PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

डाक्टर कमल लामिछानेको 'अन्तर्दृष्टि' सार्वजनिक



पहिलोपोस्ट

डाक्टर कमल लामिछानेको 'अन्तर्दृष्टि' सार्वजनिक

डाक्टर कमल लामिछानेको पुस्तक 'अन्तर्दृष्टि' सार्वजनिक भएको छ। काठमाडौंस्थित ब्रिटिस काउन्सिलमा शनिबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो। केदारभक्त माथेमा, आख्यानकारद्वय अमर न्यौपाने, मनीषा गौचन र लेखक लामिछानेले पुस्तक विमोचन गरेका हुन्।


१२ वर्षसम्म विद्यालय नपुगेको लामिछानेले आफ्नो संघर्षबाट हासिल गरेको उपलब्धिको चर्चा साहित्यकार गौचनले गरिन्। भनिन्,'बाल्यकालदेखि देशदेखि विदेशसम्म अध्ययन गर्न जाँदाका कठिनाइ, उनका संघर्ष, मिहिनेत एवम् कामप्रतिको समर्पण प्रस्ट भएको छ।'  अपांगता भएका व्यक्तिप्रतिको आम धारणालाई पनि पुस्तकले उजागर गरेको उनले बताइन्।

आख्यानकार न्यौपानेले दृष्टिविहीनहरुले आफ्नो जीवनलाई हेर्ने दृष्टि विशाल रहेको तर्क राखे। दृष्टिविहीहरु जीवनभर ध्यानमा रहने गरेको र लामिछानेले पनि यो पुस्तक त्यही ध्यानसाधनाबाट लेखेको उनको भनाइ छ। उनले भने, ‘दृष्टिविहीनहरुलाई कहिल्यै लोडसेडिङ कहिल्यै हुँदैन, सूर्य कहिल्यै अस्ताउँदैन, अँध्यारो कहिल्यै हुँदैन, यसको उदाहरण डा. कमल लामिछाने हुन्।’


शिक्षाविद् माथेमाले पुस्तकमा गाउँघर, किसान, सहर, विकासलाई सूक्ष्म दृष्टिबाट प्रस्तुत गरेको बताए। साथै दृष्टिविहीन व्यक्ति, उनीहरुलाई समाज एवम् परिवारले हेर्ने दृष्टिकोण आदिलाई सूक्ष्म रुपमा खुलाइएको उनको भनाइ छ।

अपांगता भएका व्यक्तिलाई समाजले हेर्ने हेयपूर्ण दृष्टिले पारेको प्रभावका कारण आफूले पुस्तक लेखेको बताए लेखकले। 'केही व्यक्तिको मात्र भए पनि सोचाइ परिवर्तन गर्न सकियो भने पनि त्यो आफ्नो जीवनकै एउटा सफलता हुनेछ' उनले भने।  

फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ४९८ रुपैयाँ राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell