PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सप्तकोशीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका सबै ढोका खोलिए



पहिलोपोस्ट

सप्तकोशीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका सबै ढोका खोलिए
तस्विरः अजितकुमार झा/रासस

विराटनगरः सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ। लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिए।

नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी निरीक्षक दाहालले बताए। नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ। हिजो शनिबार तीन लाख १८ हजार ६५० क्यूसेक पानी बगिरहेको थियो।

यो वर्ष सप्तकोशीमा २४ हजार क्यूसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ। एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो। बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन्। पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताइएको छ।

 

सहयोग जुटाउन प्रदेश प्रमुखको आग्रह

यसैबीच प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखि परेको अविरल वर्षा र त्यसले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन्।

प्रदेश प्रमुख तुम्बाहाङले वर्षा र पहिरोले ज्यान गुमाएका, बेपत्ता भएका र घरबारविहीन परिवारजनमा शोक प्रकट गर्दै त्यस्ता परिवारमा मानवीय संवेदनशीलता देखाउँदै सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन्।

बाढी, पहिरोले प्रदेश नं १ उच्च जोखिममा परेको भन्दै उनले पीडित परिवारलाई तत्कालै राहत र सहयोग जुटाई मानवीय कार्यमा जुट्न सबै पक्षसँग आग्रह गरेका हुन्। पहाडी क्षेत्र पहिरोको चपेटामा र तराई डुबानले प्रभावित भएको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रका सबैमा उच्च सतर्कता अपनाउन सुझाव दिएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell