PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

तातोपानी नाका चलाउन चीनको चासो, नेपाल चाहिँ निर्लज्ज



दिनेश खड्का

तातोपानी नाका चलाउन चीनको चासो, नेपाल चाहिँ निर्लज्ज

काठमाडौं : भारतीय नाकाबन्दीसँगै उत्तरी छिमेकी चीनलाई जोड्ने तातोपानी नाका पुन: संचालनको दवाव दिन तत्कालीन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूका नेता कार्यकर्ताले एउटा अभियान नै छेडे। उनीहरुले भूकम्पले तहसनहस भएको तातोपानी नाकामा पहिरोले पुरेको सडक बेल्चाकै भरमा खुलाउन भरमग्दुर प्रयास गरे। भारतसँगको निर्भरता हटाउन चिनियाँ नाका खोल्नुको विकल्प थिएन। त्यसैले अखिलले गरेको त्यो प्रयासलाई सबैले प्रशंसा पनि गरे। तर, विद्यार्थी संगठनको पहलमै पहिरोले छोपिएको बाटो र भोटेकोसीले बगाएको सडक तयार हुने कुरै थिएन।

२०७२ सालदेखि बन्द रहेको उत्तरी नाका तातोपानी नाकाबाटबाट गएको जेठ १५ गते ४ वटा कन्टेनर नेपाल भित्रियो। ऊन बोकेका चार कन्टेनर भित्रिएसँगै ४ वर्षदेखि बन्द रहेको नाका खुलेको सन्देश चिनियाँ पक्षले दियो।

गत जेठ १५ गतेबाट चीनले कन्टेनर नेपाल पठाएर तातोपानी नाका सहज भएको सन्देशमात्र दिएन नेपालतर्फ ब्यापारको आयतन बढाउन चीनले विभिन्न सहयोग समेत गरेको देखायो।

चीन सरकारकै आर्थिक र प्राविधिक सहयोगमा दुई देश जोड्ने मितेरी पुल तयार भएको छ। यसैगरी मितेरी पुलस्थित लिपिङ बजारबाट करिव ६ किमी नेपालतिर लार्चामा सुक्खा बन्दरगाह समेत बनाइदिएको छ।

यी सबै विकासक्रमबाट तातोपानी नाकाप्रतिको चीनको दृष्टिकोण स्पष्ट छ- 'चीन यो नाकाबाट नेपालसँगको ब्यापारिक गतिविधि बढाउन चाहिरहेको छ।'

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेपछि तातोपानी नाका बन्द हुन पुग्यो। त्यसपछि भोटेकोशीको बाढीले मितेरी पुल र नाकासम्म पुग्ने सडक बगाएर थप क्षति पुर्‍याएपछि तातोपानी झनै लथालिङ्ग भएको हो।

भूकम्पले थङथिलो पारेको तातोपानी क्षेत्र बाढीको चपेटामा परेपछि धेरै मानिसहरुले थातथलो छोडे। कुनै बेला ब्यस्त र भिडभाड रहने तातोपानी क्षेत्रमा मानिसको खासै चहलपहल छैन।

हालसम्म पनि राजनीतिक नेतृत्वले नाका बन्द रहनुमा चीनलाई नै मुख्य कारक देखाउँदै 'उताबाटै' नचाहेको बताउँदै आएका थिए। राजनीतिक नेतृत्वले नेपालको तर्फबाट सबै खालका प्रयासहरु गरिए पनि चीनले महत्व नदिएकाले नाका नखुलेको तर्क दिँदै आए पनि बास्तविता भने फरक छ। आफ्नै पार्टीको भातृ संगठनले बेल्चाकै भरमा बाटो खुलाउन प्रयास गरेको भए पनि सरकार भने लाचार बनेरमात्र बस्यो। त्यसको परिणाम हो चीनले नाका खुलाउने दिएको संकेतलाई मूर्त रुप दिन कठिन बनेको छ।

खासमा चिनियाँहरुले नाका खोल्नका लागि चुपचाप आफ्नो तर्फबाट काम गरिरहे। चिनियाँहरुले कुनै हल्ला गरेनन्। उनीहरुले तातोपानी नाकासम्म आउनका लागि अवरोध भएका ठाउँहरुमा पूर्वाधार विकास गरे।

उनीहरुले आफ्नो तर्फका सबै संरचना आधुनिक बनाए जुन काम नेपालतर्फ हुन सकेको छैन। नेपालको नेतृत्व तह नाका खोल्न नसक्नुमा चीनलाई दोष थोपरिरहँदा नेपालतर्फ काम गर्नुपर्ने निकायहरु भने हात बाँधेर बसेका थिए जसका कारण संचालनमा आए पनि नाकासम्म पुग्ने सडककको अवस्था नाजुक छ।

तातोपानी नाका पुग्ने अरनिको राजमार्ग (कोदारी राजमार्ग ) माइतीघरदेखि मितेरीपुलसम्म ११४. ८ किलोमिटर लामो छ। बाह्रबिसेसम्मको दुरी ८८ किलोमिटर छ। त्यहाँभन्दा केहीमाथि ९० किलोमिटरमा सादी खोला पर्दछ जहाँ बेलिब्रिज हालिएको छ। यहाँभन्दा माथिको सडकमा भोटेकोशीमा आएको बाढीले धेरै क्षति पुर्‍याएको थियो। करीब १७/१८ स्थानमा गरी ४ किलोमिटर सडक बगाएको थियो।

डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर गागल कुमार भण्डारीका अनुसार २० प्रतिशत सडक मात्रै दुई लेनको छ। बाँकी ८० प्रतिशतमा एक लेन बराबरको मात्रै छ।

चीनले तोकिएकै मितिमा नाका संचालन गर्नका लागि सडकलाई एकतर्फी खुलाई दिएको हो। उनका अनुसार सरकारले तातोपानीमा सडक लगायतका संरचना निर्माणलाई प्राथमिकता नराखेका कारण सडक नाजुक अवस्थामा छ।

‘९० किमिभन्दा माथि चिनियाँले बनाइदिन्छ भनेर सडक विभागले कुनै काम नगर भन्दै पत्र पठाएको थियो। पछि काम सकियो सडक बुझ्न आउ भनेर चिनियाँ पक्षले भन्यो,' इन्जिनियर भण्डारीले भने, ‘हामीले पैसा माग्दा चिनियाँले बनाइदिन्छ भनेर अर्थले पैसा दिएन। यही हालतमा हामीलाई दिए बर्खापछि सडक चल्न सक्दैन भनेर हामीलाई चिनियाँ पक्ष र सडक विभाग दुवैलाई जानकारी गराएका छौं।'

९० किलोमिटरसम्म कालोपत्रे सडक छ। त्यसभन्दा माथिको सडक कच्चा छ। बगाएर क्षति पुर्‍याएको चार किमीमा ट्रयाक खोलेर बाँकी खण्डमा चिनियाँ पक्षले काम नगरेको भण्डारीले बताए।

सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार दुई लेनको पक्की सडक बनाइदिन नेपालले नै चीनलाई प्रस्ताव गरेको थियो। चिनियाँ पक्षले काम चलाउमात्र बनाएर 'हाम्रो काम सकियो बुझ्न आउ' भनेको थापाले बताए।

‘सुरुमा चिनियाँ पक्षले हामीलाई पहिरो व्यवस्थापन तिमीहरु गर हामी सडक बनाइदिन्छौं भनेका हुन्। हामीले पहिरो पनि तिमीहरु नै व्यवस्थापन गरिदेउ भनेको उनीहरुले नाका मात्रै खोल्ने गरी काम गरे,' थापाको भनाईले तातोपानी नाकाप्रति नेपालको लापरवाही प्रस्ट झल्किन्छ।

चिनियाँले नै सबै बनाइदिन्छ भन्दै केही काम नगरी बस्दा नाका खुले पनि सडकको अवस्था नाजुक छ। अझै पनि तातोपानीसम्म पुग्ने सडकमा ठूला गाडीहरु राम्रोसँग चल्न सक्दैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरु भने नाका खुल्नुलाई नै 'माइलस्टोन' भएको दावी गर्छन्। उनीहरु भन्छन् 'संरचना र पूर्वाधारहरु त विस्तारै अपग्रेड गर्दै लैजाने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell