PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ने क पाको एकता: साँझसम्म टुंगो लाग्ने प्रचण्डको दाबी, दुई अध्यक्षबीच बालुवाटारमा छलफल



ने क पाको एकता: साँझसम्म टुंगो लाग्ने प्रचण्डको दाबी, दुई अध्यक्षबीच बालुवाटारमा छलफल

काठमाडौं : पार्टी एकताको घोषणा भएको १५ महिना बितिसक्दा पनि सत्तारुढ दल ने क पाले अझै एकतालाई पूर्णता दिन सकेको छैन। यस्तोमा ने क पाले केही दिन भित्र एकता टुंग्याउने गरी छलफललाई तीव्रता दिएको छ। 

पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकीकरणको बाँकी काम आजै टुंग्याउने दाबी गरेका छन्। ने क पाको ललितपुर जिल्ला कमिटीको शपथ कार्यक्रम र प्रथम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। उनले त्यसका लागि पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भइरहेको बताए। उनले आजै साँझ पुन: ओलीसँग छलफल गरी एकतालाई टुंगोमा पुर्‍याउने बताए। 

‘अध्यक्ष केपी ओली र मैले यो महिनाभित्रै पार्टी एकताको काम टुंग्याउने भनेका हौँ। हामी केही दिनदेखि लागि पनि राखेका छौँ। र आज फेरी पनि बैठकमा जाँदै छु।’, प्रचण्डले भने, ‘सकेसम्म आजै कार्य विभाजन, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद् अनि विशेष कमिटीहरू, विभागहरू, आयोगहरू टुंग्याउने तयारीमा छौँ’ प्रचण्डले भने। 

त्यसपछि सचिवालय बैठक र स्थायी समिति बैठक बसेर त्यसलाई अन्तिम रूप दिने उनले बताए। एकताको बाँकी काम सकेसँगै केन्द्रीय समितिको बैठक बोलाउने उनले बताए। केन्द्रीय कमिटीको बैठक मार्फत कार्यक्रम र अभियान बनाएर देशभर जाने उनको भनाइ थियो। 

प्रचण्डले पार्टी एकताको सन्देश तल्लो तहसम्म पुग्न नसकेको भन्दै अभियान चलाउने बताउँदै आएका छन्। ‘आज बेलुकासम्म पार्टी एकताका बाँकी काम मूलभूत रूपमा टुँग्याउँछौँ,' उनले भने। प्रचण्डले ज्येष्ठ कम्युनिस्ट मञ्चको सल्लाहकार परिषद्, आयोगहरू, विभागहरूका सबै मुख्य संरचनाहरू टुंग्याएको दाबी गर्दै अगाडि भने, ‘अब फिल इन द ब्ल्यांक भनेजस्तो खाली ठाउँ भर्न मात्रै बाँकी छ। त्यो खाली ठाउँ भर्ने कुरा जटिल होइन। सहजै भर्न सकिन्छ।’

 

संगठन विभागमा अड्किँदै हलो, जिल्ला इन्जार्चको जिम्मेवारी पुरानैले पाउने 
 

यसैबीच पार्टीका ३२ विभागहरू मध्ये संगठन विभागमा पुगेर छलफल अड्किँदै आएको छ। सोमवार दुई अध्यबीच बसेको बैठकमा पनि यही विषयमा पुगेर रोकिएको छ। 

दुई अध्यक्षबीचको बैठकमा वरिष्ठ नेता माधव नेपाललाई विदेश विभागको जिम्मेवारी, झलनाथ खनाललाई नीति तथा योजना विभागको जिम्मेवारी दिने विषयमा लगभग सहमति भएको बालुवाटार स्रोतले जनाएको छ। त्यस्तै बामदेव गौतम किसान फाँटको प्रमुख, नारायणकाजी श्रेष्ठ प्रचार तथा प्रकाशन विभाग प्रमुख र सुवास नेम्वाङ संसदीय विभाग प्रमुख हुने प्रस्ताव गरिएको छ। 

यद्यपि, संगठन विभागको प्रमुखमा बामदेव गौतमको पनि नाम आएको छ। गौतमलाई अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए। अर्का अध्यक्ष ओलीले भने रामबहादुर थापाको नाम सिफारिस गरेका थिए। अन्य विभागहरूको टुंगो लागे पनि संगठन विभाग र स्कुल विभागमा कुरा नमिलेको स्रोतले बतायो। यी मध्ये एक विभागमा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले पनि दाबी गरेका छन्।

यसैबीच जिल्ला इन्चार्ज र सहइन्चार्जको भागबण्डा गर्दा पुरानैलाई दिने सहमति भएको छ। यसअघि जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी तथा जनवर्गीय संगठनको एकताको टुंगो पनि यसै प्रक्रियाबाट लगाइएको थियो। भागवण्डका आधारमा जिल्ला अध्यक्ष र सचिवमा तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन अध्यक्ष/संयोजकलाई बनाइएको थियो। सो आधारलाई मान्दै इन्चार्ज र सहइन्चार्ज पनि तत्कालीन एमाले र माओवादी केन्द्रका इन्चार्जलाई नै जिम्मेवारी दिने गरी सहमति जुटेको स्रोतले बतायो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell