PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

टेबुल सलामीका भाइरल मेयर पर्शुरामलाई पाँच प्रश्न: मेयर भन्छन्, 'टेबुल मात्रै? बाँसकै टुप्पोमा पुर्‍याए'



पहिलोपोस्ट

टेबुल सलामीका भाइरल मेयर पर्शुरामलाई पाँच प्रश्न: मेयर भन्छन्, 'टेबुल मात्रै? बाँसकै टुप्पोमा पुर्‍याए'

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा जनप्रतिनिधिलाई दिइएको सलामी चर्चामा छ। सामाजिक सञ्जालमा पिर्के र टेबुले सलामी भन्दै चर्चा गरिएको छ। रातो कपडा ढाकिएको पिर्का र टेबुललाई बाँसको लिंगो माथि चढाएर सलामी दिइएका फोटा सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। टेबुलमा उभिएका व्यक्तिलाई कतै क्रेनमा उचालिएको छ। कतै फोहोरको थुप्रोमा त कतै फोहोर बोक्ने गाडीमा राखिएको छ। सामाजिक सञ्जालमा सलामी लिइरहेको तस्विर भाइरल भइरहँदा पहिलोपोस्टका विधुर ढकालले धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाललाई सोधे:

सामाजिक सञ्जालमा तपाईँको तस्विर भाइरल भइरहेको छ त?

अब यस विषयमा मलाई भन्दा पनि फोटो खिच्ने र कार्यक्रम आयोजकलाई सोध्दा राम्रो होला। सामाजिक सञ्जालमा टेबुलमा मात्र होइन कतै बाँसको टुप्पोमा चढाइएको छ। कतै हेलिकोप्टरमा चढाइएको छ। कतै फोहोरकै थुप्रोमा चढाइएको छ नि त। अब यसलाई भाइरल किन बनाइयो त्यो त मलाई भन्दा उनीहरुलाई नै सोध्दा उचित होला नि।

कार्यक्रम चाँहि के थियो त्यस्तो सलामी खानुपर्ने?

कार्यक्रम राष्ट्रपति रनिङ शिल्ड थियो। त्यस्तो कार्यक्रम विद्यालयले चलायो भने पनि प्रमुख अतिथि नभए विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, अध्यक्ष नभए त्यहाँ को छ, प्रधानाध्यापक वा खेल प्रमुखलाई सलामी दिने कार्यक्रम हुन्छ अरे। खेल सम्बन्धी कार्यक्रममा। भएको त्यही हो। अब प्रमुख अतिथिलाई सलामी दिइने कार्यक्रम रहेछ। आयोजक साथीहरुले तयारी गर्नु भएको रहेछ। हामीलाई थाहा पनि भएन। हामीहरु सबै गएका थियौँ। गर्नै पर्छ भन्नुभयो। हामीले त होइन यो नगरौँ भनेका हौँ। होइन गर्नै पर्छ। यो विधि हो भन्नु भयो। अब विधिभन्दा माथि त हामी पनि हुँदैनौँ। विधि प्रयोग गर्नु पर्छ भनेका हुनाले यो चाँहि विधिको प्रयोग गरेको हो। कसैले बाँसको टुप्पोमा राख्या छन्। कसैले हेलिकोप्टरमा राख्या छन्। कसैले फोहोर मैलाका ट्याक्टरमाथि राख्या छन्, होइन्? यस्तो चिजमा तपाईँहरुले सही ढंगले समाचार सम्प्रेषण गरिदिनुपर्‍यो। पोजेटिभ ढंगले लेख्नुपर्‍यो। कि राज्यमा यस्ता किसिमका सबै क्रियाकलापलाई निरुत्साही गर्नुपर्‍यो। होइन भने चलिरहेको कुरा कानुनसम्मत कुरालाई व्यक्तिको मानमर्दन गर्ने गरी आउनुहुँदैन। यहाँ राम्रो काम गरेको कसैले देख्दैन। सानो कमजोरी खोज्ने गरिन्छ। त्यति भएको हो।

राम्रो कामको कुरा गर्नुभयो। करिब दुई वर्षमा तपाईँले आफैले भन्न लायक यो राम्रो काम गरेँ भन्ने वा देखिने काम के भएका छन्?

सबै कामहरु रफ्तारमा गएका छन्। भौतिक पूर्वाधार, बिजुली, सडक, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा राम्रो काम भएका छन्। सबै दखिने गरी भएको छ। हाम्रा बाटाघाटा देखिन्छन्। हिजो विकास निर्माणका कामहरु पूर्वाञ्चलको सदरमुकाम धनकुटामा केन्द्रित भएका थिए। गाउँतिर विकास पुगेको थिएन। हामी आएपछि केन्द्र र प्रदेशसँग समन्वय गरेर सबै वडाहरुमा ट्र्याक खोलिसकेका छौँ। लगभग ५०० किलोमिटर ट्र्याक खोलिसकेका छौँ।

पाँच सय किलोमिटर नै?

अँ, हो। खोलिसक्यौं। यसबीचमा ८० किलोमिटर बाटो ग्राभेल गरिसकेका छौँ। ६५ किलोमिटर बाटो पिच हुँदै छन्। केन्द्र सरकार प्रदेश सरकारको समन्वयमा पिच हुँदै छन्। त्यसमध्ये ३२ किलोमिटर बाटो पिच गर्न टेन्डर भइसकेको छ। बाँकी ३३ किलोमिटरबाट पिच गर्न एडिबीसँग सम्झौता भइसकेको छ। टेन्डर हुन बाँकी छ।

स्थानीय तहमा जन प्रतिनिधि आइसकेपछि भ्रष्टाचार बढ्यो जनप्रतिनिधिहरु राजा बन्न थाले भन्ने आरोप लाग्दै आएको छ नि?

अब त्यो चाँहि तथ्य र तथ्यांकमा बोल्नुपर्‍यो नि। हाम्रोमा अहिलेसम्म त्यस्तो देखिएको छैन। अन्त कहाँ के भएको छ, मलाई थाहा हुने कुरो भएन। समग्रतामा राखेर विश्लेषण गर्न मिल्दैन। धेरै कुरा हल्लाकै पछि दुगर्ने गरेको पाइन्छ। एकतिर भ्रष्टाचार भयो भने त्यतातिरको हेरेर अर्का तिर पनि भयो भन्ने चलन छ। यस्तो प्रवृत्तिले हामीले प्राप्त गरेको लोकतन्त्र माथि पनि प्रश्न उठ्छ। सबै हल्लाका पछाडि दगुर्छन्। हाम्रोमा त्यस्तो छैन।

केन्द्रसँगको समन्वय र कर्मचारीको अवस्था के छ?

यो कुरा अरु स्थानीय तहमा जस्तै हाम्रोमा पनि भएको समस्या हो। अहिलेसम्म केन्द्रले प्रमुख प्रशासकीय अधिकृत र एकजना शिक्षाका उपसचिव आइपुग्नु भएको छ। बाँकी हिजोका गाविसका कर्मचारीहरुले काम चलाइरहेका छौँ। उहाँहरुलाई पनि यही असार मसान्तसम्मका लागि भनेर रोकेर राखेका हौँ। अब त्यसपछि के हुन्छ थाहा छैन।

यसैबीच नगर प्रमुख नेपालले टेबुलमा चढेर सलामी खाएको बिषयबारे सोमबार सामाजिक सञ्जालमार्फत् आफूले नजानेर गल्ती गरेको र यो घट्नाबाट आफूले पाठ सिकेको बताएका छन्। उनले आफ्नो स्पष्टिकरणमा लेखेका छन्, 'यो घटनाबाट मलाइ हामी जनप्रतिनिधिलाइ सामान्य कमजोरी पनि गर्ने छुट छैन भन्ने सिकाइ मिलेको छ । स्थानीय जनतासँग हामी प्रत्यक्ष जोडिएका छौँ । यहाँका जनताले हामी जनप्रतिनिधिलाई छिमेकी दाजु, भाइ, छोरा, छोरीको रुपमा हेर्नुहुन्छ। उहाँहरुका हरेक सुख दु:ख उकाली ओरालीहरुमा हामी सँगै हुन्छौँ। हरेक मानिसका कतिपय स्वभाव हुँदा रहेछन्। कुनै कुनै परिस्थितिमा आफूलाइ कुनै काम गर्न मन नलागे पनि स्थानीय जनताको भावनामा चोट पर्दैन र गम्भीर असर पर्दैन भने म उहाँहरुको कुरालाइ शिरोपर गर्छु।' त्यस्तै नगरपालिकाको कार्यालयल पनि विज्ञप्ति जारी गर्दै मेयर नेपालको फोटो भाइरल भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell