PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालीको पनि सलाम, असीम सम्झना र अगाध माया!



पहिलोपोस्ट

नेपालीको पनि सलाम, असीम सम्झना र अगाध माया!

  • केदार वाशिष्ठ –

योग दिवसको अवसर पारेरप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार विहान ९ बजेर ३ मिनेटमा ट्विट गर्दै शुभकामना दिए - "विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमा स्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना।"

त्यसको केही समयपछि दिउँसो २ बजेर ६ मिनेटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा नै जवाफ लेखे– "योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु।"

दुई प्रधानमन्त्री बिचको शुभकामना र धन्यवादमा समानता दुई कुराको छ। एक त योगको र अर्को नेपाली भाषाको। संस्कृतको योग शब्द पश्चिममा पुगेर योगाको रूपमा नेपाल र भारतमा धेरै प्रचलनमा रहेको बेला दुवै प्रधानमन्त्रीले योगलाई नै मान्यता दिएको पाइयो। अर्को कुरा भारतका प्रधानमन्त्रीले नेपालीमा नै नेपालका प्रधानमन्त्रीलाई धन्यवाद दिनु हो। यसले नेपाली भाषालाई उच्च महत्व दिएको देखाउँछ। यो प्रसङ्ग अहिलेलाई यति नै।

दुई दिन अघिको कुरा हो,नेपाल विद्या सम्बन्धी अनुसन्धानलाई पूर्णता दिन एकाबिहानै उठेर काम गर्दै थिएँ; इन्टरनेटको खोजीबाट पाइएका दुई वटा सामग्रीले मलाई एकछिनका लागि त्यो काम थन्क्याएर यो आलेख तयार पार्न बाध्य बनायो। तर मेरो आँखामा नपरेको एक वर्षअघिको एउटा सामग्री इन्टरनेटले देखाइदियो भने अर्को एउटा फेसबुकको भिडियोमा आएको ताजा समाचार। दुवै सामग्री नेपाली भाषा र साहित्यसँग सम्बन्धित थिए अनि दुवै दार्जिलिङका व्यक्तिसँग सम्बन्धित।

गोर्खाको जय !

पहिले ताजा समाचारबाटै सुरु गरौँ। भारतमा हालै लोकसभाको निर्वाचन सम्पन्न भएको छ। त्यहाँ भारतीय जनता पार्टी (भाजपा) ले लोकसभामा कब्जा जमाएको छ। भारतको पूर्वोतर क्षेत्रको दार्जिलिङ क्षेत्रबाट कालेबुङका भाजपा उम्मेदवार राजु विष्ट लोकसभा सदस्यमा विजयी भएका छन्। विजयी भएसँगै लोकसभा सदस्य पदको सपथ ग्रहण उनले नेपाली भाषामा गरेका छन्।

भारतमा नेपाली भाषाले संविधानको आठौं अनुसूचीमा त्यहाँका अरु २१ वटा भाषासँग समान हैसियत जमाएको छ।

नेपाली भाषामा तयार पारिएको सपथ पत्र वाचन गरेर अन्त्यमा सांसद् विष्टले तिन कुराको जयकार गरेका छन्, ‘जय हिन्द ! जय गोर्खा ! जय श्रीराम!’

नेपाली भाषामा उनले गरेको सपथ ग्रहण दार्जिलिङ क्षेत्र र अन्य क्षेत्रका पनि नेपाली भाषीको लामो समयको आन्दोलनको नतिजा थियो। उनीहरुले त्यो संवैधानिक अधिकार पाउनका लागि ठुलो आन्दोलन नै गरे र त्यसमा बङ्गाल, सिक्कम, हिमाचल प्रदेश र त्रिपुराका राज्य विधानसभाहरुले पनि वैधानिक आन्दोलन गरेर केन्द्र सरकारलाई दवाव दिएका थिए। हेर्नुहोस् महेन्द्र पी. लामाको लेखः भाषा, संविधान र भारत

विधायिकामा हुने सपथ देश र जनताप्रतिको राजनीतिक प्रतिवद्धताको दस्ताबेजीकरण हो। देश र जनतासँग सरोकारका यावत् विषय यसैमा समेटिएका हुन्छन्। विष्टको सपथ भारतमा संवैधानिक मान्यता पाइसकेको नेपाली भाषामा गरिएको त्यही प्रतिवद्धता हो। जुन भाषामा गरेको भए पनि त्यो सपथ त्यस्तै प्रतिवद्धता नै हुने थियो।

सपथ ग्रहण गर्दा उनले गरेका तिन जयकारका पनि बेग्ला बेग्लै राजनीतिक, सैद्धान्तिक वा धार्मिक आस्थागत आधार होलान् ती सबैको विवेचना गर्नु यहाँ जरुरी छैन। तर उनले गरेको दोस्रो जयकार ‘जय गोर्खा!’ का सम्बन्धमा यहाँ केही उल्लेख गरिएको छ।

दार्जिलिङ र त्यसका आसपासका नेपालीभाषी क्षेत्रका बासिन्दा अहिले पनि आन्दोलनमा छन्। उनीहरुको आन्दोलन छुट्टै राज्यको स्थापनाका लागि छ। अहिले उक्त क्षेत्र पश्चिम बङ्गाल राज्य अन्तर्गत छ। उनीहरुको माग गोर्खाल्यान्ड राज्य बनाइनु पर्ने छ। त्यसैमा लामो समयदेखि आन्दोलन जारी छ।

लोकसभा सदस्यमा विजयी भएपछि पहिलो पटक कालेबुङ पुग्दा त्यहाँ आयोजित एउटा बैठकमा दायाँ हातले मुटुलाई छाम्दै भनेका थिए – मैले धेरै कुरा बोल्न मिल्दैन, तर मेरो दिलको फोटो खिच्नुस्।

यो भनाइ उनले सपथ ग्रहण नगर्दाको नै हो, अर्थात् चुनाव जित्ने बित्तिकै उनी एउटा बन्धनमा बाँधिइ सकेका थिए, सपथ ग्रहण गरेपछि अर्को बन्धनमा बाँधिएका छन्। तर पनि उनले ‘हिन्द’ र ‘श्रीराम’को बिचमा गोर्खाको जयजयाकार गरे।

यसलाई उनले गोर्खालाई मूलधारमा ल्याए वा ‘हिन्द’ र ‘श्रीराम’को आडमा ‘गोर्खा’लाई राखे भनेर व्याख्या विश्लेषण गर्न सकिएला त्यतातिर पनि जाने अभिप्राय यहाँ होइन। बरु त्यो गोर्खासँग जोडिएका केही ऐतिहासिक पक्षहरुको खोजी गर्नु अहिलेको मूल ध्येय हो।

संस्कृते, गोर्खे र नेपाली भाषा

यो उपशीर्षक यहाँ नयाँ दिइएको होइन, दार्जिलिङका लेखक अमर निराकार राईले दार्जिलिङकै लेखक पिटर जे. कार्थकलाई दिएको जवाफको शीर्षक हो। दुवैले माध्यम भने नेपालबाट प्रकाशन हुने पत्रिकालाई बनाएका छन्।

कुराकानीमा आधारित भनिएको ‘आईबीः दार्जिलिङका मदनमणि’ शीर्षकको कार्थकको लेख २०७४ फागुन २६ गते कान्तिपुर दैनिकको कोसेलीमा छापिएको थियो, जसमा नेपालका उपन्यासकार मदनमणि दीक्षितको ‘माधवी’ उपन्यास र दार्जिलिङका उपन्यासकार इन्द्रबहादुर राई (आईबी राई) को ‘आज रमिता छ’ उपन्यास बुझ्न कठिन रहेकाले दुवै ‘संस्कृते लेखाइ’ र लेखाइ नमिलेको भनी कार्थकले उल्लेख गरेका छन्।

कार्थकले आईबी राईको ‘आज रमिता छ’ लाई पहिले नेपालीमा अनुवाद गर्नु पर्ने बताउँदै त्यसका लागि ‘माधवी’को पुनर्लेखन हुँदै गरेको प्रसङ्ग पेस गरेका छन्। उनले ‘आज रमिता छ’को भाषा र कथा दुवै दार्जिलिङका होइनन् भनेर दार्जिलिङको स्वामित्व अस्वीकार गरेका छन्। कार्थक पनि दार्जिलिङकै हुन्।

कार्थकले आईबी राईलाई आफू दार्जिलिङमा पढेको टर्नबुल स्कुलका गुरु भनेर चिनाउँदै आफू सरोकारवाला वा स्वामित्वको सम्बन्धको स्थापना पनि गरेका छन्। सँगसँगै कार्थकले ‘गोर्खे खबर कागत्’ (कागज् भनेर छापिएको छ कागज् होइन कागत् हो) का सम्पादक तथा देवनागरी लिपिमा नेपाली भाषामा पहिलो पुस्तक (सेराम्पुरको बाइबल) छपाउने पादरी गङ्गा प्रसाद प्रधानले नेपाली भाषामा ल्याएको बहस ‘काशीभाषे बोली’ उल्लेख गर्दै नेपालीमा संस्कृत हावी हुन नहुने पक्षमा वकालत गरेका छन्।

यसै प्रसङ्गमा के कुरा उल्लेख गर्नु सान्दर्भिक हुन्छ भने देवनागरी लिपिमा नै नेपाली भाषाका शब्दहरु छापिएको चाहिँ सन् १७५९ मा नै इटालीको रोमबाट हो। अल्फाबेटम तिबेतानम भन्ने पुस्तकमा नेपाली शब्द र स्वरवर्णको वर्णमाला छापिएका छन्। नेपालमा मल्लकालमा रहेको त्यो समयमा नेपालमा बोलिने दुई भाषाहरु (नेवारी र नेपाली) बारे यतिको अध्ययन हुनु अत्यन्त राम्रो पक्ष हो। तर त्यस परम्पराले निरन्तरता पाउन सकेन। यसको कारण पछि उल्लेख गर्नेछु।

कार्थकको लेखबारे नेपालमा के प्रतिक्रिया आयो वा आएन थाहा भएन। तर त्यसले दार्जिलिङमा भने राम्रै बहस सर्जिना गरि दिएछ। त्यसैको फलस्वरूप एक सातापछि २०७५ वैशाख १ गतेको कान्तिपुर दैनिकको कोसेलीमा दार्जिलिङका अमर निराकर राईले प्रतिक्रिया लेखे र शीर्षक दिएः संस्कृते, गोर्खे र नेपाली भाषा।

अमरले पिटरका हरेक कुराको जवाफ दरो गरी दिएका छन्। नेपाली भाषाको माउ संस्कृत रहेको, यसलाई गोरखाली वा गोर्खे भन्न नहुने र नेपाली भाषा नै भनेर मान्नु पर्ने उनको तर्क छ। उनले इन्द्रबहादुर दार्जिलिङका र मदनमणि नेपालका साहित्यकार भनेर विभाजन गर्न नहुने बरु दुवै नेपाली भाषाका साहित्यकार भनेर चिनिने स्पष्ट पारेका छन्।

यस्तो प्रतिक्रिया जनाउने अमरले आज रमिता छ मा दार्जिलिङको स्वामित्व पनि दार्जिलिङको मात्र नभएर नेपालीभाषी सबैको हुने बताएका छन्।

नेपाली भाषा र साहित्य तथा साहित्यकारबारे यतिका वैचारिक बहस दार्जिलिङबाट भएपछि खासमा गोर्खेमा रमाउने र विवाद गर्ने दार्जिलिङको अवस्था के हो त भनी छोटकरीमा उल्लेख गर्नु सान्दर्भिक हुन्छ।

दार्जिलिङ भकुन्डो

बेलायती उपनिवेश विस्तारको क्रममा भारतमा इस्ट इन्डिया कम्पनीका नामबाट आधिपत्यमा पर्यो। नेपाल पनि त्यसको असरबाट अछुतो रहेन, सन् १८१४–१८१५ मा बेलायतसँग लडाईँ नै गर्नुपर्यो। लडाइँको अन्त्य नेपाल र इस्ट इन्डिया कम्पनी बिच २ डिसेम्बर १८१५ मा सुगौलीमा हस्ताक्षर भएको र ४ मार्च १८१६ मा पुष्टि भएको सन्धिबाट भयो, जसलाई सुगौली सन्धि भनेर चिन्ने र चिनाउने प्रचलन छ।

यो सन्धिले नेपालले युद्धमा नगुमाएको नेपालको मेची र महाकाली दुवैपारिका र तराई क्षेत्रको गरी एक तिहाइ भूभाग इस्ट इन्डिया कम्पनीलाई लिखत गरेर दियो। त्यसरी नेपालबाट गुमेको भूभागमा मेचीपारिका दार्जिलिङ लगायतको पनि छ। अङ्ग्रेजले त्यति मात्र गरेका थिएनन् सिक्किमसँग अर्को सन्धि गरेर दार्जिलिङलाई सिक्किममा मिसाइ दिएका थिए। तेउलिया उपजिल्ला (हाल बङ्गलादेशको रंगपुर जिल्ला) मा सन् १८१७ मा सिक्किमका राजा र इस्ट इन्डिया कम्पनी बिच भएको सन्धिलाई तितालिया सन्धि भनेर चिन्ने गरिएको छ। तिब्बतका लागि रणनीतिको मार्ग रहेको सिक्किमबाट बेलायतलाई तिब्बतमा व्यापार गर्न यस सन्धिले बाटो दिएको थियो।

त्यही सन्धिकै आडमा सन् १८९४ मा राजपत्रमा सूचना जारी गरेर ब्रिटिस इन्डियाले सिक्किममाथि आधिपत्य जमायो। सन् १९७५ मा त सिक्किम स्वतन्त्र भारतको २२ औं राज्यका रूपमा विलय भयो। यहाँ के स्मरण गर्नु सान्दर्भिक हुन्छ भने भारतमा पनि व्यापार गर्न भनेरै सन् १६१२ मा इस्ट इन्डिया कम्पनीका रूपमा बेलायती प्रवेश भएको थियो, जुन सन् १९४८ सम्म त्यहाँ उपनिवेश जमाएर बसेको थियो।

सन् १८६४–१८६५ मा भुटानसँग पनि बेलायती लडाइँ भएको थियो र सन् १८६५ मा भुटानका असम डुअर्स र बङ्गाल डुअर्सलगायतमा क्षेत्र इस्ट इन्डिया कम्पनीमा मिलाइयो। अहिले ती क्षेत्र वर्तमान दार्जिलिङमा पर्दछन् यो सन् १८६६ मा भएको थियो। त्यसअघि नै सन् १८३५ मा नै दार्जिलिङमा बेलायती प्रभुत्व कायम भइसकेको थियो।

नेपाली कि गोर्खाली ?

राजनीतिक सीमानामा जताजता परे पनि दार्जिलिङका बासिन्दा भने मूल रूपमा नेपाली मूलका नै छन्। उनीहरुको भाषा पनि नेपाली नै रह्यो। नेपाली भाषा र साहित्यको विकास र विस्तारमा उनीहरुको योगदान ज्यादै महत्त्वको छ। तर उनीहरुको राजनीतिक आन्दोलन नेपालीका लागि होइन गोर्खाका लागि हुने गरेको छ, गोर्खाल्यान्डका लागि हुने गरेको छ। यसै कुरामा उनीहरुका बिचमा राजनीतिक विभाजन पनि हुने गरेको छ। प्रश्न उठ्छ के हो त नेपाली र गोर्खाको कुरा ?

आम समुदायमा त्यसको उत्तर यस्तो पाइने गरेको छः ‘दार्जिलिङमा बसोबास गर्ने नेपालीहरूले हामी नेपालको नागरिक होइनौ भन्ने प्रष्ट पार्न गोर्खा शब्दलाई प्रयोगमा ल्याए। गोर्खा शब्द दार्जिलिङमा बसोबास गर्ने सबै तीन समूहः नेपाली, लेप्चा र भुटियाहरूको लागि हो।’

‘गोर्खा‘ वा ‘गोरखा’ शब्द नेपालको एउटा भूक्षेत्रसँग सम्बन्धित छ, जसको आप्mनै राजनीति र इतिहास रहेको छ। नेपालको एकीकरण अभियान थाल्ने र सार्थक रूपसमेत दिने पृथ्वीनारायण शाहको राज्य तत्कालीन चौबिसे राज्य अन्तर्गत थियो। उनले काठमाडौं उपत्यकाका तिन वटा नगर राज्यहरु (कान्तिपुर, भक्तपुर र पाटन) लगायत आसपासका राज्यहरु पनि जितेर काठमाडौंलाई राजधानी बनाई राज्य सञ्चालन गरे। उनले काठमाडौंलाई विसं १८२५ मा जितेका थिए। नेपालको एकीकरणमा उनका उत्तराधिकारीको योगदान छ। त्यस्तै योगदान नेपालको भूभाग बचाउन नसक्ने अपजस पनि छ।

पृथ्वीनारायणको त्यो अभियान पहिलो र अन्तिम थिएन, त्यसअघि धेरै पटक उनले पराजय भोगेका थिए मल्ल राजाहरुसँग। गोरखाबाट आक्रमण हुने सुइँको पाएका काठमाडौंका राजा जयप्रकाश मल्लले इस्ट इन्डिया कम्पनीसँग सहयोग मागेका थिए।

बेलायती सैन्य सहयोग क्याप्टेन किनलकको नेतृत्वमा पठाइयो पनि तर उक्त सहयोगी सैन्य टोली काठमाडौं आइ नपुग्दै विसं १८२४ मा सिन्धुली गढीमा गोरखाली सेनाले त्यसलाई परास्त गरि दिएको थियो। यस घटनाबाट गोर्खालीप्रति इस्ट इन्डिया कम्पनी वा ब्रिटिस इन्डिया र समग्रमा बेलायतमा नै घृणा र सम्मानको भावना विकास भएको थियो। आफूलाई हराउने शत्रुलाई घृणा गर्नु स्वाभाविक हो, तर बेलायती सेनाले वीरताको सम्मान पनि गर्ने गरेको थियो। नेपाली सेनाको सम्मानमा उनीहरुले निर्माण गरिदिएको हाल देहरादुनमा रहेको स्मारक यसको प्रमाण हो।

परम्परागत हतियार र कम सङ्ख्याको गोर्खाली सेनाको युद्धकौशलबाट पराजित बेलायती राजनीतिक नेतृत्वले त्यसैको नतिजा स्वरूप उसको आप्mनो सेनामा गोर्खालीलाई भर्ती गर्ने भावनाको वीजारोपण गरेको हो। पछि सन् १८१४–१८१५ मा बेलायतसँग भएको नालापानीको लडाइँपछिको सन् १८१५ (हस्ताक्षर भएको मिति) को सुगौलीले त्यो बेलायती सपनालाई सार्थक बनाइ दिएयो। सन् १८१५ मा नै करिब पाँच हजार गोर्खा बेलायती सेनामा भर्ती भएका थिए। त्यसपछिका युद्धहरु र विश्वयुद्धमा ब्रिटिस गोर्खामा रहेका गोर्खाली सेनाको प्रशंसा विश्वव्यापी रूपमा भयो।

बेलायती र स्वतन्त्र भएपछिको भारतीय सेनामा दुवैमा उनीहरु रहे। स्वाभाविक रूपमा तत्कालीन बेलायती सेनामा रहेका गोर्खा सेनालाई नै त्यसरी विभाजन गरिएको थियो र त्यसका लागि नेपाल, बेलायत र भारतबीच सन् १९४७ मा त्रिपक्षीय सम्झौता भएको थियो। त्यसले बेलायत र भारतमा गोर्खा सैनिक भर्तीका लागि आधार तयार पार्दछ।

स्वतन्त्र भारतका प्रधान सेनापति सैम मानेक्साले गोर्खा सैनिकको प्रशंसा गर्दै ‘मार्सल रेस’को संज्ञा दिएका थिए र भनेका थिएः ‘जुन व्यक्तिले मलाई मर्न डर छैन भन्छ कि त ऊ झुटो बोल्दैछ कि त ऊ गोर्खा हो।’ अहिले बेलायती र भारतीय सैनिकमा ठुलो सङ्ख्यामा नेपाली छन् र नयाँ भर्ना पनि हुने गरेको छ।

हालै मात्र युरोपको भ्रमणमा जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसमक्ष नेपाल, बेलायत र भारत बिच भएको त्रिपक्षीय समम्झौता पुनरावलोकनका लागि राखेको प्रस्ताव मानिएको छैन। नेपाल एकीकरण भएर व्यापक राजनीतिक परिवर्तनहरु भइ सक्दा पनि यो सम्झौता अझै गोर्खा सम्झौता रहेको छ, नेपाली हुन सकेको छैन।

गोरखा कि गुर्खा ?

बेलायती सेनामा नेपाली (गोर्खा) सैनिक रहि सकेपछि उनीहरुका लागि बन्दोबस्तीका सामान आवश्यक हुन्थ्यो र त्यसको पहिलो आवश्यकता उनीहरु सबैका लागि सम्पर्क भाषाको पर्दथ्यो। त्यसैले बेलायतीहरुले त्यो आवश्यकता पूर्तिका लागि नेपालको भाषिक अध्ययन गर्न थाले। त्यसका लागि स्वाभाविक अध्येता इस्ट इन्डिया कम्पनीमा नै कार्यरत भाषाका अनुसन्धानकर्ता वा सेनाका मानिस नै रहन थाले।

भाषिक अनुसनधानकर्ताले नेपाली भाषा वा पर्वतीय वा खस भाषा भनेर अध्ययनलाई प्राथमिकता दिए भने सैन्य प्रयोजनका लागि गरिएका अध्ययनमा गोर्खा भाषा भनेर नै नामकरण गरिदिए। त्यसको पराकाष्ठा चाहिँ गोर्खा भाषाका लागि भनेर वर्णमालाको रोमनीकरण नै बेग्लै गरियो, जसलाई एन्ड्रयु डेल्बीले डिक्स्नरी अफ ल्याङ्वेजेज, (सन् १९९८) पेज ४४४ मा उल्लेख गरेका छन्। उनले नेपालीको देवनागरीका वर्णहरु र गोर्खालीका भनेर रोमनीकरण गरिएका वर्ण देखाएका छन्।

तथापि सैन्य सम्झौता भएको पाँच वर्षमै सन् १८२० मा तयार जे. ए. एटनले तयार पारेको ‘अ ग्रामर अफ नेपाली ल्याङवेज’मा नेपाली नै नाम दिइएको थियो। त्यसपछिका अध्ययनमा ‘गोर्खा भाषा’ वा ‘गोरखाली भाषा’ भनेर र ‘गोर्खा’ शब्दलाई ‘गुर्खा’ भाषासमेत भन्न थालियो। अहिले पनि शब्दकोशहरुमा र अन्य लेखनमा ‘गोर्खा’लाई ‘गुर्खा’ नै भनेर रोमनमा लेख्ने प्रचलन छ। नेपालले पनि त्यही सिको गर्दै गोरखा भाषाका नाममा काम गर्यो।

नेपाली विद्वानरुले नेपाली भाषाको अध्ययन परम्परा नै बेलायतीले धानिदिएको दलिल पेस गर्ने गरेका छन्। खासमा त्यो हुँदै होइन, यो त एउटा सुनौलो अध्यायलाई ढाकछोप गरेर आफ्नो स्वार्थ सिद्ध गर्ने र आफू मात्र प्रचारमा आइ रहने उपाय रचिएको मात्र हो।

माथि नै उल्लेख गरिएको सन् १७५९ देखिकै नेपाली भाषाको समृद्ध अध्यययन परम्परालाई बेलायतीहरुले हेर्न पनि चाहेनन्। किनकि त्यो ल्याटिन मूललाई र क्रिस्चियन धर्म प्रचारलाई आधार बनाएर गरिएको थियो। बेलायती उद्देश्य फरक थियो। पृथ्वी नारायणले नेपालमा रहेका केपुचिन पादरीहरुलाई देश निकाला गरेपछि ल्याटिन परम्पराको अध्ययन टुट्यो र भएका अध्ययनको खोजी पनि खासै भएन।

सन् १७७१ मा नेपाली भाषाको पहिलो व्याकरण मान्न सकिने वर्णमाला अल्फाबेटम ब्रह्मानिकम छापिइ सकेको थियो। तर अहिले पनि एटनको व्याकरण नेपाली भाषाको पहिलो व्याकरण हो भन्नेहरु धेरै रहेका छन्।

ल्याटिन परम्पराका यी दुई महत्त्वपूर्ण र अन्य धेरै सामग्रीमा नेपाली भाषालाई कसैले पनि गोरखा भाषा भनेका छैनन्, कि त नेपाली कि नेवारीको अध्ययन गरेका छन्। नेपालीलाई नेपालेन्सिस (नेपाली) वा पर्वत्तानियम (पर्वते) भनेर चिनाएका छन्। तत्कालीन समयमा नेपालमा यी भाषा सरोबरी चलेको प्रमाण पुरातात्विक अभिलेखहरुमा पाइन्थ्यो नै ल्याटिन परम्परामा पनि त्यो रहेको पाइनु नेपाल र नेपालीका लागि गौरवको विषय हो। त्यही परम्परामा नेपालको अर्को महत्त्वपूर्ण भाषा मैथिलीबारे पनि चर्चा पाइन्छ।

इस्ट इन्डिया कम्पनीको स्वार्थ त्यस्ता अध्ययनले पुरा गर्न सक्दैनथ्यो र ल्याटिन र अङ्ग्रेजीको पनि भाषिक भिन्नता गोर्खा सेनालाई सैन्य तालिम र अभ्यास गराउने क्रममा अप्रभावकारी हुन्थ्यो। त्योभन्दा पनि बाह्य विश्वका लागि बन्द रहेको नेपालमा भाषिक र अन्य सम्बद्ध अध्ययनका बहानामा सम्झौता अनुरूप आफूहरु मात्र जान पाइने हुन्थ्यो। सिल्भा लेभी जस्ता अध्येताले ब्रिटिस इन्डिायाकै अनुमतिमा मात्र नेपाल आउन पाएको उल्लेख गरेका छन्।

नेपालले पनि नेपाल अझै विदेशीका लागि खुला नरहने सङ्केत त दिइ सकेको थियो। सुगौली सन्धिअघि नै नेपालले कर्नेल कर्क प्याट्रिकलाई दोस्रो पटक उनी आउन चाहँदा पनि रोकि दिइ सकेको थियो।

यस्ता कुरा विश्लेषणमा चलाख बेलायतीले ‘गुर्खा सेना’ लिएर नेपाली भाषालाई पनि ‘गुर्खा भाषा’ हो भनी समग्र विश्वलाई नै आफू अनुकूलको नेपाली भाषाको परिचय दिलाउन सक्यो। त्यही परम्परामा अभ्यस्त नेपाली विद्वान्हरु पनि त्यही लैलैमा लागेका छन्।

अन्त्यमा,

सन् १९४७ मा भारत स्वतन्त्र भयो। त्यो स्वतन्त्रता सङ्ग्राममा नेपालीको पनि सहभागिता थियो। बेलायतले नेपाललाई गुमेको भूभाग लिन प्रस्ताव गरेको थियो। तर नेपाली शासकहरुले त्यो कुरा सुनेनन्। त्यसका विश्लेषणका बेग्लै पाटा छन्। तथापि बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको भूभाग भने नेपालले प्राप्त गरि सकेको थियो। भारतमा बेलायतीहरु अप्ठेरोमा पर्दा जङ्गबहादुर राणा स्वयम्को नेतृत्वमा सैन्य सहयोग गरेका कारण खुसी भएर त्यो भूभाग गरिएको थियो। त्यसलाई नयाँ मुलुक भन्ने गरिएको छ।

वास्तवमा ‘गोर्खा’का नाममा हुने गरेका भारत वा बेलायतमा हुने आन्दोलन वा सम्मानलाई यस सन्दर्भमा पनि हेर्नु पर्दछ, गोरखाका नाममा होइन। भारतको स्वतन्त्रताको रक्षाका लागि गोर्खा सैनिकले गरेको योगदान होस् वा गोर्खाल्यान्डका लागि भएको आन्दोलन होस् जुन सम्झेर भए पनि सांसद् राजु विष्टले सपथ ग्रहण गर्दा गरेको जयजयाकारलाई त्यसै अर्थमा हेर्नु उपयुक्त हुन्छ।

नेपाली भाषाकै सन्दर्भमा कुरा गर्दा त्यहाँको भाषालाई नेपाली नभनेर ‘सखा भाषा’ भनिनु पर्दछ भन्ने लबिङ् पनि दार्जिलिङमा नै चल्न थालेको छ। यति हुँदाहुँदै पनि नेपाली भाषाका लागि भारत र अन्यत्र पनि भएका अध्ययन,अनुसन्धान र आन्दोलनहरुका लागि अहिलेलाई महेन्द्र पी. लामाले उल्लेख गरेका शब्द नै सापटी लिँदै अपार श्रद्धा गर्न मन लाग्छ। उनले भनेका छन्ः

‘नेपाली भाषाको विजयका निम्ति कुनाकुनामा लड्ने, जीवन बलिदान दिने भाषा संग्रामीहरूलाई हाम्रो सलाम, असीम सम्झना र अगाध माया !’

नेपालीको पनि सलाम, असीम सम्झना र अगाध माया !

(लेखकलाई [email protected] मा इमेलमार्फत् र ट्विटर ह्यान्डल @KedarMr बाट ट्विटरमा भेट्न सक्नुहुन्छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell