PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पहिलो पटक विदेशी लिगमा छनोट भएपछि सोमपाल : कन्फिडेन्ट बढ्यो, नयाँ अनुभव हुनेछ



गोविन्दराज नेपाल

पहिलो पटक विदेशी लिगमा छनोट भएपछि सोमपाल : कन्फिडेन्ट बढ्यो, नयाँ अनुभव हुनेछ

काठमाडौं : पहिलो पटक विदेशी टी - २० लिगमा छनोट भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सोमपाल कामीले यति छिटो अवसर पाएकोमा खुशी लागेको बताएका छन्।

'नेपालबाट विदेश खेल्न जाने दोस्रो खेलाडी भन्दा खुशी लाग्छ,' उनले भने।

क्यानडामा हुने ग्लोबल टी २० क्यानडा क्रिकेट लिगका लागि अर्का खेलाडी सन्दीप लामिछानेसँगै छनोट भएका सोमपालले सुरुमै राष्ट्रिय टिमबाट खेल्ने सपनामात्र भए पनि पछिल्लो समय विदेशी लिगमा पनि खेल्ने सपना बढेको र त्यो पूरा हुन लागेको बताए।

'खुशी लाग्छ। पहिला राष्ट्रिय टिमबाट खेल्ने सपना थियो। खेल्दै गएँ। राष्ट्रिय टिमले पनि सफलता पाउँदै गयो,' शुक्रवार सञ्चारकर्मीहरुसँग सोमपालले भने। सपना हो सबैले देख्न सक्छ। तर यति चाँडै नै यो अवसर पाउँला भनेर सोचेको थिइँन।'

'मेरा लागि विदेशमा खेल्न पाउनु नयाँ अनुभव हुनेछ। जसलाई मैले टेलिभिजनमा हेर्दै आएको थिएँ। अब उनीहरुसँग हुन पाउँछु,' सोमपालले भने, 'मैले आफ्नो तर्फबाट गरेको कडा मिहेनेत उता पनि लागू गर्नेछु।'

सोमपाललाई विनिपेग हक्सले ३ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। क्रिस लिन, ड्वाने ब्राभो, जेपी डुमिनी, ड्वाने स्थिम, उमर अकमल जस्ता चर्चित खेलाडी रहेको उक्त टिममा सोमपालसँगै फास्ट बलर नजिबुल्लाह जद्रान, पउल भान मिकेरन जस्ता खेलाडी पनि छन्। टिममा कूल १७ खेलाडी रहँदा ५ खेलाडी एसोसिएटबाट र ५ खेलाडी क्यानडाबाट छनोट भएका छन्।

यी खेलाडीहरु भएको टिममा प्लेइङ एघारमा पर्ने सम्भावनाबारे सोमपालले भने, 'यो अहिल्यै भन्न सकिँदैन। प्रशिक्षक, कप्तान र म्यानेजमेन्टले निर्णय गर्ने कुरा हो।'

ग्लोबल टी २० क्यानडाअघि नेपालको राष्ट्रिय टिमले सिंगापुरमा आइसीसी टी २० वर्ल्डकप क्वालिफायर एसिया खेल्दैछ। त्यसले गर्दा सोमपाल र सन्दीपले सुरुवाती खेल गुमाउनेछन्।

'मैले सम्भवत ३ खेल गुमाउनेछु होला। त्यसपछि उता जान्छु। अनि कस्तो हुन्छ त्यसबाट निर्णय हुन्छ,' उनले भने।

सोमपालले ५ वर्ष राष्ट्रिय टिमबाट खेल्दा आफूमा धेरै परिवर्तन आएको बताए।

'सुरुको दुई वर्ष त्यतिकै खेलेँ। मलाई केही पनि थाहा थिएन। त्यसपछि विदेशी प्रशिक्षक, ट्रेनरहरु आउनुभयो। उहाँहरुले खानपानदेखि कसरी खेल्नेसम्मको कुराहरु सिकाउनुभयो,' उनले भने।

सोमपालले क्रिकेटमा प्रदर्शन र कन्फिडेन्ट मुख्य विषय भएको बताए। 'नेपालमा मैले इपीएल, डीपीएल, पीपीएल खेलेँ। अब बाहिर खेल्दा चाहिँ कन्फिडेन्ट लेभल पनि बढ्छ। जसले प्रदर्शनलाई नै राम्रो बनाउँछ,' उनले भने, 'ममा हिजो र आजको कन्फिडेन्टमा समेत परिवर्तन आइसकेको छ। हिजो ८० प्रतिशत थियो भने आज १०० प्रतिशत कन्फिडेन्ट छु।'

सोमपालले अहिले आफ्नो मुख्य फोकस नेपालले खेल्ने टी २० मा रहेको बताए।

नेपालले सिंगापुरमा जुलाई २२ देखि २८ सम्म ५ राष्ट्र सहभागी क्वालिफायर खेल्दैछ। यसमा विजेता हुने टोली युएईमा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ।

यसैगरी सोमपालले यो स्थानसम्म आइपुग्न सहकर्मी सन्दीप लामिछाने र राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीको पनि ठूलो योगदान रहेको बताए।

यस्तै, ग्लोबल टी २० क्यानडाबारे आफ्नो बुबालाई धेरै जानकारी नभएको र बुबाको लागि आइपीएल नै ठूलो भएको सोमपालले सुनाए। 'बुबालाई योबारे त्यति थाहा छैन। उहाँको लागि आइपीएल नै ठूलो लिग हो भन्ने लागेको छ। आशा छ भविष्यमा आइपीएल पनि खेलेर बुबालाई खुशी राख्छु।'

उता, दोस्रो पटक क्यानडामा टी २० लिग खेल्न छनोट भएका सन्दीप लामिछानेले यसपटक आफ्नो भन्दा पनि सोमपालको छनोटले खुशी लागेको बताए। 'सोमपाल दाइको लागि म धेरै खुशी छु। अर्को खेलाडी पनि विदेशी लिगमा थपियो,' सन्दीपले भने।

'म पनि खुशी छु। यस पटक टोरोन्टो नेशनल्सको लागि छनोट भएको छु,' उनले भने। 

क्यानडा र आइसीसी अमेरिकाज बाहेक छनोट भएका २४ एसोसिएट खेलाडीमध्ये सन्दीप सबैभन्द अगाडि छनोट हुने एसोसिएट खेलाडी बनेका थिए। उनले जहिले पिक भए पनि फरक नपर्ने बताए। 'जता आए पनि पिक नै हो। पहिले नाम आउनु भनेको राम्रो कुरा हो। त्यो वातावरण मैले बनाएको रहेछु होला सायद। उता पनि सबैको पहिलो रोजाईँमा होस्,' सन्दीपले भने।

उनले विदेशी लिगमा खेल्दा दबाब नराखी खेल्ने बताए। उनले प्रेसर फिल गर्न नहुने र प्रदर्शनमा जति इन्जोए गर्‍यो त्यति नै राम्रो हुने बताए।

'यस्तै सन्दीपले राष्ट्रिय टिमबाहेक जता खेल्दा पनि अवसर हुने बताए। राष्ट्रिय टिमबाहेक जताबाट खेलेपनि सबै अवसर हो। जुन टिममा खेलेपनि उस्तै हो,' उनले भने।

सन्दीप र सोमपाल सिंगापुरमा क्वालिफायर खेलेर उतैबाट क्यानडा प्रस्थान गर्ने राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell