PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दुबईमा बुनिएको एक हत्या योजना: छोरीको घरबार बचाउन खोज्दा गयो आमाको ज्यान



सविन ढकाल

दुबईमा बुनिएको एक हत्या योजना: छोरीको घरबार बचाउन खोज्दा गयो आमाको ज्यान

काठमाडौँ: भनिन्छ, प्रेममा परेपछि मान्छेले आँखा देख्दैन। तर कतिसम्म आँखा नदेख्लान् प्रेममा परेकाहरुले? एउटा घट्नाले भन्छ, प्रेमीहरु आफूलाई जन्मदिने आमाको हत्या गर्नेसम्म गरी आँखा देख्दैनन्।

घटना आइतवारको हो। भक्तपुरको चाँगुनारायण नगरपालिकामा ६० वर्षीया सावित्री भट्टराइको हत्या भयो। धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको थियो। हत्याको आरोपमा प्रहरीले सोही दिन साँझ धादिङ्को गजुरीबाट एकजनालाई पक्राउ गर्‍यो। अनुसन्धान गर्ने क्रममा पत्ता लाग्यो- हत्याको कारण थियो, सावित्रीकी छोरीको प्रेम सम्बन्ध।

जब आमाले प्रेम सम्बन्ध थाहा पाइन्

सिन्धुपाल्चोक घर भएकी सावित्री केही समयदेखि चाँगुनारायणस्थित छोरी ज्वाइँको घरमा बस्दै आएकी थिइन्। २७ वर्षीय ईश्वरी उनकी कान्छी छोरी हुन्। ईश्वरीको करिब पाँच वर्षअगाडि प्रेम विवाह भएको थियो। उनका श्रीमानको त्रिभुवन विमानस्थल नजिकै होटेल छ। उनी कलाकार समेत हुन्।

ईश्वरी कपडा गार्मेन्टमा काम गर्थिन्। कामकै सिलसिलामा उनको भेट हुन्छ सिराहा घर भएका मोहम्मद नौसादसँग। नौसाद ईश्वरीभन्दा तीन बर्ष कान्छा हुन्। गार्मेन्टको चिनजान गार्मेन्टमा मात्र सीमित रहेन। उनीहरू बाहिर पनि भेटघाट गर्न थाले। बाक्लिँदो भेटघाट माया प्रेममा नै परिणत भयो।

गोप्य रुपमा फैलिएको प्रेम उनीहरुले गोप्य राख्न सकेनन्। प्रेम फैलिएर ईश्वरीकी आमा सावित्रीसम्म पुग्यो। विवाहित छोरीको परपुरुषसँग प्रेम बसेको थाहा पाएपछि आमा सावित्रीले यो सम्बन्धलाई मन्जुर गरिनन्। उनले छोरी र मोहम्मदलाई पटक पटक सम्झाइन्। आमाको निरन्तरको दबाब र सम्झाइपछि ईश्वरी आफ्ना प्रेमीसँग छुट्टिने पक्षमा पुगिन्।

त्रिपक्षीय समझदारी बन्यो- मोहम्मदलाई दुबई पठाउने।

छोरीको घरबार नबिग्रिने आशमा सावित्रीले आफैले एक लाख रुपैयाँको जोहो गरेर मोहम्मदलाई दुबई पठाइन् गत जेठको १९ गते। उनलाई आशा थियो, केटो दुबई गएपछि छोरीको घरबार बिग्रिने छैन। तर उनलाई थाहा थिएन, मोहम्मद दुबई उँडेको त्यो जेठ १९ उनकै जीवनको कालो दिन बनेर फर्किनेछ।

दुबईमै बन्यो हत्या योजना

आमालाई विश्वास थियो, दुबई गएपछि ईश्वरी र मोहम्मदको कुराकानी हुने छैन। एकहप्ता त भएन पनि। ‘तर त्यसको एक हप्तापछिदेखि नै उनीहरुबीच कुराकानी शुरु भएको देखिन्छ,’ अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुल थापाले भने।

ईश्वरी र मोहम्मदको प्रेम यति उत्कर्षमा थियो कि उनीहरुलाई दूरीले छुट्याउन सकेन। मोहम्मदले दुबईमै प्रेमिकाकी आमाको हत्या बनाउने योजना बनाए र असार १० गते नेपाल फर्किए।

नेपाल फर्केको दुई दिनमै असार १२ गते मोहम्मद भारततिर लाग्छन्। भारत पुगेर मोहम्मदले सावित्रीको हत्या गर्नको लागि अर्जुन कुमार र मोहम्मद रहिशलाई सुपारी( फिरौती रकम) दिएको एसएसपी थापाले बताए। भारतको इडि ३५ घर भएका अर्जुन कुमार र भारत मधुमनी जिल्ला रजौरीका बासिन्दा हुन्। मोहम्मद रहिशलाई ‘ सावित्रीको हत्याको १२ लाख रुपैयाँ दिने सहमतिमा दुईजनालाई नेपाल बोलाइएको देखियो,‘ एसएसपी थापाले भने।

शनिवार मोहम्मद दुईजना ‘कन्ट्र्याक्ट किलर’ सहित नेपाल आए। आइतवार बिहान सावित्री एक्लै भएको मौका छोपी सावित्रीको हत्या गरेर फरार भए। ‘ घटना योजनाबद्धरुपमा भएको देखियो। उनीहरूको संलग्नता स्पष्ट देखिएको छ,‘ एसएसपी थापाले भने।

दुबई उड्नु अघिको सिमकार्डले भेट्टायो अभियुक्त

हत्याको कारण चाँडै पत्ता लगाउन एउटा सिमकार्डले सघायो प्रहरीलाई। मोहम्मदले ईश्वरीको दिदीको नाममा झिकिएको सिम लिएर दुबई उठेका थिए। उनी नेपाल फर्किएपछि मात्र फोनमा सम्पर्क गर्ने दुईबीच सहमति भएको थियो। महाशाखाको परिसरमा भेटिएकी अभियुक्त ईश्वरीले भनिन्, ‘ उसले दिदीको नामको सिमकार्ड मबाट जबर्जस्ती लगेको थियो।‘

दुबईबाट नै मोहम्मद र ईश्वरीले आमाको हत्या गर्ने योजना बनाएको एसएसपी थापाले बताए। मोहम्मदको योजना अनुसार नै ईश्वरीले केही दिनदेखि बस्दै आएको घर छोडेकी थिइन्। आमाको हत्याको लागि १२ लाख रुपैयाँको बन्दोबस्त पनि छोरीकै योजनामा भएको प्रहरीको दाबी छ।

ईश्वरीको घरमा उनकी दिदीले जग्गा बचेर ल्याएको २२ लाख रुपैयाँ समेत राखिएको देखिएको छ। ‘ दिदीले जग्गा बेचेको पैसा घरमा नै थियो,‘ हातको हत्थकडी सार्दै ईश्वरीले भनिन्।

हत्यापछि उनीहरुको भारत भाग्ने योजना थियो। तर सुपारी दिएको १२ लाख रकम मोहम्मद र ईश्वरीले दिन आनाकानी गरेपछि पैसा कुरेर बसेका ‘कन्ट्रयाक्ट किलर’ नेपालमा नै पक्राउ परे। घट्नामा अन्य तीन अभियुक्तले साबिती बयान दिएपनि ईश्वरीले भने आमाको हत्यामा आफू संलग्न भएको स्विकारेकी छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell