PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रधानमन्त्रीद्वारा त्रिवि उपकूलपति कार्यालय उद्‍घाटन



पहिलोपोस्ट

प्रधानमन्त्रीद्वारा त्रिवि उपकूलपति कार्यालय उद्‍घाटन

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति निर्माणको पक्षलाई ध्यान दिएर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन्।

विश्वविद्यालय सभाको ६० औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राविधिक वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिन आह्वान गरे। प्रधानमन्त्री ओलीले भने, 'शिक्षण संस्थालाई पवित्र मन्दिरका रुपमा विकास गर्नुपर्छ। जायज कुराका लागि कसैसँग शिर झुकाउनु पर्दैन। नाजायज कुरा कसैले पनि गर्नु हुँदैन। अनावश्यक कुराका लागि कुनै प्रभावमा नपर्नुहोला। त्यस्तो लबिङ सुनिँदैन।'

त्रिविका कुलपतिसमेत रहेका उनले त्रिवि विश्वका उत्कृष्ट एक हजारभित्र र एशियामा उत्कृष्ट ३०० भित्र पर्न सफल भएकामा खुशी व्यक्त गर्दै बजारले माग गर्ने प्रकारको जनशक्ति उत्पादनमा त्रिविले आफूलाई केन्द्रित गर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले भने, 'शिक्षा क्षेत्र सामाजिक परिवर्तन र आवश्यकताअनुरुप प्रभावित हुँदै आउने भएकाले वर्तमान समयमा शिक्षाको तौरतरिका, माध्यम र शिक्षा प्रवाहका क्रममा व्यवस्थापन गर्नुपर्ने शैक्षिक वातावरणप्रति हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ।

प्रधानमन्त्री ओलीले नवनिर्मित त्रिवि उपकुलपतिको कार्यालय उद्घाटन पनि गरे। सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयको नेतृत्वले आफ्ना कमजोरी र त्रुटिको समीक्षा गर्नुपर्ने बताउँदै सङ्घीय र प्रादेशिक विश्वविद्यालयको वर्गीकरणपछि नयाँ ढङ्गले अघि बढ्नुपर्ने आग्रह गरे। मन्त्री पोखरेलले भने, 'विश्वविद्यालय अब हिजोको तरिकाबाट चल्दैन। यो प्रतिस्पर्धी, सक्षम र उत्पादनशील जनशक्ति उत्पादनमा लाग्नुपर्छ।'

विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँले त्रिविले आफ्ना उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रतिस्पर्धी, अनुसन्धानमुखी, उत्पादनमुखी बनाउन समयानुकूल पाठ्यक्रम निर्माण र परिमार्जनका लागि प्राथमिकता दिएको बताए। शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले त्रिविमा व्याप्त रोगको उपचारका लागि दरो इच्छाशक्ति र निर्भीकता बोकेको व्यक्तिको खाँचो छ भनिन्। बैठकमा रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको ५७ औँ ग्रेस लिष्ट पारित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell