PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जात्रै जात्राको ५१ दिन आज : निर्देशक भट्टराई भन्छन् – ‘सिक्वेल होइन अब सिरिज’



मन्दिरा खत्री

जात्रै जात्राको ५१ दिन आज : निर्देशक भट्टराई भन्छन् – ‘सिक्वेल होइन अब सिरिज’

प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ले आज शनिवार ५१ औं दिन मनाउँदैछ। कुनै एउटा हलमा फिल्म जबरजस्ती 'होल्ड' गराएर ५१ दिन पूरा गराउने प्रवृत्तिबाट टाढा रहेर कुनै फिल्मले यस्तो रेकर्ड बनाउँछ भने त्यो नेपाली फिल्म उद्योगका लागि निक्कै सुखद् विषय हो। गएको जेठ ३ गतेदेखि प्रदर्शनमा आएको फिल्म दर्शकले राम्रोसँग रुचाए। र, यो अझै ७ वटा हलमा प्रदर्शनरत छ। नेपालमा मात्रै नभएर फिल्मको अस्ट्रेलियामा समेत ग्राण्ड प्रिमियर गरिएको थियो।

फिल्ममा सुनको मोह र त्यसको लागि भएको भागदौडलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरिएको छ। १ करोड ८० लाख रुपैयाँको लगानीमा निर्माण भएको जात्रै जात्राले आफ्नो लगानी सजिलै सुरक्षित गरिसकेको छ। जात्रै जात्रासँग प्रदर्शनमा आएको सलमान खान अभिनित फिल्म ‘भारत’को क्रेज ठूलो भए पनि जात्रै जात्रालाई हल्लाउन सकेन। सलमान स्टारर फिल्मले केही दिन व्यापारमा प्रभाव नपारेको होइन, तर बलिउड फिल्मलाई रिजेक्ट गर्दै नेपाली दर्शकले जात्रै जात्रालाई साथ दिए। बलिउड फिल्मकै प्रभावले पहिलो साता अपेक्षाअनुसार कमाइ भने गर्न सकेको थिएन यो फिल्मले। तर, जात्रै जात्रा लामो रेसको घोडा सावित बन्न पुग्यो।

फिल्ममा वर्षा राउत र विपिन कार्की मुख्य भूमिकामा छन्। वर्षा र विपिनसँगै रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, राजाराम पौडेल लगायतले अभिनय गरेका छन्। व्यवसायिक रुपमा सफल मानिएको जात्रा र शत्रु गते निर्देशन गरेका प्रदीप भट्टराईले जात्रै जात्राको ५१ दिन मनाइरहँदा कस्तो अनुभूति गरिरहेका छन् त? पहिलोपोस्टका मन्दिरा खत्रीको प्रश्न र निर्देशक भट्टराईको जवाफ :

जात्रै जात्राले ५१ दिन मनाइरहँदा कस्तो लागिरहेको छ?

५१ दिन पुगेकोमा एकदमै खुशी छु। तर, त्योभन्दा बढी मनमा डर छ। फेरि पनि यस्तो राम्रो फिल्म बन्छ कि बन्दैन। फिल्म सफल भएसँगै डर लाग्ने रहेछ।

जात्रै जात्राको सफलतासँगै दर्शकले तपाईँबाट धेरै आशा गरेका छन्, आगामी दिनको योजना के छ?

आगामी दिनमा के गर्दा ठीक होला र दर्शकलाई कस्तो किसिमको फिल्म दिने भनेर सोच्दैछु। तर, यस्तै फिल्म बनाउँछु भनेर सोचिसकेको चाहिँ छैन।

५१ दिन मनाइसकेपछि जात्रै जात्रा सिनेमा हलबाट उत्रिहाल्ने त होइन?

उत्रिँदैन। जात्रै जात्राको ५१ दिन हामीले कुनै दबाबमा मनाउन लागेको होइन। फिल्म चलिरहेको भएर मनाउन लागेका हौं। त्यसैले फिल्म निरन्तर चलिरहन्छ।

अहिले जात्रै जात्राले सिनेमा हलमा कस्तो शो पाइरहेको छ?

हाल जात्रै जात्राले १ दिनमा नियमित ७ वटा हलमा राम्रै शो पाइरहेको छ। त्यसैले गर्दा शनिबार ५१ दिन मनाउँदैछ सातैवटा हलले। त्यस बाहेक ५१ दिन मनाइसकेपछि देशभरका हल जहाँ जात्रै जात्रा पहिलो चरणमा लागेको छैन, त्यहाँ पनि देखाउने व्यवस्था गर्नेछौं। काठमाडौं बाहिरका सिनेमा हलमा पनि हाम्रो फिल्म चलिरहेको छ।

जात्रै जात्राको पनि सिक्वेल आउने सम्भावना कतिको छ?

हामीले पहिलादेखि नै भनेका छौं, सिक्वेलको रुपमा फिल्म जात्राको कथा जहाँबाट सकिएको थियो त्यहीँबाट जात्रै जात्राको कथा सुरु भएर अन्त्य गरिएको छ। त्यसैले पनि जात्रै जात्रामा अर्को कथा जोडिएर आउने कुरा नै हुँदैन। दर्शकहरुले चाहना जात्रै जात्राको अर्को भाग पनि आउनुपर्छ भन्ने हो। पुरानै कथामा जोडिएर सिक्वेलको रुपमा नयाँ फिल्म आउने सम्भावना छैन।

तर, दर्शकले फिल्मलाई यति धेरै माया गर्नुभएको छ, कलाकार र हाम्रो टिमलाई धेरै साथ दिनुभएको छ। त्यसैले सिरिजको रुपमा भने आउन सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell