PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

'आउ मेरा प्यारा भाइ बहिनी हो…' ‘वासुदेव ‘मुनाल’को नाममा बाल प्रतिभा पुरस्कार प्रदान



पहिलोपोस्ट

'आउ मेरा प्यारा भाइ बहिनी हो…' ‘वासुदेव ‘मुनाल’को नाममा बाल प्रतिभा पुरस्कार प्रदान

रेडियो प्रस्तोता, गीतकार, संगीतकार एवं कवि समेत रहेका वासुदेव मुनालको निधन भएको दुई वर्ष पुग्न लाग्यो। घाँटीको क्यान्सरका कारण बितेका उनको बिहीवार ७० औं जन्मजयन्ती थियो। रेडियो नेपालमा बाल कार्यक्रम एवं विभिन्न साहित्यिक कार्यक्रम निर्माण तथा संचालनका कारण लोकप्रिय छन्।

'आउ मेरा प्यारा भाइ बहिनी हो, रेडियो नजिक आउ' भनेर कार्यक्रम सुरु गर्ने उनले ३४ वर्ष रेडियो नेपालमा बिताए। क्यान्सरपछि बोल्न नसकेका उनको उपचारकै क्रममा निधन भयो र यो वर्षदेखि उनको स्मृतिमा बाल प्रतिभा पुरस्कार प्रदानको थालनी भयो।

भारतीय बाल गायन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो स्थान हासिल गरेका आयुष केसीलाई ‘बासुदेव ‘मुनाल’ बाल प्रतिभा पुरस्कार २०७६’ प्रदान गरिएको हो। विहीबार राजधानीमा एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २१ हजार नगदसहित आयुषलाई पुरस्कृत गरे।

मन्त्री विष्टले वासुदेव मुनालले बाल साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरे। उनले रेडियो नेपालमा मुनालको कार्यक्रम र गीत सुनेर हुर्किएको सुनाए।

जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानन्यायाधीश तथा वासुदेव मुनाली बालसखा सुशीला कार्की पनि उपस्थित थिइन्। 

मुनालका छोरा मोहित मुनालले पिताकै इच्छा अनुरुप बाल प्रतिभा पुरस्कार प्रदान सुरु गरेको बताए। भने,'उहाँको धेरै सपनाहरुमध्ये एउटा सपना पूरा गरेका छौं। आउने पुस्ताले वासुदेव 'मुनाल'लाई सम्झन अरु कार्यक्रमहरु पनि गर्नेछौं।'

कार्यक्रममा स्व. मुनालको बारेमा पत्रकार जीवन पराजुलीको निर्देशनमा बनेको भिडियो बायोग्राफी पनि देखाइएको थियो, जहाँ रक्षामन्त्री इश्वर पोखरेल, हास्य कलाकार हरिवंश आचार्य, गीतकार डा. कृष्णहरी बराल, कलाकार दीपकराज गिरी, सञ्चारकर्मी नवराज लम्साल, श्रम मन्त्री गोकर्ण विष्टलगायतले उनले रेडियोमार्फत् बाल साहित्य र गायन क्षेत्रमा पर्‍याएको योगदानको बोलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell