PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

५० वर्षमा दोहरिएको इतिहास: भारतीय चलचित्र महोत्सवसँग नेपालको 'लभ-हेट रिलेसन'



नेत्र तामाङ

५० वर्षमा दोहरिएको इतिहास: भारतीय चलचित्र महोत्सवसँग नेपालको 'लभ-हेट रिलेसन'

काठमाडौँ: नेपालमा हुने भनिएको २० औँ संस्करणको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड रद्द हुने बाटोमा छ। #visitnepal2020 लक्षित आइफा अवार्ड विवादमा आएपछि काठमाडौंमा नहुने पक्का भएको हो।

आइफा आयोजना गर्न सहआयोजकको रुपमा काठमाडौं महानगर र पर्यटन बोर्डलाई स्वीकृति दिने उल्लेख थियो। आइफा आयोजनाका लागि नेपालले एक अर्ब ब्योहर्नुपर्ने शर्तले चर्को विरोध सिर्जना भयो।

आइफा गराउने मन्त्रिपरिषदको निर्णय सार्वजनिक भएको एक साता नबित्दै सरकार त्यसबाट पछाडि हट्न बाध्य भयो।

निर्णय सार्वजनिक हुनासाथ प्रतिपक्षीको स्वर नसुनिए पनि सत्तारुढ दलबाटै चर्को विरोध भयो। अरु धेरैखाले विषयमा चर्को आन्दोलन गर्ने र सदन नै अवरुद्ध गर्ने प्रतिपक्षी दल नेपाली कांग्रेसले त यो विषयमा मुखै खोलेन। सरकारले एक्कासी मन्त्रिपरिषदमा प्रवेश गराएर आइफालाई स्वीकृत दिएसँगै सत्तरुढ नेकपाको आफ्नै घरबाट शुरु भएको विवादले सरकार 'रिभर्स गेर' लगाउन वाध्य पार्‍यो।

त्यसो त भारतीय फिल्म महोत्सव रद्द भएको यो पहिलोपटक भने होइन। ५० वर्षअघि काठमाडौंमा आयोजना हुने तयारी भएको फिल्म महोत्सव यसरी नै रद्द भएको थियो। २०२७ कात्तिक २० गतेको गोरखापत्रमा यस विषयको समाचार पहिलो पृष्ठमै उल्लेख छ। गोरखापत्रका पत्रकार प्रकृति अधिकारीले सोसल मिडियामा पत्रिकाको फोटो नै राखेपछि धेरैले थाहा पाए - ५० वर्षमा इतिहास दोहोरिएछ।

'भारतीय चलचित्र महोत्सव आयोजना नगर्ने निर्णय' शीर्षकको उक्त समाचारमा त्यसबेला व्यापार तथा पारवहन सम्बन्धी वार्ता नटुंगिएको कारण उल्लेख गर्दै महोत्सव नगर्ने निर्णय गरेको उल्लेख छ।

भारतीय चलचित्र आयोजक समितिले आयोजना गर्ने भनिएको त्यतिखेरको महोत्सवको विद्यार्थीलेसमेत विरोध गरेको जनाएको समाचारमा उल्लेख छ। समितिको उपाध्यक्षसमेत रहेका तत्कालीन भारतीय राजदूत राजबहादुरले उक्त महोत्सव आयोजना रद्द गर्ने बारेको बैठकको अध्यक्षता गरेका थिए।

पछिल्लोपटक भारतीय संस्थापन पक्षलाई रिझाउने प्रयास गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नेपालमा भारतीय जी सिने अवार्ड आयोजना गर्ने सहमति जनाएका थिए। तर, सो अवार्ड पनि हुन सकेन। किन चाहिँ उनकै सरकारले समेत बोल्न चाहेको छैन। न त प्रधानमन्त्रीको सचिवालयले नै मुख खोलेको छ।

 

बलिउडसँग नेपालको लभहेट रिलेसन

नेपालीहरु बलिउड फिल्म भनेपछि हुरुक्कै हुन्छन्। नयाँ बलिउड फिल्म रिलिज हुनसाथ हलमा पुग्दा जोसुकैले पनि यस्तो अनुभूति गर्छन्। 'नेपाली फिल्मलाई माया गर्नुपर्छ' भने पनि 'त्यो त गफै त हो' को भन्ने पारामा नेपाली दर्शकको पहिलो रोजाइ बनिदिन्छ- बलिउड फिल्म। त्यसैले सरकारले नयाँ नीति बनाएर छ महिना विदेशी फिल्म रोक्ने तयारीसमेत गर्दैछ। नेपाली फिल्म उद्योग बचाउन सरकारले चाल्ने तयारी गरेको यो कदमले के नतिजा दिन्छ भन्न सकिन्न। किनभने सरकारले जति यस्ता कदम हौसेर ल्याइरहेको छ त्यति नै त्यसलाई छाड्न वाध्य भइरहेको छ। मतलब, ६ महिना विदेशी फिल्म चल्न नदिने नीति पनि 'आइफा' हुन सक्छ।

बलिउड फिल्म जति धेरैले मन पराउँछन्, त्यस्तै सानासाना कुराले हंगामा मच्चाउन पनि पछि पर्दैनन् नेपाली दर्शक।

कुनै बेला चर्चित नायक धर्मेन्द्रको सिनेमा पनि नेपाली सिनेमा हलका पर्दामा देखाउन निषेध थियो।

कारण ठूलो थिएन। धर्मेन्द्रले 'मलाई नेपालीहरु कुकुरजस्तै बफादार लाग्छ' भन्ने अभिव्यक्ति दिएको भन्दै चर्को विरोध भयो। नेपालीहरु मुम्बईमा दरोगाका रुपमा कार्यरत हुने र उनीहरु आफ्नो कामप्रति कर्तव्यनिष्ठ रहेको भन्न खोजेका धर्मेन्द्रले छनोट गरेको शब्दहरु नेपालीका लागि प्रीतकर थिएन। उनको बहुचर्चित फिल्म सोलेसमेत काठमाडौंको हलमा चलेन त्यसैका कारण। पत्रकार किशोर नेपालका अनुसार त्यतिखेर धर्मेन्द्रको विरोध गर्नेहरुले नै सीमा पारी गएर सोले हेरेका थिए।

बलिउडमा धर्मेन्द्रको पुस्ता त धेरै टाढाको विषय हो। कान्तिपुर एफएममा माधुरी दीक्षित दिएको एउटा अन्तर्वार्ता उत्तिकै आलोचित बनेको थियो। 'मलाई नेपाल त भारतको एउटा प्रान्त जस्तै लाग्छ' भन्ने माधुरीको अभिव्यक्तिले यहाँ आन्दोलन नै उठाउलाजस्तो भएको थियो। आलोचनासँगै माधुरी दीक्षित र त्यतिखेर उनीसँगै नेपाल आएका अक्षयकुमारले नेपाल बसाइ घटाउन परेको थियो।

हृतीक रोशन काण्ड त्यस्तै अर्को उदाहरण हो बलिउडसँगको लभ-हेट सम्बन्धको। हृतीकले नेपालबारे नकारात्मक टिप्पणी गरेको भन्दै काठमाडौं लगायतका शहरमा दंगा नै भयो। मधेशी मुलका नेपाली कुटिए पनि। हृतीकले ‘नेपाल र नेपाली मन पर्दैन’ भने रे भन्दै राष्ट्रियताको आगो बल्यो। हिन्दी पत्रपत्रिका जलाउने, हिन्दी फिल्म हलहरुमा प्रतिबन्द गर्ने अभियानसमेत चल्यो।

अनिल कपुरको घरवाली बहारवाली फिल्मको पनि चर्कै विरोध भयो। फिल्ममा काल्पनिक हिसाले 'नेपालमा बिहे गरेपछि छोड्नेलाई बाँधेर कपाल मुण्डन गर्ने चलन' देखाइएको थियो। त्यसले नेपालको इमेज धुमिल बनाएको भन्दै विरोध गरियो र हलमा फिल्म लागेन। तर, त्यतिखेर भिसिआरबाट भने नेपालीका घरघरमा घरवाली बहारवाली चलिरह्यो।

पछिल्लो पटक 'इन्डियाज मोस्ट वान्टेड' नेपालमा रिलिज नै हुन सकेन। नेपाललाई अपराधीहरुको थलोको रुपमा फिल्मले चित्रण गरेकाले वितरकले फिल्म ल्याउने हिम्मत नै गरेनन्।  

पढ्नुस्ः- 'इन्डियाज मोस्ट वान्टेड' फिल्म किन नेपालमा रिलिज भएन? के सेन्सर बोर्डले रोकेको हो?

अक्षय कुमारको बेबी छायाँकनका क्रममा पनि विरोध भएकै थियो। यो फिल्ममा पनि नेपाललाई क्रिमिनल हबकै रुपमा चिनाइयो। फिल्ममा तीन प्रमुख प्लट मध्ये एउटा प्लट नेपालसँग जोडिएको थियो। रोचक त के भने यो फिल्म भने नेपाली हलहरुमा निर्वाध प्रदर्शन भयो र विवादसमेत उठेन। त्यसको कारण के थियो यसै भन्न सकिन्न।

फिल्ममात्र होइन, बलिउड सेलिब्रिटी जोडिने लाइभ सो पनि विवादमा परिरहन्छ नेपालमा। सलमान खानको 'द ब्याङ टुर' कार्यक्रम तय भए पनि अन्तिममा रोकियो त्यो पनि दुईदुई पटक।  पछिल्लो पटकको सलमानको टुर 'विप्लव समूह'को चेतावनीका कारण रद्द भएको थियो।

पढ्नुस्ः- नेपाल आएनन् सलमान खान, काठमाडौँ कन्सर्ट फेरि अनिश्चित कालका लागि स्थगित

आइफा रद्द हुँदा नेपालकै प्रतिष्ठामा आँच

जति नै विरोध भए पनि आइफा अवार्ड नेपालमै भएको भए हुने भन्नेहरु पनि कम छैनन्।

कलाकार दीपकराज गिरीले सरकारको निर्णयले गलत सन्देश गएको दाबी गरेका थिए यद्यपि धेरै कलाकार यसको विरोधमा उत्रिएका थिए। हेर्नुस् दीपकको फेसबुक स्टाटस-

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि सुरुदेखि नै यसको आयोजना देशका लागि हितकर भएको बताइरहेका थिए। उनकै भनाइमा - अभिताभ बच्चनले ट्वीटबाट 'आइ एम इन काठमान्डु' वा माउन्टेन फ्लाइट भनेर हिमाल हेरेको ट्वीट गरेको भए नेपालको पर्यटनलाई प्रवर्द्धन नै गर्थ्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell