PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हुम्लादेखि संसदसम्म रंगमतीको यात्रा : छाउदेखि संसद भवनसम्मको कथा



पहिलोपोस्ट

हुम्लादेखि संसदसम्म रंगमतीको यात्रा : छाउदेखि संसद भवनसम्मको कथा

  • कुञ्जरमणि भट्टराई-

काठमाडौं : भेटघाटको लागि समय तोकेर बोलाउँदा उनी समयमा आइपुग्नेमा त्यति आश थिएन। तोकेको समयभन्दा ढिला पुगेर ‘नेपाली समय’ भन्ने त हाम्रो चलनै छ। तर उनी समयमै आइपुगिन्। स्कुटीमा सरर हुइँकिँदै आएकी उनले दुईपाङ्ग्रेको यात्रा थालेको गएको फागुनबाट मात्रै हो।

स्कुटर नै किन त? उनको स्कुटी यात्रा गर्नुको कथा अरु सामान्य स्कुटी चालकको भन्दा फरक छ। उनी टेम्पोमा यात्रा गर्थिन् पहिले। त्यहाँ झुन्डिएर यात्रा गर्नेहरुले नेता र सांसदलाई गाली गरेको सुन्दा उनलाई नरमाइलो लाग्थ्यो। नलागोस् पनि किन? उनी आफू नै सांसद हुन्।

यिनी हुन्, रंगमती शाही। हुम्लाबाट नेपाली कांग्रेसको कोटामा समानुपातिक सांसद।

‘मैले स्कुटी चलाउन सिकेको पनि थिइनँ। गत फागुनमा ट्रेनिङ सेन्टरमा गएर सिकेँ,' स्कुटर पार्क गरिसकेपछि उनले सुनाइन्।

संसदमा आउजाउ गर्नका लागि अहिले सजिलो भएको छ। सांसदको लोगो छातीमा भिरेर टेम्पो यात्रा सहज हुने कुरा पनि होइन। सांसद भन्ने चिनेपछि त झन् सँगै यात्रा गर्नेहरुको कटाक्ष सुरु भइहाल्ने। त्यसैले उनलाई वाध्य बनायो - आफ्नै सवारी चढ्ने।

सात दिन पनि लागेन उनलाई स्कुटर सिक्न। बनस्थलीमा बस्ने उनले त्यही नजिकैको ड्राइभिङ सेन्टरबाट स्कुटर सिकेकी हुन्। इच्छाशक्तिले डोहोर्‍याएपछि असम्भव छैन भन्ने बुझेकी छिन् उनले। तर, सांसद भएर काठमाडौंका सडकमा स्कुटरमा हुइँकिनु अघि उनले गरेको संघर्ष भने रोचक छ।

मोटरबाटोले नछोएको हुम्लादेखि संसद भवनसम्म

कर्णाली प्रदेशको पनि विकट जिल्ला हो हुम्ला। मुलुकको बाँकी सडकसँग जोडिन ट्र्याक समेत पूरा नखोलिएको हुम्लाबाट उनले संसदसम्मको यात्रा गरेकी छिन्।

दुर्गमकै दुर्गमबाट संसद भवनसम्मको यात्रा भने काठमाडौंमा स्कुटर हाँकेजस्तो छैन उनको। रंगमतीको कल्पनामा पनि थिएन, यहाँसम्म आइपुग्ने। तर, जीवनका उतार चढावले उनलाई संसद भवनसम्म पुर्‍यायो।

छाउ बस्ने संस्कारबाट हुर्केकी उनी यतिखेर भने त्यसको प्रतिरोध गरिरहेकी सुनिन्छिन्। उनी जहाँ हुर्किन् त्यहाँका महिलाहरु अझै पनि छाउ गोठमै छन्। यस्तो यथार्थसँग साक्षात्कार हुँदाहुँदै पनि उनलाई केही गर्न नसकेकोमा पछुतो लाग्छ। उनका लागि सांसद भएर स्कुटरमा हुइँकिनुलाई ठूलो कुरो होइन। ठूलो कुरा त त्यो हो जसले अरुको जीवन परिवर्तन गर्न सकोस्। समाज परिवर्तनमा भूमिका खेल्न सकोस्। उनी आफै पनि छाउ गोठमा बसेरै यहाँसम्म पुगेकी हुन्। ‘अज्ञानताका कारण केही समय म पनि छाउ गोठमै बसेँ। तर, म अहिले घरमा बस्छु,’ आफ्नो विगत र वर्तमान तुलना गर्दै उनले भनिन्, ‘हाम्रो ठाउँका महिलाहरु अझै छाउ गोठमै हुनुहुन्छ। यसको उन्मूलन नहुँदासम्म केही गर्न नसकेको लागिरहन्छ।’

उनको भनाइमा महिलामाथि हुने शोषणको टुप्पो काटियो तर जरा ज्यूँका त्यूँ नै छ। जरा उखलेर नष्ट नगरेसम्म समस्या यथावत रहने उनको बुझाइ छ। विभेदको गहिरो खाडल देखेकी छिन् उनले। दैनिक जीवनमा पनि उनीसामु विभेदसँग जोडिएका विषयको ठेस लागिरहन्छ।

‘जनतामा पनि त्यस्तै देखिन्छ। पुरुष माननीयले चाहिँ केही गर्न सक्छन् भन्ने सोच छ,’ जिल्ला पुग्दाको अनुभव सुनाइन् उनले।

महिलालाई समाजले हेर्ने दृष्टिकोणकै कारण विभेदको अनुभूति गरिरहनुपर्छ उनले।

‘मलाई र पुरुष माननीय गर्ने व्यवहार फरक छ। पुरुष माननीयहरु र महिला माननीयहरुसँग गर्ने अपेक्षा पनि फरक छ,' उनले समाजमा रहेको सोचको विभेदलाई कोट्याइन्, 'समाजमा महिलाहरुले केही गर्न सक्दैनन् भन्ने पहिलेदेखिकै सोच हो। अझै हट्न सकेको छैन।’

त्यसो त राजनीतिक दलले नै विभेद गरेको स्वीकार्छिन्। पार्टीमा महिलालाई उचित स्थान नदिनु त्यसको उदाहरण हो।

‘महिलालाई ३३ प्रतिशत स्थान दिइएको छ। त्यो सम्मान गरेको जस्तो लाग्दैन्,' उनले सुनाइन्, '३३ प्रशित त दिनैपर्ने भएर दिइएको हो। ४० प्रतिशत स्थान दिइएको भए चाहिँ सम्मान गरेर ल्याइएको भन्न मिल्थ्यो।’

संसद छिर्दाको त्यो अनुभव...

रंगमती शाहीको संसद भवनको पहिलो अनुभव रोचक छ।

‘संसद छिर्दा विद्यालय गएको जस्तो अनुभव भयो,' मुस्काउँदै उनले भनिन्, 'सभामुख सर जस्तै लाग्यो।'

राष्ट्रिय गान बज्दा स्कुलमा झैं उठ्नुपर्ने लाग्यो उनलाई। 'स्कुलमा शिक्षकले उठ् भन्दा उठ्नुपर्ने र बस भन्दा बस्नुपर्नेजस्तै,’ उनले हाँस्दै भनिन्, ‘विद्यालयमा सर कक्षामा पस्दा उठ्ने गर्थ्यौं।'

त्यतिमात्र होइन, संसद भवन उनलाई स्कुलजस्तै किन पनि लाग्यो भने पक्ष र विपक्षमा हुने बहस - स्कुलको वादविवादभन्दा फरक नहुने।

संसदको बहसमा भाग लिँदा पनि उनले विभेदकै महसुस गरेकी रहिछिन्।

'महिला सांसद भएकै कारण मिडियाले पनि स्थान नदिएको जस्तो लाग्छ,' उनले भनिन्। पुरुष सांसदको भनाइले मिडियामा बढी प्राथमिकता पाएजस्तो लाग्छ सांसद शाहीलाई।

अपेक्षा र अभावको कथा

सांसद भएका कारण रंगमती शाहीप्रति आशा गर्नेहरु धेरै छन्। काठमाडौंको बसाई महँगो स्वभाविक नै हो। जाडोको प्रभाव धेरै हुने भएकाले जिल्लाका मानिसहरु त्यही सिजनमा अपेक्षा राख्छन्। बिरामी, अशक्त र महिला कार्यकर्ताकै सेवा गर्न पनि तलबले पुग्दैन। त्यसमाथि महँगीको मार उनी पनि उत्तिकै खेप्छिन्।

उनलाई आफ्नै गाउँ जाँदा ठूलै खर्च हुन्छ। एकपटक जिल्ला जाँदा कम्तिमा पनि डेढ लाख खर्च हुन्छ। सांसद भएपछि चारपटक जिल्ला पुगिन्। पहिलो पटक जिल्ला जाँदा कति खर्च भयो यकिन छैन्। तर, एकपटक जाँदा कम्तिमा एकदेखि डेढ लाख खर्च हुने सुनाइन्।

भनिन्, ‘जिल्ला जान गाह्रो छ । कम्तिमा डेढ लाख जोहो गर्नुपर्छ। प्लेन भाडा तिर्नुपर्यो। उता पुगेपछि महिला, अशक्त, बिरामीलाई हेर्नै पर्‍यो। जिल्लामा केही सहयोग गर्नैपर्‍यो।’

जिल्लासँग नजोडिए राजनीतिको यात्रा लामो नरहने उनलाई थाहा छ। रकमसँगै समयको पनि अभाव भोगेकी छिन् उनले।

‘जिल्ला घुम्ने हो भने कम्तिमा दुई महिना लाग्छ। भौगोलिक विकटताका कारण हिँडेर जानुपर्छ। जिल्लामा त्यसरी बस्दा संसदमा खोइ भनिन्छ,' उनले भनिन्, 'अनि जिल्ला पुग्दा चाहिँ जनताले फर्केर त आयौ है भन्नुहुन्छ।'

जिल्लामा गएर कार्यकर्ता भेटघाट भएपछि अरु सांसदहरुसँग जस्तै उनीसँग पनि अपेक्षा गर्नेहरु जम्मा हुन्छन्। 'उहाँहरु जिल्लामा योजना पार्नुपर्‍यो भन्नुहुन्छ,' उनले भनिन्, 'अहिले स्थानीय सरकार भएपछि अधिकार उहाँहरुसँगै नै हुन्छ । सांसद भन्दा स्थानीय जनप्रतिनिधिको महत्व बढी छ। तैपनि आशा भने रहिरहने रहेछ।'

न्याय पाउन राजनीतिको यात्रा

उनी राजनीतिमा आउनु अघि महिला अधिकारका क्षेत्रमा काम गर्थिन्। न्याय माग्दा जिल्लामा आफ्ना कुराको सुनुवाइ नै हुन्थेन। त्यसले उनको मन खिन्न हुन्थ्यो । त्यसपछि उनले सोचिन्- न्याय पाउन राजनीति गर्नुपर्छ।

ठाउँमा नपुगी केही हुँदैन भन्ने लाग्यो उनलाई। त्यही सोचले राजनीतिमा ल्यायो। र, सांसद बनायो।

उनका बुबाले उनी सानै हुँदा 'छोरी राजनीतिमा आउँछिन्' भनेको सम्झिन्छिन्। बुबा राजनीतिकर्मी भएकाले घरमा नेताहरुको आवतजावत हुन्थ्यो।

‘उहाँहरुले गरेको कुरा नबुझे पनि लुकेर सुन्ने गर्थेँ। त्यतिबेला बुबाले छोरी राजनीतिमा आउँछे भन्नुहुन्थ्यो। मलाई विश्वास थिएन,’ उनले भनिन्।

राजनीतिमा नआए पनि केही गर्छु भन्ने अठोट चाहिँ थियो उनमा। ‘राजनीतिमा आएँ र त संसदमा महिलाका कुरा उठाउन पाएको छु। नीति बनाउने ठाउँमा संलग्न हुन पाएको छु,' उनले भनिन्, 'मैले पार्टीमा प्रवेश गर्दा नै पहिलो प्राथामिकता महिला, दोस्रोमा पार्टी राखेको थिएँ। अहिले पनि त्यही मान्यतामा छु।’

४५ वर्षीया सांसद शाही अविवाहित नै छिन्। एक्लो जीवन नै प्यारो लाग्न थालेको छ उनलाई।

‘बिहे गर्ने सोच बनाएको छैन। पहिलेदेखि नै आफ्नो तरिकाले हिँड्ने बानी परिसकेको छ,’ भन्छिन्, ‘बिहे गर्नका लागि गाह्रो छैन। सोच बन्यो भने धेरै समय लाग्दैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell