PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालका समिरलाई स्वर्ण



पहिलोपोस्ट

१२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालका समिरलाई स्वर्ण

काठमाडौं : नेपालका समिर श्रेष्ठले १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन्। भारतका दिनेश दोश्रो तथा नेपालकै प्रज्ज्वलमान शाक्य तेश्रो भए।

पहिलो दिने जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। त्यसमा नेपालले १ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ८ पदक जित्यो।

पुरुष ५५ केजीमा नेपालका किसनदास महर्जनले कांस्य हात पारे। माल्दिभ्सका मोहम्मद मुसा पहिलो र भारतका मुरुगन रामामुर्ती दोश्रो भए। पुरुष ६० केजीमा नेपालका कमल भण्डारी दोश्रो भए। भारतका दिपु पहिलो र अफ्गानिस्तानका मोहम्मद कसिम हुसैन तेश्रो बने।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ७० केजीमा नेपालका रमेश कार्कीले रजत हात पारे। अफ्गानिस्तानका अब्दुल समी पहिलो र इमरान अली तेश्रो भए।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको प्रतियोगिताको महिला एथलेटिक फिजिकमा नेपालले दुई पदक हासिल गर्‍यो। रजनी श्रेष्ठले रजत तथा सुजिता मानन्धरले कांस्य जिते। भारतकी निशा भोयर पहिलो स्थानमा रहिन्।

पुरुष फिट्नेस फिजिकमा नेपालका राजु राईले रजत प्राप्त गरे। अफ्गानिस्तानका हमिदुल्लाह खुशदिल पहिलो र सलिम शाह अन्वरी तेश्रो भए।

विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले पुरस्कार वितरण गरे। त्यसअघि प्रतियोगिताको खेलकुद मन्त्री विश्वकर्माले उद्घाटन गरेका थिए। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell