै विजय शंकरले कप्तान सर्फराज (१२) लाई बोल्ड आउट गरे। इमाद वासिम ४६ रनमा नटआउट रहे।

भारतका लागि विजय शंकर, हार्दिक पाण्ड्या र कुलदीप यादवले २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले रोहित शर्माको शतकको मद्दतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनाएको थियो। रोहित र केएल राहुलले पहिलो विकेटका लागि १३६ रनको साझेदारी गरे। यस संस्करणमा पहिलोपटक ओपनिङ गरेका राहुलले ५७ रन बनाए। यस्तै रोहित र कप्तान विराट कोहलीले दोस्रो विकेटका लागि ९८ रनको साझेदारी गरे। रोहितले यस विश्वकपमा दोस्रो शतक बनाउने क्रममा ११३ बल खेल्दै १४ चौका र ३ छक्काको मद्दतमा १४० रन बनाए। कोहलीले ६५ बल खेल्दै ७ चौकाको मद्दतमा ७७ रन जोडे।

कोहलीले पाकिस्तानविरुद्ध ५७ रन जोड्दा ओडिआईमा सबैभन्दा छिटो ११ हजार रन पूरा गर्ने कीर्तिमान समेत बनाए। यसअघि सचिन तेन्दुलकरले २७६ इनिङ्समा हात पारेको उपलब्धि कोहलीले २२२ इनिङ्स खेल्दै पूरा गरेका हुन्।

भारतका लागि हार्दिक पाण्ड्याले १९ बलमा २६ रन जोड्दा विजय शंकरले १५ बल खेल्दै नटआउट १५ रन बनाए।

पाकिस्तानका लागि मोहम्मद आमिरले १० ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell