PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चर्चित गायिका आनी छोइङले भित्र्याएको १६ करोड ५० लाख माथि 'क्रस बोर्डर' अनुसन्धान हुने



सुदर्शन सापकोटा

चर्चित गायिका आनी छोइङले भित्र्याएको १६ करोड ५० लाख माथि 'क्रस बोर्डर' अनुसन्धान हुने

काठमाडौं : 'शक्ति'को आडमा लुकाउन खोजिएको चर्चित गायिका आनी छोइङ डोल्माको १६ करोड ५० लाख रुपैयामाथि अन्तर देशीय अनुसन्धान हुने भएको छ। बैंकिङ प्रणालीबाट भित्रिएको ठूलो परिमाणको रकमको स्रोत नखुलेपछि सम्पत्ति सुद्धिकरण विभागले क्रस बोर्डर अनुसन्धान अगाडि बढाउने भएको हो।

स्रोत नखुलेपछि मेगा बैंकले आनीको पैसा रोक्का राखिरहेको छ। कालोधनको अनुसन्धान गर्ने निकाय सम्पति शुद्धिकरण विभागले हङकङका सरकारी अधिकारीहरुको सहयोग लिएर अनुसन्धान गर्ने तयारी गरेको हो।

'पैसा कालो हो या गोरो हो अहिले भन्न सकिँदैन। तर, आनीले गलत ढंगबाट पैसा ल्याएको भने देखिन्छ,' सम्पति शुद्धिकरण विभागका एक अनुसन्धान अधिकृतले भने, 'त्यही भएर हामीले पैसा पठाउने स्रोतसम्मै पुगेर अनुसन्धान गर्न हङकङका सरकारी अधिकारीहरुसँग सहयोग लिन्छौं।'

स्रोतका अनुसार, आनीले असल नियतले नै पैसा ल्याएको भएपनि कानुन र प्रकृया मिलेको छैन।

हङकङसँग सहयोग लिन भने नेपाली अधिकारीहरुलाई सजिलो छैन। सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा बित्तीय लगानी निवारणसम्बन्धमा अनुसन्धान गर्ने प्रमुख निकायका रुपमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले काम गर्छ। यस्तै काम गर्ने निकायहरु अरु देशमा पनि छन्। अरु देशसँग पारस्परिक सहयोग लिन दुई पक्षीय सम्झौता भएको हुनुपर्छ। नेपालको हङ्कङसँग सम्झौता नभएकाले सोझै अन्तरदेशीय अनुसन्धान गर्न भने गाह्रो रहेको विभाग स्रोतले बतायो।

आनीले हङकङको 'एसेट म्यानेजमेन्ट कम्पनी' मा कार्यरत एक ब्यक्तिबाट १५ लाख डलर (विनिमय दर ११० रुपैयाँका हिसाबले १६ करोड ५० लाख रुपैयाँ) नेपाल ल्याएकी थिइन्। बैंकमा आनीका नाममा एकै पटक ठूलो रकम आएपछि त्यसलाई शंकास्पद भन्दै मेगाले राष्ट्र बैंकमा रहेको 'वित्तीय जानकारी इकाइ' लाई खबर गरेको थियो।

कुनै पनि ग्राहकको कारोबार अस्वभाविक देखिएमा बैंकले स्वत: राष्ट्र बैकमा रहेको इकाइलाई खबर गरिदिनुपर्छ। इकाइले प्रारम्भिक सूचना विश्लेषण गर्छ। त्यसमा उसलाई शंकास्पद लागेमा थप अनुसन्धानका लागि सम्पति शुद्धिकरण विभागलाई जिम्मा दिन्छ। इकाइको सीफारिसपछि अहिले विभागले पैसाका बारेमा अनुसन्धान गरिरहेको छ।

आनीले एक वर्षअघि नै यो पैसा नेपाल भित्र्याएकी हुन्। उच्च राजनीतिक तथा सरकारी तह, राष्ट्र बैंककै वहालवाला तथा पूर्व वरिष्ठ अधिकृतहरुले यो पैसा जसरी पनि खुलाउनु पर्ने भन्दै दबाब बनाएका कारण अनुसन्धान अगाडि बढ्न सकेको थिए।

पैसा रोकिएपछि आनीले प्रधानमन्त्री केपी ओलीको 'तुइन विस्थापन कार्यक्रम'लाई एक करोड रुपैयाँ दिने घोषणा गरेकी थिइन्। यो कार्यक्रमको फाइलमा ओलीले पहिलो पटक प्रधानमन्त्री भएर सिंहदरवार छिर्दाछिर्दै हस्ताक्षर गरेका थिए। दुई वर्षभित्र तुइन विस्थापित गर्ने उद्देश्य थियो। ओली दोस्रो पटक प्रधानमन्त्री भएर आउँदा पनि तुइन विस्थापित भएको थिएन। नेपाल टेलिभिजनबाट प्रसारण हुने 'जनतासँग प्रधानमन्त्री' कार्यक्रममा आनीले ओलीलाई एक करोड रुपैयाँ हस्तान्तरण गरेकी थिइन्।

राष्ट्र बैंकमै रहे पनि वित्तीय जानकारी इकाइ स्वायत्त संस्था हो। बैंकले पठाएको 'सस्पिसिएस ट्रान्जेक्सन रिपोर्ट (एसटिआर)' लाई इकाइले शुद्धिकरण विभाग पठाइदिएको थियो। यसमा राष्ट्र बैंकका कुनै पनि विभाग तथा अधिकारीहरु प्रत्यक्ष संलग्न हुन पाउँदैनन्। तर, आनीको पैसा छुटाउन भने विदेशी विनिमय विभागका उच्च पदस्थ अधिकारीहरु नै लागिपरेका थिए। विभागमा 'रिपोर्ट' पुगिसकेकाले पैसा फुकुवा गर्न भने सफल भएका थिएनन्।

इकाइले अनुसन्धानका लागि गरेको सिफारिसमा शुद्धिकरण विभागले काम थालेपछि बल्ल यी सबै घटना विवरणहरु सार्वजनिक भएका हुन्। विभाग स्रोतका अनुसार, यो मुद्दा मिलाउनका लागि थुप्रै आर्थिक चलखेल भएको छ।

'भित्रभित्रै दबाउने प्रयास धेरै भएको थियो तर अनुसन्धानको चरणमा पुगेकाले गाह्रो भएको छ,' एक उच्च अधिकारीले भने, 'यो पैसा फुकुवा गर्न प्रधानमन्त्री ओलीदेखि राष्ट्र बैंकका कर्मचारीहरु समेत लागिपरेका थिए।'

उनका अनुसार शंकास्पद भनेर रिपोर्ट भइसकेको पैसामा अनुसन्धान नै गर्न हुँदैन भन्ने पक्षमा 'शक्तिशाली' हरु थिए। विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गतकै निकाय हो। ओली प्रधानमन्त्री भएपछि अर्थमन्त्रालय मातहत रहेको विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याएका थिए।

आनीले यो पैसा सामाजिक सेवाका लागि भित्र्याएको दावी गरेकी छिन्। उनले अस्पताल तथा स्कुलहरुका लागि आवश्यक पूर्वाधार तयार पार्न तथा अन्य सेवा कार्यमा खर्चिन पैसा ल्याएको दावी गरिएको छ। आनीले होटल निर्माणका लागि विदेशबाट थप पैसा ल्याउने तयारी पनि थालिसकेकी छिन्।

उनले करीब ४० करोड रुपैयाँ भित्र्याउन राष्ट्र बैंक र उद्योग विभागबाट स्वीकृति लिइसकेको केन्द्रीय बैंक स्रोतले जानकारी दियो। होटलका लागि पनि ब्यक्तिगत स्रोतबाट पैसा ल्याउन लागेको आनीले बुझाएको विवरणमा उल्लेख छ। मेगा बैंकले 'फ्रिज' गरिदिएको साढे १६ करोड रुपैयाँ उनले रेमिटेन्सको रुपमा भित्र्याउन खोजेकी हुन्। जबकि मेगा बैंकले रकम फ्रिज गर्नु केही महिनाअघि मात्रै आनीलाई राम्रो ग्राहक भन्दै सम्मान गरेको थियो।

यसअघि स्रोत नखुलेको भन्दै अहिले पनि ब्यवसायी अजयराज सुमार्गीको पैसा अदालतले रोक्का राखिदिएको छ। सुमार्गीले टेलिकम, सिमेन्ट उद्योगमा लगानी गर्नका लागि भन्दै पैसा भित्र्याउन खोजेका थिए।

मेगा बैंकमा 'फ्रिज' भएको साढे १६ करोड रुपैयाँ फुकुवा गर्न उनले राष्ट्र बैंकमा कागजपत्रहरु बुझाइरहेको त्यहाँका अधिकारीहरुले बताए।

'शंकास्पद भनेर खबर आइसकेकाले त्यस बारेमा शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ,' राष्ट्र बैंकका ती अधिकारीले भने, 'शंकास्पद नै भेटिए कानुन अनुसार कारवाही हुन्छ। वैधानिक स्रोत देखिएमा पैसा फुकुवा हुनसक्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell