काठमाडौं : गत शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर हुँदै गएको छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी गतिविधि कमजोर हुने मौसमविद् समिर श्रेष्ठले बताए।
'न्यून चापीय रेखा (वर्षा गराउने वायु) विस्तारै दक्षिण सर्दै छ। त्यसैले अबको केही दिन वर्षा कम हुनेछ', मौसमविद् श्रेष्ठले भने। यद्यपि आज देशका मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मनसुन सेप्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय कहिले कमजोर रहने क्रम निरन्तर भइरहने बताइएको छ।
तत्कालका लागि भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै रहेकाले सामान्य सतर्कता अपनाउन आग्रह गरिएका छ। साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम दृश्यस्थितिका कारण सामान्य अवरोध आउन सक्ने पूर्वानुमान गरिएको छ।
राति देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही तराई भू-भागका केही स्थानमा र पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रासस