PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भोजपुर भिडन्तमा मारिने को हुन? दशकपछि बल्झिएको द्वन्द्वमा मारिए सुरक्षाकर्मी



सविन ढकाल

भोजपुर भिडन्तमा मारिने को हुन? दशकपछि बल्झिएको द्वन्द्वमा मारिए सुरक्षाकर्मी

काठमाडौँ : भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच भिडन्त भएको छ। भिडन्तमा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ। एक प्रहरी जवान घाइते भएका छन्।

भोजपुर नगरपालिका -७ स्थित पाँचधारे होटल नजिकै गोली हानाहान भएको हो।

मृत्यु हुनेमा प्रहरी जवान सञ्जीवकुमार राई रहेका छन्। यस्तै विप्लव समूहका नीरकुमार राईको मृत्यु भएको नेपाल प्रहरीका एसपी रमेश थापाले जानकारी दिए।

मृत्यु भएका जवान राईको कोखमा गोली लागेको छ। गोली लागेका जवानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक प्रहरी जवान राई घुमुवा प्रहरी हुन्। उनी खोटाङका रहेको बुझिएको छ।इलाका प्रहरी कार्याल लेटाङमा उनको दरवन्दी थियो। 

त्यस्तै गोलीले घाइते भएका प्रहरी जवान सोमनाथ भट्टराईको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ।

यस्तै गोली हानाहानमा मृत्यु भएका नीरकुमार यसअघि चन्द नेतृत्वको पार्टीको ओखलढुङ्गा जिल्ला सेक्रेटरी थिए। उनी पार्टीमा प्रशान्तका नाममा चिनिन्थे। अहिले उनको जिम्मेवारी खुलेको छैन। उनी पनि भोजपुरकै स्थायी बासिन्दा हुन्।

कसरी भयो भिडन्त?

बुधवार बिहानै बजार क्षेत्रमा विप्लव समूह कार्यकर्ता आएको जानकारी प्रहरीलाई थियो। सूचनाको आधारमा प्रहरीले सर्च गरिरहेको थियो। सर्च गर्ने क्रममा प्रहरी र विप्लव समूहबीच जम्काभेट भयो।

प्रहरीको दावी अनुसार जम्काभेटमा विप्लवका कार्यकर्ताले फायर खोलेका थिए। त्यसपछि प्रहरीले जवाफी फायर गरेको हो।  

‘प्रहरीलाई विप्लव समूह आएको सूचना थाहा थियो। फलो गर्ने क्रममा प्रहरीसँग जम्काभेट हुँदा उनीहरुले फायर खोलेपछि जवाफी फायरिङमा दुई पक्षतिर नै मानवीय क्षति भएको हो,' एसपी थापाले भने।

यसअघि पनि भोजपुरकै विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको प्रहरी कारबाहीमा मृत्यु भएको थियो। यस्तै, असार ५ गते सर्लाहीमा प्रहरीको गोली लागेर विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो। सरकारले विप्लव समूहका गतिविधलाई प्रतिबन्ध लगाएपछि विप्लवका कार्यकर्ता मारिएको यो तेस्रो घटना हो।

प्रहरीतर्फ भने यो पहिलो क्षति हो।

विस्तृत शान्ति सम्झौतापछि विभिन्न राजनीतिक आन्दोलनबाहेक सुरक्षा निकायमा भएको यो पहिलो मानवीय क्षतिसमेत हो।

यसअघि सोलुखुम्बामा पनि विप्लव समूहले प्रहरी चौकी कब्जा गरेको अपुष्ट खबर सार्वजनिक भएको थियो। उक्त घटनाको पछि खण्डन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell