PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'कबिर सिंह' को नेपाली रिमेक चर्चाबारे हरिहर भन्छन् : अफर आएको हो



मन्दिरा खत्री

'कबिर सिंह' को नेपाली रिमेक चर्चाबारे हरिहर भन्छन् : अफर आएको हो

काठमाडौं : तेलगु फिल्म ‘अर्जुन रेड्डी’ को आधिकारिक कपी राइट्स लिएर निर्माण गरिएको बलिउड भर्सन 'कबिर सिंह'ले भारतीय बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ। भारतमा मात्र नभएर नेपालमा पनि कबिर सिंहको क्रेज बढ्दो छ। आक्रमक स्वभावका युवा र सामान्य युवतीको प्रेमकथामा आधारित फिल्म दुई साता भइसक्दा पनि नेपाली सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ।

यसैबीच आइतवार नेपाली रजतपटमा एउटा हल्ला चल्यो- 'तेलुगु फिल्मको आधिकारिक रिमेक कबिर सिंहको पनि नेपाली रिमेक बन्ने भयो।'

रिमेकमा युवा ज्योतिष हरिहर अधिकारीको अभिनय रहने चर्चा चल्यो। यद्यपि, यसबारे औपचारिक घोषणा हुन बाँकी छ। तलेगु फिल्म अर्जुन रेड्डी निर्माण गरेको कम्पनी भद्रकाली पिक्चर्ससँग कपी राइट्स खरीदका बारेमा नेपाली कम्पनीले सम्झौता गरिरहेको बताइएको छ। यद्यपि, कुन कम्पनी मार्फत् अधिकार खरिद गर्ने प्रयास भएको हो भन्ने चाहिँ सार्वजनिक गरिएको छैन।

युवा ज्योतिषका रुपमा परिचित हरिहर अधिकारीले फिल्म शुभ लभबाट नेपाली रजतपटमा प्रवेश गरेका थिए। प्रदर्शन भएको एक सातामा नै सिनेमा हलबाट उत्रिएको शुभ लभका अधिकारीको चर्चा जसरी एकाएक सेलाएको थियो त्यसरी नै कबिर सिंहको रिमेकसँगै फेरि उनी चर्चमा रहे।

यिनै हल्लाबीच मन्दिरा खत्रीले हरिहर अधिकारीलाई केही प्रश्न सोधिन् -

 

कबिर सिंहको नेपाली रिमेकमा तपाईँले अभिनय गर्ने चर्चा छ नि?

भारतबाट निर्माताहरु आएपछि मात्र कबिर सिंहको नेपाली रिमेकको अफिसियल घोषणा हुनेछ। भद्रकाली पिक्चर्सको कपी राइट्स किनिसकेपछि कुरा भएको थियो मसँग। फिल्म राम्रो बन्छ भने अभिनय गर्छु भनेर मैले भनेको थिएँ।

 

बलिउड फिल्मको झै नेपाली रिमेकको स्टोरी पनि एउटै हुन्छ कि?

बलिउड फिल्म कबिर सिंह र नेपाली रिमेकको स्टोरी एउटै हुन्छ। तर, क्लाइमेक्समा हामीले केही वर्क वाउट गर्न सक्छौं। तलेगु फिल्म अर्जुन रेड्डी र हिन्दी कबिर सिंहको क्लाइमेक्समा केही परिवर्तन छ। त्यस्तै नेपाल रिमेकमा पनि केही परिर्वतन गरिने कुरा भएको छ।

 

कबिर सिंहमा इन्टिमेट सिनहरु धेरै छन्। त्यस्तो आक्रमक पात्रको अभिनय गर्नुको कारण?

इन्टिमेट सिनको कुरा गर्दा अहिले हाम्रो समाज निकै परिर्वतन भइसकेको छ। अहिलेको युवा पुस्ता र समाजले हेर्ने फिल्म के हो? अभिनय के हो? भन्ने कुरा राम्ररी बुझ्नु भएको छ। तर, कबिर सिंहमा मदिरा सेवन गरेको दृश्यहरु समावेश भए पनि अहिले त्यो समान्य हो। फिल्म फिल्म नै हो र रियालिटी रियालिटी नै। मान्छेले बुझ्छन् होला।

 

नेगेटिभ रोलले ज्षोतिष पेशामा असर त पर्दैन?

शुभ लभ मेरो डेब्यु फिल्म थियो। रियल लाइफमा मैले ज्योतिष पेशा अँगालेको छु र अभिनयमा पनि ज्योतिषको रोलमा गर्ने मौका पाएकोले गर्दा नै मैले शुभ लभमा अभिनय गरेको थिएँ।

म सोच्थेँ कि मैले नेगेटिभ रोलमा काम गरेँ भने चिना देखाउन आउने मान्छेहरु माथि नराम्रो प्रभाव पर्छ। अब मलाई लाग्दैन कि मैले फिल्ममा गरेको नकारात्मक भूमिकाले मेरो ज्योतिष पेशामा केही असर गर्छ।

 

यो फिल्मको आधिकारिक घोषणा चाहिँ कहिले हुन्छ?

अहिले म आफ्नै ज्योतिष पेसामा नै व्यस्त छु। अब भारतबाट निर्माताहरु आएपछि अर्को महिनातिर पत्रकार सम्मेलन आयोजना गरेर फिल्मको आधिकारिक घोषणा गरिने भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell