PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

तीन वर्षपछि बल्ल तात्यो चलचित्र विकास बोर्ड: असार २७ मा पुरस्कार वितरण गर्दै



पहिलोपोस्ट

तीन वर्षपछि बल्ल तात्यो चलचित्र विकास बोर्ड: असार २७ मा पुरस्कार वितरण गर्दै

काठमाडौं:  चलचित्र विकास बोर्डले चलचित्र पुरस्कार वितरण गर्ने तयारी गरेको छ। बोर्डको १९ औं वार्षिक उत्सवको अवसर पारेर यही असार २७ गते राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रम गरिने बोर्डले जनाएको छ।

वार्षिक रुपमा आयोजना गरिने गरिएको यो कार्यक्रम २०७४ र २०७५ सालमा आयोजना नै भएन। यसपटक बोर्डले तीन वर्षका चलचित्र र चलचित्र क्षेत्रका विभिन्न विधाका पुरस्कार वितरण गर्न लागेको हो।

यस वर्षको पुरस्कार वितरण कार्यक्रममा २०७३, २०७४ र २०७५ सालका चलचित्रलाई पुरस्कृत गरिने छ। विजेताले २५ हजार नगद पुरस्कार र ट्रफी पाउने छन्।

सरकार भारतीय चलचित्र अवार्ड आइफाको आयोजना गर्न तम्सिरहेको तर आफ्नै देशको चलचित्र अवार्डलाई बेवास्ता गरेको चर्चा चलिरहँदा विकास बोर्डले यस्तो निर्णय गरेको हो।

पुरस्कार वितरण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ भने पुरस्कृतहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार हस्तान्तरण गर्नेछिन्।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईका अनुसार निर्णायकहरुले तीनै वर्षका चलचित्र हेरी परिणाम विकास बोर्डमा बुझाइसकेका छन्।

बोर्डले अर्को वर्षदेखि पुरस्कारको राशी बढाएर प्रति विधा ५१ हजार रुपैयाँ प्रदान गरिने निर्णय समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell