PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

उत्तर कोरियाको नयाँ संविधानमा किम जोङ उनलाई राष्ट्र प्रमुखको मान्यता



उत्तर कोरियाको नयाँ संविधानमा किम जोङ उनलाई राष्ट्र प्रमुखको मान्यता
फोटो : KCNA

प्योङयाङ: किम जोङ उन उत्तर कोरियाको राष्ट्र प्रमुख हुने लगभग पक्का भएको रोयटर्सले जनाएको छ।

उत्तर कोरियाको नयाँ संविधानमा पहिला 'उत्तर कोरियाका सर्वोच्च नेता' का रुपमा रहेका किमलाई राष्ट्र प्रमुखको पद दिने प्रावधान सहितको कानून पारित भएको दाबी गरिएको छ।

किमको राष्ट्र प्रमुख बन्ने योजनालाई अमेरिकासँगको वार्ताको तयारीको रुपमा हेरिएको बताइएको छ।

उत्तर कोरियाको नाएनारा स्टेट पोर्टलबाट सार्वजनिक गरिएको नयाँ संविधानमा सन् २०१६ मा गठन भएको स्टेट अफेर्स कमिसनको अध्यक्षका रुपमा रहेका किम कोरियाली जनताको सर्वोच्च नेताका रुपमा रहेको र अब उप्रान्त उनी राष्ट्र प्रमुखका साथै उत्तर कोरियाली सेनाको कमान्डर इन चीफ समेत रहने व्यवस्था गरिएको छ।

यस अघिको संविधानमा किमलाई 'सर्वोच्च नेता' का रुपमा राखिएको थियो। सो संविधान अन्तर्गत टिटुलर पार्लियामेन्टका अध्यक्ष नै उत्तर कोरियाको राष्ट्र प्रमुखको हैसियतमा रहेका थिए।

दक्षिण कोरियाको सिओलमा रहेको युङनाम विश्वविद्यालयका प्रोफेसर किम डङ यप भन्छन्,' उत्तर कोरियाको राष्ट्रपति बन्नु किम जोङ उनको सपना थियो। आज उनले त्यसलाई साकार गरेका छन्।'

नयाँ संविधानले उत्तर कोरियालाई 'आणविक राष्ट्र' का रुपमा नै प्रस्तुत गरेको छ। अमेरिका र उत्तर कोरियाबीच यही आणविक कार्यक्रमलाई लिएर विवाद भइरहेको छ।

फेब्रुअरीमा हनोइ वार्ताका क्रममा किमले उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न राखेको प्रस्तावलाई ट्रम्पले अस्वीकार गरेका थिए। प्रतिबन्ध हटाउने विषयमा सहमति नभएपछि बिना कुनै सहमति वार्ता टुंगिएको थियो।

गत वर्षको जुन महिनामा सिंगापुरमा भएको पहिलो शिखर वार्ताका क्रममा दुई नेताबीच कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा आणविक निशस्त्रीकरण गर्ने सहमति भएको थियो। यस्तै उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धहरु फुकुवा गर्नेसमेत सहमति भएको थियो। तर पछि, दुवै राष्ट्रले एकअर्कासँग गरेको सहमति पालना नगरेको आरोप लगाउँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell