PahiloPost

Aug 20, 2019 | ३ भदौ २०७६


बाबाको विचित्र संसार


पहिलोपोस्ट

बाबाको विचित्र संसार

  • निर्मलकुमार आचार्य -

बिहे भएको वर्ष दिन पनि नभएकी वधूले आफ्ना श्रीमानलाई ‘बाबा’ सम्बोधन गरेको सुन्दा कस्तो–कस्तो लाग्ने नै भयो। भन्नेलाई छोटो, मिठो, आत्मीय लागेपछि सुन्नेलाई जे जस्तो लागे पनि त्यसको के अर्थ रहन्छ र!

छोराछोरी भइसकेकाले ‘बाबा’ बोलाउँदै आएकै हुन्। बच्चाबच्ची नहुँदै बोलाइएको सन्दर्भमा पनि अनर्थ भयो भन्न मिल्दैन। रामेका बावु, लक्ष्मीका बावु वा सानेका बावु अथवा पुन्टेका बा जस्ता सम्बोधन पुरानिएकाले हुनुपर्छ, बूढो/बुडु भन्नुसट्टा आदरसूचक ‘बाबा’ भन्नु उपयुक्त मानियो।

जन्म दिने बालाई मात्रै होइन, बाका बालाई पनि ‘बाबा’ भन्ने चलन छँदैछ। ‘बाबा’ले ससाना छोराछोरी अथवा नाति, नातिना पनि बुझाउँछन्। यसरी माथिल्ला पुस्तादेखि पछिल्ला पुस्तासम्म सदाबहार बन्न सफल बाबालाई श्रीमानको हकमा प्रयोग गरिँदा अचम्म किन मान्नुपर्‍यो! बरु हाम्रो समाजमा ‘बाबा’को ठूलो महिमा रहेको बुझ्न चाहनेलाई यसले गतिलै खुराक जुटाइदिएको छ।

आधुनिक कालमा मात्रै होइन, बाबाको अस्तित्व उहिलेदेखि रहेको हो। तब त झारखण्ड, भारतमा पर्ने पुराणकालीन प्रसिद्ध बाबाधाम होस् वा बनारसको विश्वनाथ बाबा अथवा काठमाडौंको पशुपतिनाथ बाबा, सबैको महत्व दिनानुदिन बढ्दो छ। बाबा महाकाल (उज्जैन), बाबा गोरखनाथ, बाबा कालभैरव, बाबा घुश्मेश्वर (घुइसरनाथ), अमरनाथ बाबा, बाबा पिण्डेश्वर, बाबा सिद्धेश्वर, बाबा नीलकण्ठ, बाबा लङ्गुर, बाबा मठारदेव, खाटु श्याम बाबा, डीह बाबा, जंगम बाबा आदि कैयन् बाबा नाम तथा धामले पुजिएका छन्।

भगवान्, जोगी, संन्यासी, साधु, महात्मालाई बाबा भनिएको पाइन्छ। भगवान् शिव समेत भोले बाबाका नामले प्रसिद्ध छन्। शिवपुरी बाबा, गलेश्वर बाबा, खप्तड बाबा, डिल्लीराम बाबा, गोखले बाबा, वासुकि बाबा, श्यामचेतन बाबा, अघोरी बाबालाई देख्ने, जान्ने र सुन्नेका कथा बडा रोचक छन्। दक्षिणतिरका शिरडी र पुट्टवर्तीका साईबाबा त जगप्रसिद्धै भए। नेपालकै धर्तीमा पनि सयौं वर्ष पहिले यस्तै नामुद चमत्कारी औलिया बाबा भएका थिए। सेनवंशी शासनकालका औलिया बाबा हिन्दु र मुसलमान दुवैका औधि प्यारा थिए। सुदूर पश्चिमतिर घटाल बाबा, दाङका बगार बाबा, बेहेडा बाबा, नवलपरासीका मदार बाबा, चितवनका विक्रम बाबा, झापाका डाङ्गे्र बाबा लगायत विविध ठाउँमा थरीथरीका बाबाले धुनी जमाएका छन्।

पाइलट बाबा, नेपाली बाबा, कालीबाबा, कुकुर बाबा, काठे बाबा, टोड्के बाबाका नाम नसुन्ने बिरलै होलान्। नागा बाबा त दुनियाकै लागि अचम्मकै पात्र हुन्। ब्रह्मा बाबा, मस्तराम बाबा, बाबा जयगुरुदेव, घासीराम बाबा, बाबा कालीवीर, बाबा गङ्गाराम, बाबा नागार्जुन, दूधाधारी बाबा, फलाहारी बाबा, बर्फानी बाबा, मौनी बाबा, मोल्वी बाबा, तान्त्रिक बाबा, रामदेव बाबा के के बाबा, के के बाबा! सबैका नाम टिप्दै जाने हो भने ‘काम कुरो एकातिर कुम्लो बोकी अन्तैतिर’ भएझैं ‘बृहत् बाबा नामावली’ पो तयार हुन पुग्नेछ।

नेपाल र भारतमा बाबाको ठूलो महिमा रहेको कुरो कसैले बखानिरहनु पर्दैन। नाम, काम र दामसँगै बदनाम हुने बाबा पनि त्यत्तिकै छन्। आशाराम बाबा, बाबा रामपाल, बाबा रामरहिम, निर्मल बाबा, बाबा मनमोहनदास, ओम बाबा, भूकम्प बाबा, त्रिशूल बाबा जस्ता दुष्कर्मी, फटाहाले बाबाको महिमालाई शूलीमा चढाउँदै आएका छन्।

को सच्चा बाबा, को कच्चा बाबा र को लुच्चा बाबा? चिन्ने हुती जो कोहीसित हुँदैन नै। तब त सक्कलीको खोजीमा नक्कली बाबाको शिकार भएकाहरु ‘हे बाबा !’ भनी कन्चट तताउँदै खप्पर समाउन पुगेकाहरु धेरै छन्। ढोंगी र पाखण्डी बाबाका चर्तिकलाले बाबाको संसार धमिलिएको छ। दुराचारी, व्यभिचारी, बलात्कारी बाबाको रजगजमा चटके, चालु, चाटुकार, चतुर र चनमते चमत्कारी बाबा बढी चम्किएका छन्।

त्यस्ता भगुवाधारी दुई नम्बरी तथा दश नम्बरी बाबाले जीउज्यान लगाई जस्तासुकै कर्तुत गरे ता पनि अहिलेसम्म ओज नघट्नु चाहिं ‘बाबा’को वैशिष्ट्य हो, अन्यथा बराजु, बाजे र बावुलाई प्रयोग हुँदै आएको ‘बाबा’ भाषिक इतिहासमै साँघुरिन पुग्थ्यो, ससाना केटाकेटीका निम्ति प्रयोग हुँदैनथे र ‘बाबा’ भन्दै जीवनसाथीलाई सम्बोधन गर्ने ह्याउ त किमार्थ कसैले देखाउने थिएन।

सक्कली बाबा भेट्न गाह्रो भए झैं बाबा शब्दको मुहान खोज्ने काम पनि सजिलो छैन। बाबा फारसी शब्द भएको जनाउने शब्दकोश त छँदैछन्, वप् धातुबाट वप्र, वप्पा, बब्बा हुँदै बाबा शब्द बन्नपुगेको जनाउने पनि छन्। संस्कृत शब्दकोशमा आँखा टट्याउन्जेल खोज्दा पनि बाबाको दर्शन पाइँदैन। संस्कृतका नातेदार भाषामा चाहिँ ‘बाबा’ टन्नै छन्। फारसी र यससम्बद्ध भाषाभाषीले बाबाको महिमा बढाएका छन्। संस्कृत र फारसीसित टाढाटाढा अर्थात् गोरु त के बोको बेचेको साइनो समेत नभएका पश्चिमा तथा उत्तरी भाषामा पनि बाबाले आसन जमाएको देख्दा संसारभरि फिंजिएको बाबाको चमत्कार मान्न करै लाग्छ।

‘अली बाबा र चालीस चोर’को प्रसिद्ध बगदादी कथा उदाहरणीय बनेको छ। व्यक्ति विशेषका नामले समेत अर्थ उजिल्याएका छन्– बाबा लाखुराम, बाबा खडक सिंह, डा. बाबासाहेब अम्वेडकर आदिको सिलसिलामा घानाका २५ वर्षीय खेलाडी ‘बाबा अब्दुल रहमान’लाई पनि सम्झनै पर्छ। नेपालमा पनि बाबाजडित नाम भएका कम छैनन्। दुनियाभरि फिंजिएर रहेका कैयन् व्यापारिक, व्यावसायिक, औद्योगिक कम्पनीका उत्पादन, वस्तु तथा सेवा प्रवाहमा ‘बाबा’ ले पाएको सम्मान विचित्र छ। चीनको ‘अली बाबा समूह’, भियतनामस्थित हो चि मिन्ह सहरको ‘बाबा’ज किचेन’, थाइल्यान्डको ‘बाबा वीच क्लव’, सोल (दक्षिण कोरिया) को बाबा फेसन, न्यूयोर्क, इष्ट ह्याम्पटनको ‘बाबा कुल क्याफे’ लगायत युरोप, अमेरिका, जापान, अस्ट्रेलिया आदिमा बाबाको ठूलो रौनक छ। एउटा पजल गेम (दिमाग खियाउने खेल/प्रहेलिका)को नाम समेत बाबा छ। नेपालमा बाबा ओमवीर सिंह बस्न्यात पुरस्कार, बाबा बोर्डिङ स्कूल, बाबा गोकर्णेश्वर यातायात, बाबा केवल नेटवर्क, बाबा चलचित्र मन्दिर मात्र होइन, डिस्टिलरी, मासु तथा मम पसल आदिमा पनि ‘बाबा’ अपरिहार्य ठानिएका छन्।

भन्छन् नि, संसारका सबैजसो भाषामा जननीसूचक शब्दभित्र आमाको ममतास्वरुप ‘म’ रहेको हुन्छ। ठ्याक्कै त्यस्तै, जनकसूचक शब्दमा बावुको वात्सल्यस्वरुप ‘ब’ रहेको छ। दृष्टान्तका निम्ति उर्दू–अब्बु, अब्बा/बालिद, हिन्दी–पापा/बाबा, बङ्गाली–बाबा/अब्बा, अङ्गे्रजी–बाबा/फादर, फारसी–बाब्बा, केन्या–वब्बा, अफ्रिका–बादेर/बाबा, हिब्रू–अब्बा, चीन (मण्डरिन)–पपा/बाबा, टर्की–बाबा, मलय–बापा, इन्डोनेसिया–बापा, ल्याटिन–बापा/पापा, इटाली–पापा/बावू, आदिलाई लिन सकिन्छ।

नेपालभित्रैको दृष्टान्त लिनुपर्दा नेपाली–बाबु/बाउ/बुवा/बाबा/पिता, चेपाङ–बाबा, थारु–बाबा, दनुवार–बाबा, नेवारी बा/बाबा, भोजपुरी–बबुवा/बाबा, मैथिली–बाप/बाबा, अवधी–बाबा/पापा, राई–पापा/आपा, लिम्बू–पाप्पा, लेप्चा–आबो, सुनुवार–आफ्को आदि। कदाचित् ‘ब’ नरहेको भए ‘ब’को प्रतिनिधित्व गर्दै पवर्ग (प, फ, ब, भ, म)मध्ये कुनै एक वर्ण त्यहाँ रहेको हुन्छ, चाहे त्यो अङ्ग्रेजीको ‘फादर’ होस् वा क्यानाडाको ‘पापा’ अथवा नर्वेको पप्पा।

फ्रान्सतिर बाबाको माने ‘रम र चिनीको चास्नीमा डुबाइएको केक’ पनि हुँदोरहेछ। सन् १८१३ देखि प्रचलित बाबालाई फ्रान्सेली शब्द भनिएको छ, जुन पोलिसबाट आएको र जसको अर्थ वृद्ध महिला समेत जनाइएको छ।

युक्रेनमा हजुर आमालाई बाबा भनिँदोरहेछ। अधिकांश भाषामा बाबाको अर्थ बा, हजुरबा छ। अङ्ग्रेजीमा नेपालीमा झैं कुनै विशेष, प्यारो व्यक्तिलाई सम्बोधन गर्दा पनि बाबा भनिन्छ। कसैका नामअगाडि बाबा जोडेर सम्बोधन गर्ने चलन, पूर्व–पश्चिमसहित इजरायलतिर पनि रहेछ।

बाबाबाटै बाबू भएको भारतीय विद्वान् जनाउँछन्। बाबू/बाबु नेपालमा पनि चल्तीमा छ तर अर्थ उही होइन। ‘हेडक्लर्क’ अथवा हाकिमलाई हिन्दीमा बाबू भनिन्छ, माया गरेर छोराछोरी आदिलाई वा आफूभन्दा साना उमेर भएका र देवरलाई समेत सम्बोधन गर्दा ‘बाबू’ भन्ने चलन यहाँको हो। बाबुसाहेब दुवैतिर छन्। पितासूचक बाबुल हिन्दी, उर्दूमा बढी प्रचलित छ भने नेपालीमा ‘बाबै’को माया गहिरो छ। रुसी, युक्रेनी आदि भाषामा जस्तो नेपालमा हजुरआमालाई ‘बाबा’ भनिएको पाइँदैन।

लोक साहित्यमा बाबु (पिता) को अर्थमा बाबाको प्रयोग अत्यधिक छ। ‘ऐया बाबा घैया पाक्यो चिउरी कुटाइदेऊ न–चिउरी खाँदा दाँत दुख्छ, दूधले भिजाइदेऊ न’, ‘हल्लेरी बाबा हल्लेरी !’, ‘केको सुठो, केको सुठो, अदुवाको सुठो–खान्न आमा, खान्न बाबा, लुरे पोइको जुठो’, ‘बाबाज्यूको सिमखेत सेरो रजौटाकै दर्ता–तुलो जोखौं, पाथी भरौं, कसको माया बर्ता’, ‘सानै थिएँ, मेरा बाबा, पाल्यौ हल्लाई हल्लाई–ठूली भएँ मेरा बाबा, दियौ कल्लाई कल्लाई’ आदि नमुना हुन्। नेवारी भाषाको प्रसिद्ध लोकगीतमा ‘राजामति कुमति जिके वोसा पिरती–हाय बाबा राजमतिचा!’ छ।

मैथिलीमा कन्यादानका बेला गाइने लोकगीतको अंश ‘ज्यही बाबा हो कनियाँ कैसै सेवे निरभेद है’ रहेको छ। ‘बाबा के रोवले गंगा बढि अइली’ भोजपुरी लोकगीतको पङ्क्ति हो भने अवधीमा यस्तो छ–‘काहे के जाबौ नाती काशी तो काहे बनारस–तोरे बाबा हैं विद्वान् घरहीं पढि लेहू।’

जहाँसुकै बाबाको चर्चा धेरै तर बाबीको नामनिसानै पाउन कठिन! साधुको साधुनी/साध्वी भएजस्तै बाबाको ‘बाबी’ हुने रहेछ तर यो शब्दकोशमै सीमित छ। अनसूया, अपाला, सीता, गार्गी, योगमाया आदि स्वनामधन्य नारीको परम्परामा महिला सन्त हुँदैनथे भन्नु झन् महाझुट हुनेछ तर बाबी नामधारी कुनै नारी फेला पार्न नसकिनुले रिक्तताबोध गराउँछ। महिला साधुका सम्बन्धमा उभयलिङ्गी जनाई बाबा शब्दै प्रयोग हुनेगर्थ्यो भने पनि उदेकलाग्दो कुरो, कतै भेटिँदैन।

आजको ‘डिजिटल’ युगमा काखे र हाते यन्त्रको सहयोगले ‘गुगल बाबा’को शरण पर्दा पनि सोचेजस्तो परिणाम हात लागेन। हिन्दु र मुसलमान साधु/फकिरहरु ‘बाबा’ कहलाएका ठाउँमा कतै ‘बाबी’ दृष्टिगोचर भएनन्। फारसी बाबाबाट बाबी बनेको भनिए ता पनि सबैतिर उही अर्थ छैन।

मलेसियाली भाषामा बाबीको अर्थ सुँगुर हुँदोरहेछ। पश्चिमा मुलुकमा प्रेमी, प्रेमिकाले एक अर्कालाई बाबी भनी माया दर्शाउने रहेछन्। बहाई धर्मका अगुवा ‘बाब’का आधारमा उनका अनुयायी बाबी कहलाएको पनि थाहा लाग्छ। बबीलाई बाबीकै रुप मान्ने हो भने दुनियामा धेरैतिर बाबी नाम वा थर भएकाहरु रहेका देखिन्छन्। ‘बबी’ कुनै बेला शानदार प्रदर्शनमा रहेको हिन्दी चलचित्र पनि हो, नामको मोहले हो वा के हो, यही नाममा नेपाली चलचित्र समेत बनेको छ। झन्डै तीन दशकअघि चर्चित अभिनेत्री परवीन बाबीलाई नचिन्ने त कमै होलान्। ‘बेब’लाई समेत बाबीको प्रतिरुप मान्ने हो भने यसको धूम बेग्लै छ।

‘हरे बाबा! कत्ति बाबा–बाबीको गन्थन गरिरहेको’ पढ्दापढ्दा कसैलाई पट्यार लाग्नसक्छ।

‘कुरोको चुरो नपहिलिएसम्मन् त खुरन्धार लाग्नैपर्‍यो नि बाबै!’ कोही बुझ्झकी बनी थुम्थुम्याइदिन पनि सक्छन्।

तर, साँचो कुरो चाहिँ के हो भने बाबाको कृपाविना बबुरोलाई बाबाको साङ्गोपाङ्ग सजिलै खुट्याउन सकिएला जस्तो फिटिक्कै लाग्दैन!

acharya.nik@gmail.com



बाबाको विचित्र संसार को लागी १ प्रतिक्रिया(हरु)

Dr. Eka Ratna Acharya [ 2019-07-17 19:35:04 ]
निकै समसामयिक अनुसधानात्मक यथार्थपरक लेख पढ्न पाइयो। आदरणीय दाजु तथा गर्ग गोत्री आचार्य बंश (नेपाल सन्दर्भमा)का कुलदीप निर्मल कुमार आचार्यज्यू लाइ हार्दिक बधाई तथा धन्यवाद।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट