PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्याराग्लाइडिङका युकेश र फुटबलकी सावित्रा उत्कृष्ट, अरु क-कसले जिते अवार्ड?



गोविन्दराज नेपाल

प्याराग्लाइडिङका युकेश र फुटबलकी सावित्रा उत्कृष्ट, अरु क-कसले जिते अवार्ड?

काठमाडौं : प्याराग्लाइडिङका युकेश गुरुङ र फुटबलकी सावित्रा भण्डारी वर्ष २०७५ को उत्कृष्ट खेलाडी घोषित भएका छन्। २०७५ सालभर नेपालको लागि उत्कृष्ट प्रदर्शन गरेका यी खेलाडीले नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको १६औं पल्सर स्पोर्ट्स अवार्डमा वर्ष खेलाडीको अवार्ड जितेका हुन्।

इन्डोनेसियामा नेपालले प्याराग्लाइडिङ टिम इभेन्टमा रजत पदक जित्का सदस्य युकेश गुरुङले पुरुष वर्ष खेलाडीको अवार्ड जित्दा क्रिकेटका कप्तान पारस खड्का, क्रिकेटर सोमपाल कामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ र गल्फका शुक्र बहादुर राईलाई पछि पारे।

युवा उमेरमै अवार्ड जित्न सफल युकेशले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

'नेपाली खेलकुदकै सबैभन्दा ठूलो अवार्ड पाएकोमा म खुशी छु। आज मेरो लागि एकदमैर् स्पेशियल दिन हो। किनकी आज मेरो बुवाको बर्थडे पनि हो। यो ट्रफी म मेरो बुवालाई डेडिकेट गर्न चाहन्छु।' युकेशले भने। उनले मेरो परिवार, मेरो सपोर्टर्स, मेरो टिम कोच योगेश भट्टराई, क्याप्टेन विमल अधिकारी र टिम म्यानेजर शैलेन्द्र रावत लगायत प्याराग्लाइडिङ फेमिलीलाई धन्यवाद दिँदै सबै नेपाललीलाई खेल खेल्नु राम्रो हुने सन्देश दिए।

यस्तै वर्ष खेलाडी महिलाको अवार्ड जित्ने क्रममा सावित्राले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, तेक्वान्दोकी निमा गुरुङ र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पारिन्।

घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दा सर्वाधिक गोल गरेकी सावित्राले भारतमै भएको हिरो गोल्ड कपमा पहिलो नेपालले भारतलाई हराउँदा उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेकी थिइन्। यस्तै नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुर्‍याउन पनि उनको महत्वपूर्ण भूमिका थियो।

सावित्राले पिपुल्स च्वाइस र उत्कृष्ट महिला खेलाडीको मनोनयमा पर्दा पनि विजेता जस्तै लागेको बताइन्। 'शुक्र लामालाई विशेष धन्यावाद। साम्बालाई साम्बा बनाउन हरि खड्काको योगदान पनि उच्च छ। जसले मार्गदर्शन बनेर मलाई अगाडि बनेर प्रेरणा दिनुभयो। एन्फा महिला समितिलाई पनि धन्यवाद। सबैको साथले यहाँसम्म आइपुगेको छ। आगामी दिनमा पनि यसरी नै साथ दिनुहुन्छ भन्ने आश छ। महिला फुटबल विकासको लागि सँधै लाग्ने र नेपाललाई गोल्ड मेडल दिलाउने प्रतिवद्धता व्यक्त गर्दछु।'

यस्तै रजत जित्ने प्याराग्लाइडिङ टिमको प्रशिक्षक योगेश भट्टराई वर्ष प्रशिक्षक घोषित भए। उनले इन्डोनेसियामा रजत जित्न २७ अंकले मात्रै चुकेको र आगामी दिनमा यस अवार्डले अझ राम्रो गर्न हौसला दिने बताए। यवगेशले उत्कृष्ट बन्ने क्रममा क्रिकेट टिमका जगत टमाटा, महिला फुटबल टिमका हरि खड्का, एथ्लेटिक्सका धनिराम चौधरी र एपीएफ महिला भलिबल टिमका ज्ञानेन्द्र विष्टलाई पछि पारे।

वर्ष खेलाडी पुरुष र वर्ष प्रशिक्षकको अवार्ड जितेका प्याराग्लाइडिङको टिमले नै टिम अफ दि इअरको अवार्ड जित्यो।

वर्ष युवा खेलाडीको अवार्ड एथ्लेटिक्सका अजित कुमार यादवले जिते। अजितले ब्याड्मिन्टनका प्रिन्स दाहाल, क्रिकेटका ललित नारायण राजवंशी, फुटबलकी मन्जली कुमारी योन्जन र करातेका विजय श्रेष्ठलाई पछि पारे।

'यो मेरो जीवनकै सबैभन्दा ठूलो अचिभमेन्ट हो।' युवा खेलाडीको अवार्ड जितेपछि यादवले भने।

अजितले हङकङमा भएको तेस्रो एसिएन युथ एथलेटिक्स च्याम्पियनसिपमा ३ हजार मिटरमा (८.३०.३२) समयसहित कीर्तिमानी स्वर्ण जितेका थिए। त्यो नेपालको ऐतिहासिक पदक थियो। यस्तै २३औं एसिएन एथलेटिक्स च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानमा सुधार गरेका उनले काठमाडौं म्याराथन ५ किमी खुला रोड रेसमा स्वर्ण,–बन्दीपुर रोड रेस ८ किमीमा स्वर्ण र मदन भण्डारी रोडे रेस ५ किमिमा स्वर्ण जितेका थिए।

यस्तै पिपुल्स च्वाइस अवार्ड भलिबलकी रेश्मा भण्डारीले जितिन्। एसएमएस भोटिङ, फेसबुक लाइक, एनएसजेएफ सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस अवार्डको विजेता चयन गरिएको हो।

रेश्माले मतको आधारमा शारिरीक सुगठनका महेश्वर महर्जन, क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारेकी हुन्। रेश्माले सर्वाधिक ३२.९२ प्रतिशत मत ल्याइन्। यस्तै फुटबलकी सावित्राले २९.५३५ प्रतिशत मत पाउँदा शारिरीक सुगठनका महेश्वर मर्हजनले १५, प्रिन्स दाहालले १३.५४५ प्रतिशत र क्रिकेटर सन्दीप लामिछानले ८.४१ प्रतिशत मत पाए।

वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, उत्कृष्ट प्रशिक्षक र पिपुल्स च्वाइस अवार्ड विजेताले पल्सर बाइक प्राप्त गरेका छन्।

यसैगरी कीर्तिमानी एथ्लेटिक्स धावक हरि बहादुर रोकाया लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भए।

स्पेशियल अवार्ड फुटबल खेलाडी रोहित चन्दले जिते। इन्डोनेसियन लिग खेलिरहेका रोहित तयहाँ उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पर्सिजा जाकार्ताबाट लिग जितेका उनी मोस्ट भ्यालुएबल प्लेअर समेत घोषित भएका थिए। उनी हाल इन्डोनेसियामै रहेका कारण उनको दाजु रविन चन्दले अवार्ड ग्रहण गरेका थिए। आफ्नो परिवारको सदस्यले अवार्ड जित्दा निकै खुशी लागेको रविनले सुनाए। साथै उनले यस अवार्डले रोहितलाई पनि आगामी दिनमा अझै राम्रो प्रदर्शन गर्न प्रेरित गर्ने बताए।

यसैगरी पारा एथ्लेट अवार्ड नेत्रिहन महिला क्रिकेटर खेलाडी मनकेसी चौधरीले जितिन्। पाकिस्तानमा गत माघमा भएको पहिलो अन्तर्राष्ट्रिय महिपला नेत्रहीन क्रिकेट सिरिजमा नेपालले पाकिस्तानलाई ४-० ले पारजित गर्दा मनकेसीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले चार खेल खेल्दै दुई अर्धशकत सहित कूल १८३ रन बनाएकी थिइन्।

एआइपीएस एसिया स्पोर्ट्स जर्नालिष्ट अवार्ड पाकिस्तान स्पोर्ट्स राइटर्स फेडरेसनका अध्यक्ष अमजाद अलि मलिकले प्राप्त गरे। उनी एआइपीएस एसियामा महासचिव समेत हुन्।

उनले पहिलो पटक प्रदान गरिएको यस अवार्ड आफूलाई प्रदान गरेकोमा एनएसजेएफलाई धन्यवाद दिँदै उत्कृष्ट अवार्ड गरेकोमा बधाई दिए। उनले आफूले अहिलेसम्म धेरै अवार्ड पाएपनि यो सबैभन्दा ठूलो भएको बताए।

 

कसले कुन अवार्ड जिते?

वर्ष खेलाडी पुरुष : युकेश गुरुङ (प्याराग्लाइडिङ)

वर्ष खेलाडी महिला : सावित्रा भण्डारी (फुटबल)

वर्ष प्रशिक्षक : योगेश गुरुङ (प्याराग्लाइडिङ)

वर्ष खेलाडी युवा : अजित कुमार यादव (एथ्लेटिक्स)

लाइफटाइम अचिभमेन्ट अवार्ड : हरि बहादुर रोकाया (एथ्लेटिक्स)

पिपुल्स च्वाइस अवार्ड : रेश्मा भण्डारी (भलिबल)

स्पेशियल अवार्ड : रोहित चन्द (फुटबल)

पारा एथ्लेट अवार्ड : मनकेसी चौधरी (नेत्रहिन क्रिकेट)

टिम अफ दि इअर : प्याराग्लाइडिङ टिम

एआइपीएस एसिया स्पोर्ट्स जर्नालिष्ट अवार्ड : अमजाद अलि मलिक (पाकिस्तान)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell