PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

माइतीघरमा लोकसेवा विज्ञापनको विरोध

माइतीघरमा लोकसेवा विज्ञापनको विरोध

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : लोकसेवा आयोगको विज्ञापनका विषयलाई लिएर विभिन्न संघसंस्थाले आज काठमाडौंको माइतीघर मण्डलमा विरोध कार्यक्रम आयोजना गरेका छन्। आरक्षण बचाउ अभियानको नेतृत्वमा आन्दोलन भएको हो। झरीकै बीच सयौंको संख्यामा उपस्थित आन्दोलनकारीले विज्ञापन खारेजको माग गरेका थिए।

विभिन्न अल्पसंख्यक र जातीय संस्थाहरुको अगुवाइमा भएको कार्यक्रममा वक्ताहरुले संविधानको मूल मर्म तथा समानुपातिक समावेशी सिद्धान्त र परिवर्तनको आकाङ्क्षाविपरीत विज्ञापन आएको भन्दै विरोध गरेका थिए।

आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो।

उक्त विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आदिवासी जनजाति र दलित समुदायका अगुवाले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन्। उनीहरुले सो विज्ञापन रद्द गरी आरक्षण सुनिश्चित गरिएको विज्ञापन पुनःप्रकाशित गर्नुपर्नेसमेत माग गर्दै आएका थिए। विवादका कारण सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतले आयोगको पक्षमा यही असार १६ गते फैसला आदेश जारी गरेको थियो।

विरोध कार्यक्रममा बोल्दै अपांगता अधिकारकर्मी मित्रलाल शर्माले माइतीघरमा भएको आन्दोलन ट्रेलर मात्रै भएको भन्दै आयोगले उत्पीडित समुदाय र अपांगता भएकाहरुलाई विस्थापित गर्ने उद्देश्यले असमावेशी विज्ञापन प्रकाशन गरेको आरोप लगाए।

उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका सुमन सायमिले विज्ञापन तत्काल रद्द गर्दै आरक्षण सुनिश्चित गरि विज्ञापन पुनःप्रकाशित गर्नुपर्ने माग राखे।



ट्रेन्डिङ पोस्ट

Ncell