PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रचण्डपुत्र प्रकाशको जन्म दिनमा माधव नेपालको ठट्टा : मैले खुकुरी त बोकेँ, कसैलाई छप्काउन सकिन!



विधुर ढकाल

प्रचण्डपुत्र प्रकाशको जन्म दिनमा माधव नेपालको ठट्टा : मैले खुकुरी त बोकेँ, कसैलाई छप्काउन सकिन!

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुत्र प्रकाश दाहालको स्मृतिमा प्रकाश दाहाल प्रतिस्ठानले आज राजधानीमा साहसिक सगरमाथा सम्मान कार्यक्रम आयोजना गर्‍यो। मञ्चमा थिए अधिकांश राजनीतिक दलका नेता। प्रचण्ड स्वयम् प्रमुख अतिथि, विशिष्ठ अतिथि ने क पाकै वरिष्ठ नेता माधव नेपाल।

दुई वर्ष अगाडि निधन भएका प्रकाशको जन्मदिन पारेर कार्यक्रममा बोल्ने वक्ताहरुले प्रकाशको गुनगान गाए। व्यक्तित्वको चर्चा गरे।

पालो आयो ने क पाका वरिष्ठ नेता नेपालको। प्रकाशको निधनले प्रचण्डको दाहिने हात भाँचिएको उनले बताए। ‘प्रकाश दाहालका अनेक व्यक्तित्व छन्। उनले सगरमाथा आरोहण गरेर परिकल्पनाभन्दा बाहिरको काम गरे,’ नेता नेपालले भने, ‘प्रकाशलाई गुमाउनु पर्दा प्रचण्डको दाहिने हात भाचिएको छ। अल्पायुमा बिदा गर्दा हामी दु:खी भएका छौँ।’

प्रकाशलाई साहसिक रुपमा चित्रित गर्दै नेता नेपालले जीवन संगीनीलाई लिएर सगरमाथा चढ्न थप साहासिक कदम भएको चर्चा गरे।

'सगरमाथा आरोहण कुरो गर्न पनि कति गाह्रो। चढ्छु भन्दा पनि गाह्रो। योजना बनाउन पनि झन गाह्रो। चढ्नका लागि तयारी गर्नु कति गाह्रो कति गाह्रो,' उनले अगाडि भने, 'चढेर सफलता हासिल गर्नु कति गाह्रो गाह्रो। सबैले कल्पना नै गर्न नसक्ने। आफू मात्र होइन्। आफ्नो जीवन संगीनीलाई साथमा लिएर योद्धाहरुसबैलाई सथामा लिएर...' उनले यति भन्दा हल तालीसँगै हासोले गुञ्जियो। मञ्चमा रहेका प्रचण्डसँगै प्रकाशकी कान्छी श्रीमती तथा खानेपानी मन्त्री बिना मगर पनि हाँसिन्।

यो हाँसो अस्वभाविक पनि थियो किन कि विना त्यतिबेला प्रकाशकी पत्नी भइसकेकी थिइनन्। प्रकाशसँग उनकी माइली श्रीमती सिर्जना थिइन्। सगरमाथा आरोहणबाट फर्किएसँगै बिना र प्रकाशको सम्बन्ध बढेको थियो। उनीहरु भागी विवाह गरेका थिए। पार्टीले समेत उनीहरुलाई केही समय कारवाही गरेको थियो।

नेता नेपालले जानेरै यो प्रसंग कोट्याए वा अनजानमै तर हलमा हाँसोले गुञ्जियो।

प्रकाशको क्षमताको खुलेर प्रशंसामा उत्रिएका नेता नेपालले प्रकाशलाई बहुआयामिक रुपमा चित्रण गरे। सञ्चार प्रविधि कला कौशलताले भरिएका भन्दै उनको हतियार चलाउने क्षमताको विषयमा पनि बोले। उनले यसैमा आफूले बन्दुक नबोके पनि खुकुरी बोकेको प्रसंग उप्क्याए।

'सबैमा त्यो कुशलता हुँदैन। टेक्नोलोजीको कुशलता पनि थियो। त्यो बन्दुक चलाएको देख्दाखेरी, बन्दुक चलाउन सिकिरहेको देख्दा खेरी,' उनले आफ्नो प्रसंग सुनाए, 'मैले बन्दुक त होइन खुकुरीसम्म उठाएको थिएँ। एउटाको घाँटी छिनाल्न पनि गएको थिएँ। छिनाल्न सकिएन त्यो बेग्लै कुरा हो।'

उनले प्रकाश राजनीतिक तथा व्यवस्थापकीय कुशलतासमेत भएको बताए। प्रकाशले कम्युनिस्ट पार्टीको झण्डालाई सगरमाथामा पुर्‍याएको भन्दै उनको चाहनाहरु पूरा गर्न प्रतिस्ठान अगाडि बढ्ने आशा व्यक्त गरे।

प्रकाश पूर्ण जीवन बाँचेर गए : प्रचण्ड

यसैबीच प्रचण्डले आफ्ना छोरा प्रकाश दाहालले छोटो समयमा पूर्ण जीवन बाँचेर गएको बताए।

‘हुन त हुने ३६ वर्षको छोटो समय जिए। तर, उनले यो ३६ वर्षमा ठूलाठूला योगदान दिए,' उनले भने, 'युद्धदेखि शान्तिसम्मका अनुभव भोगे। सरमाथा आरोहणदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवसहति पूर्ण जीवन बाँचेर गए।'

उनले ३६ वर्षमा नै यो सबै अनुभव लिन नसक्ने खालको भएको बताए।

'३६ वर्षको अवधीमा तीता मीठा अनुभवहरु ती सबै अनुभवहरु,' उनले भने, 'परिवार प्रेम विवाह, सबै तीता मीठा अनुभवहरु व्यहोरे। उनले सफलता, कमजोरी तीता मीठा अनुभव व्यहोरेको हुँदा एउटा पूर्ण जीवन जिएर गए भन्ने लाग्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell