PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ह्वाइट हाउस कब्जाको चेतावनी दिने 'लिटल निकोलस'लाई कसले, किन ल्यायो नेपाल?



विधुर ढकाल

ह्वाइट हाउस कब्जाको चेतावनी दिने 'लिटल निकोलस'लाई कसले, किन ल्यायो नेपाल?

काठमाडौं : देशमा आन्तरिक द्वन्द्व चर्किरहेका बेला दक्षिण अमेरिकी मुलुक भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा चार दिने नेपाल भ्रमण गरेर आज फर्किँदैछन्। नेपालमा रहँदा उनले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्षसहितका नेताहरुसँग भेट गरे।

११ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका गुयराले ने क पाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुसँग आइतवार र सोमवार भेटवार्ता गरे।

सोमवार संसद भवन वानेश्वर पुगेको टोलीले ने क पाका सांसदहरुसँग पनि छुट्टै छलफल र अन्तर्क्रिया गर्‍यो। सो अन्तर्क्रियामा गुयराले पछिल्लो समय भेनेजुएलामा देखिएको राजनीतिक संकट तथा राजनीतिक परिस्थितिको बारेमा जानकारी गराएका थिए।

'उहाँहरु यस्तै देश (कम्युनिस्ट नेतृत्वमा रहेका देश)हरुको भ्रमणमा हुनुहुदो रहेछ। उहाँहरुसँग सामान्य छलफल भएको हो। उहाँहरुले आफ्नो देशको अवस्थाका बारेमा जानकारी गराउनु भयो। हामीले हाम्रो देशको अवस्थाको बारेमा जानकारी गरायौँ,' अन्तर्क्रियामा सहभागी ने क पाका स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेल 'सुनिल'ले पहिलोपोस्टसँग भने।

सन् २०१९ मा दोस्रो पटक राष्ट्रपतिको रुपमा मादुरोले सपथ लिएसँगै भनेनेजुएलामा राजनीतिक संकट चुलिएको छ। विपक्षी दल तथा अमेरिकालगायतका पश्चिमा मुलुकहरुले निर्वाचनलाई धाँधलीपूर्ण भन्दै परिणाम अस्वीकार गर्दै आएका छन्।

२०१४ मा मादुरो सत्तामा आएसँगै भएको निर्वाचनमा विपक्षी दलले राष्ट्रिय सभामा बहुमत हात पार्‍यो। सन् २०१७ मा राष्ट्रपति मादुरोले आफ्नो शक्ति कायम राख्नका लागि संविधानसभाको गठन गरे। २०१९ मा राष्ट्रपतिको निर्वाचन भयो। यो निर्वाचनमा राष्ट्रपति मादुरो दोस्रो कार्यकालका लागि निर्वाचित भए। तर, यो निर्वाचन धाँधलीपूर्ण भन्दै विपक्षी तथा अमेरिका लगायतका देशहरुले मान्यता दिएका छैनन्। २०१९ को जनवरी ५ मा विपक्षी नेत जुहान गुइदो राष्ट्रियसभाको अध्यक्षमा मनोनित भए।

त्यसको पाँच दिन पछि मादुरोले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको सपथ लिए। उनको सपथलाई विपक्षी दल तथा अमेरिकासहित १३ देशले अस्वीकार गरेका थिए। उनको समर्थनमा चीन रुस र टर्की लगायतका देशहरुले समर्थन गरे। उनको सपथ समारोहमा विश्वभरबाट कम्युनिस्ट नेताहरु सहभागी थिए। नेपालबाट सत्तारुढ दल ने क पाका केन्द्रीय सदस्य बलराम बास्कोटा सहभागी भएका थिए।

मादुरोको दोस्रो कार्यकाल सुरु भएसँगै विपक्षीले आन्दोलन चर्कायो। यही आन्दोलनका क्रममा राष्ट्रिय सभाका अध्यक्ष गुइदोले आफैलाई अन्तरिम राष्ट्रपतिको रुपमा घोषणा गरे। भेनेजुएलाको संविधानमा राष्ट्रपति पद खाली हुँदा राष्ट्रिय सभाको अध्यक्षले अन्तरिम राष्ट्रपतिको रुपमा कार्यभार लिने व्यवस्था अनुरुप उनले आफैलाई राष्ट्रपति घोषणा गरेको थिए। गुइदोको समर्थनमा अमेरिका युरोपेली मुलुकहरु, दक्षिण अमेरिकी मुलुकहरु उभिँदा चीन रुस टर्की लगायतका देशहरु मादुरोको पक्षमा उभिएका थिए।

मादुरोको सपथमा पुगेर फर्किएका ने क पाका नेता बास्कोटाकै ब्रिफिङका आधारमा नेपालको सत्तारुढ दल ने क पाका अध्यक्ष प्रचण्डले मादुरोको पक्षमा र अमेरिकी हस्तक्षेपको विरोधमा वक्तव्य जारी गरे।

नेपाल देखि आठ हजार १ सय १० नटिक माइल्स (सिधा हवाई उडान दुरी)मा रहेको सुदुर पश्चिमको मुलुक भेनेजुएला मामिलामा नेपाल कुटनीतिक रुपमा फस्यो। अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै असन्तुष्टि प्रकट गर्‍यो। नेपाली राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर स्पष्टिकरण लियो।

परराष्ट्र मन्त्रालयले कुटनीतिक विवाद चर्किँदै गर्दा राजदूतहरुलाई नेपालको कुटनीतिको विषयमा प्रधानमन्त्रीको उपस्थितिमा ब्रिफिङ गर्‍यो।

तर, ब्रिफिङमा अमेरिकी राजदूत र्‍याण्डी बेरी उपस्थित भएनन्। यसैको प्रभाव प्रचण्डको अमेरिका भ्रमणमा पनि पर्‍यो। पूर्व निर्धारित प्रचण्डको अमेरिका भ्रमण रोकियो। पछि अमेरिकाकै ग्रिन सिग्नल पाएसँगै प्रचण्ड अमेरिका पुगेर फर्किसकेका छन्।

नेपाल र भेनेजुएलाबीच सन् १९८७ अप्रिल २८ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुई देशबीच न त रेलको सम्बन्ध छ न त तेलको सम्बन्ध। तेल उत्पादक मुलुक भेनेजुएला माथिको तेल राजनीतिले नेपाल फस्यो। नेपालले भेनेजुएलाको तेल सिधै आयात समेत गर्दैन्। भारतले भेनेजुएलाबाट केही तेल आयात गर्छ। यदि त्यही तेल नेपाल आए अलिकति तेल सम्बन्ध जोडिएला। न त नेपालले भेनेजुएलाको सुन नै खरीद गर्छ।

आर्थिक रुपमा सम्बन्ध नरहेको सत्तारुढ दल ने क पाका एक अध्यक्ष ‘प्रचण्ड’ले भेनेजुएला र मादुरोको पक्षमा आफू र पार्टीलाई उभ्याए। त्यस्तै अमेरिकाको कडा आलोचना गरे। यसले अमेरिकालाई चिड्यायो। अमेरिकाले नेपालसँग स्पष्टिकरण सोध्यो। सामान्यतया माल्दिभ्समा राजनीतिक संकट हुँदा, श्रीलंकामा राजनीतिक संकट हुँदा समेत मौन जस्तै बस्ने नेपालले भेनेजुएला संकटमा आधिकारिक धारणा सार्वजनिक गर्न बाध्य भयो।

सत्तारुढ दलको तर्फबाट आएको वक्तव्यलाई कुटनीतिक भाषामा परराष्ट्र मन्त्रालयले पनि बल दियो। परराष्ट्रको वक्तव्यमा नेपालको आफ्नो सैद्धान्तिक आधारमा भेनेजुएलाको आन्तरिक राजनीतिक समस्याको समाधान प्रजातान्त्रिक पद्धतीबाट बाह्य हस्तक्षेप विना हुनुपर्ने उल्लेख छ।

के हो नेपालको सैद्धान्तिक आधार?

नेपाल असंलग्न अभियानमा जोडिएको राष्ट्र हो। नेपालको परराष्ट्र नीति असंलग्न अभियानको नीतिमा जोडिएको छ। हो यही एउटा आधार छ नेपाल र भेनेजुएलाको सम्बन्धमा। भेनेजुएला पनि असंलग्न राष्ट्र हो। अर्को कुरा यो अभियानको अध्यक्ष राष्ट्र भेनेजुएला र निकोलस मादुरो यसका अध्यक्ष हुन्। यही एउटा आधार हो भेनेजुएला र नेपाल विश्व मञ्चमा एकै स्थानमा उभिने।

नेपालको परराष्ट्र नीतिको यही आधारमा टेकेर असंलग्न नीति लिँदै नेपालले भेनेजुएलाको समस्याको समाधान भेनेजुएलाका जनताले प्राजातान्त्रिक पद्धतिबाट गर्ने बताएको हो।

त्यति मात्र होइन् नेपाल र भेनेजुएलालाई जोड्ने अलिकति अर्को आधार पनि छ। भेनेजुएला समाजवादको अभ्यास गरिरहेको मुलुक हो। यहाँको समाजवादले देशलाई आर्थिक संकटमा नै पुर्‍याएको छ। नेपालका कम्युनिस्टहरुका लागि यहाँको समाजवाद र यहाँका कम्युनिस्ट पार्टी एउटा आदर्शको रुपमा रहेको छ। यही ‘आइडियोलोजी’ले ने क पालाई निकोलश मादुरोको पक्षमा उभ्याएको हो।

यो पनि : नेपाल – अमेरिका सम्बन्ध चिस्याउने भेनेजुएला : आखिर कसरी भयो नेपाल कनेक्सन?

भेनजुएला संकटबाट गुज्रिएको नेपालको कुटनीतिक टकराव मथ्थर हुँदै जाँदा नेपालमा भेनेजुएलाका राष्ट्रपति मादुरोका छोरा 'लिटल निकोलस'सहितका मन्त्रीहरु नेपालको भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

 

किन आए लिटल निकोलस नेपालमा? कसले बोलायो उनलाई?

अन्तर्राष्ट्रिय जगतमा 'लिटल निकोलस' भनेर चिनिने २९ वर्षीय गुयरोको नेपाल भ्रमण बारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता जनाएको छ। मन्त्रालयका अधिकारीहरु उनको भ्रमणबारे बोल्न चाहेका छैनन्। भ्रमणबारे सुने पनि आधिकारिक रुपमा जानकारी नआएको भन्दै पन्छिँदै आएका छन्।

प्रतिनिधिसभाको बैठक सभामुख कृष्णबहादुर महराले स्थगित गरेर निस्किए। यो टोलीले नेपालको संसदीय अभ्यासलाई अवलोकन गर्ने कार्यक्रम थियो। त्यो पूरा हुन त सकेन्। तर, एउटा उच्चस्तरीय राजनीतिक भेट भने भयो।

त्यही मेसोमा ने क पाका सांसदहरुले पनि संसद भवनको हलमा टोलीसँग अन्तर्क्रिया गरे। अन्तर्क्रियामा गुयरोले आफ्नो देशको राजनीतिक अवस्थाको बारेमा जानकारी गराउँदै राष्ट्रपति मादुरोको पक्षमा समर्थन खोजेको थियो। छलफलमा सहभागी एक नेताका अनुसार सहभागी सांसदहरुले भेनेजुएला र त्यहाँको 'साम्राज्यवाद विरोधी सरकार'को पक्षमा ऐक्यवद्धता जनाएका थिए।

स्रोतका अनुसार अमेरिकासहित पश्चिमा मुलुकहरुबाट एक्लिएको भेनेजुएलाको पक्षमा अन्तर्राष्ट्रिय मत हासिल गर्नका लागि राष्ट्रपति मादुरोले आफ्ना छोरालाई नेपाल पठाएका हुन्।

'उनीहरु नेपालमा भेनेजुएलाको पक्षमा अभिमत जुटाउन आएका हुन्। उनीहरूको चाहनामा उनीहरुलाई युवा संघले निम्तो पठाएको हो,' एक नेताले पहिलोपोस्टलाई भने, 'त्यसको संयोजन युवा संघले गर्‍यो। यहाँ आएका बेला नेताहरुसँग सोही विषयमा भेट भएको हो।'

गुयरो भेनेजुएलाको सत्तारुढ पार्टी युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी) कंग्रेसका सदस्य तथा संविधानसभा सदस्य हुन्। कर्प्स अफ स्पेशलन इन्सपेक्टर अफ प्रेसिडेन्सी (विशेष सैन्य टुकडी) का प्रमुखसमेत हुन्। राष्ट्रपति मादुरोले उनलाई नयाँ पदको सिर्जान गरी त्यसको प्रमुख बनाएका थिए। यसले राष्ट्रपतिका नीति तथा कार्याक्रमहरुको कार्यान्वयनको अनुगमन गर्छ। त्यस्तै उनी प्रेसिडेन्सियल डेलिगेशन तथा इन्सट्रक्सन अफ भाइस प्रेसिडेन्टका महासचिव र नेशनल फिल्म स्कुल अफ भेनेजुएलाका कोअर्डिनेटर पनि हुन्। यी पद उनकै लागि नयाँ सिर्जना गरिएका पद हुन्।

यो टोलीले आइतबार टोली युवा संघले आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा सहभागी भएको थियो। दुई देशबीचको सम्बन्धका विषयमा आयोजित कार्यक्रममा ने क पाका वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य वामदेव गौतम पनि सहभागी थिए। मादुरोको टोलीलाई नेपाल ल्याउनका मादुरोको सपथमा भेनेजुएला पुगेका ने क पाका केन्द्रीय सदस्य बलराम बास्कोटाले पहल गरेका थिए।

नेपाल आएको टोलीमा इन्टरनेसनल वामपन्थी युवा शक्तिका सदस्यहरु हुन्। जुनको अन्तिममा अमेरिकाले प्रतिवन्ध लगाएका गुयरोले नेपालको भ्रमण सकेर चीन हुँदै उत्तर कोरियाको भ्रमण जाने बताइएको छ। अमेरिकाले आफ्ना नागरिकसँग गुइरोसँग कुनै पनि व्यवसायिक तथा व्यक्तिगत सम्बन्ध नराख्न जुन २८ मा सूचना जारी गरेको थियो।

२९ वर्षिया निकोलस मादुरो गुइरो २०१७ मा भेनेजुएलाको राजनीतिमा देखिन थालेका हुन्। सन् १९९० जुन २१ मा जन्मिएका उनी २०१४ देखि भेनेजुएलाको सत्तारुढ दल पीएसयुभीको कंग्रेसमा प्रतिनिधित्व गर्दै आएका थिए। संगीतका विद्यार्थी उनले त्यहाँको सैन्य विश्वविद्यालयबाट अर्थाशास्त्र पनि अध्ययन गरेका छन्। उनले सन् २०११ बाट त्यहाँका सार्वजनिक मन्त्रालयमा काम गर्न थालेका थिए।

२०१३ मा मादुरो भेनेजुएलाको राष्ट्रपतिमा निर्वाचित भएसँगै उनी भेनेजुएलाका राष्ट्रपति मातहतका नीति कार्यान्वयन गर्ने निकयाको प्रमुख भए। २०१४ को जुन २१ मा २४ औं जन्मदिनको उपहार स्वरुप उनले त्यहाँको नेशनल फिल्म स्कुलमा कोअर्डिनेटरमा नियुक्ति पाए।

उनी २०१७ को संविधानसभामा सदस्यको रुपमा निर्वाचित भएका थिए। संविधानसभा सदस्यको रुपमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्लाई दिएको चेतावनीले बाहिरी संसारमा चिनिए।

सन् २०१७ को अगस्टमा अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाको सैन्य शासन भएको भन्दै राष्ट्रपति मादुरोको नेतृत्व माथि प्रश्न उठाएका थिए। त्यसको जवाफमा संविधान सभाको पाँचौं सत्रमा उनले भनेका थिए, 'यदि अमेरिकाले भेनेजुएलामाथि हमला गर्न चाहन्छ भने राइफलहरु न्यूयोर्कमा पुग्नेछन्, ट्रम्प महासय हामी त्यहाँ पुग्नेछौँ र ह्वाइट हाउस लिने छौँ।'

*स्रोतको सूचनाका आधारमा प्रकाशित समाचारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भेट गरेकोबारे थप तथ्य स्थापित हुन नसकेपछि उक्त प्रसङ्ग हटाएर समाचार परिमार्जित गरिएको छ। समाचारले परराष्ट्रमन्त्रीमाथि पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ। सं

 

सम्बन्धित समाचार:

ओली समाजवादको यात्रामा कि भेनेजुएलाका चाभेज पथमा?

भेनेजुएला प्रकरणले चिसिँदै नेपाल अमेरिका सम्बन्ध, काठमाडौंमा अमेरिकी दूतावासको सक्रियता

भेनेजुएला प्रकरण : सत्तारुढ दल र मन्त्रीहरु नै विभाजित, फेस सेभिङमा सरकार

ट्रम्पलाई ह्वाइट हाउस कब्जा गर्ने चेतावनी दिने भेनेजुएलाका राष्ट्रपति मादुरोका छोरा 'लिटल निकोलस' सुटुक्क काठमाडौंमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell