PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संस्कृतिमा मोहनी लगाउने जालपा, विकासमा पनि अब्बल बन्दै : यसरी पुग्न सकिन्छ काठमाडौंबाट

संस्कृतिमा मोहनी लगाउने जालपा, विकासमा पनि अब्बल बन्दै : यसरी पुग्न सकिन्छ काठमाडौंबाट


  • राजु आचार्य-

खोटाङ जिल्लाको जालपा गाउँ। पूर्वी नेपालको हलेसी मन्दिरबाट केही घण्टा पर रहेको यो गाउँ समुन्द्र सतहबाट करिब १५०० मिटरको उचाइमा रहेको छ। राई, नेवार, गुरुङ, तामाङ, शेर्पा जातिको संस्कृति यहाँ प्रत्यक्ष हेर्न पाइन्छ। राजनीतिक आस्थालाई पर राखेर गाउँको विकासमा एकजुट हुने चलन यो गाउँमा छ।

भर्खर गाउँमा ट्राउट माछा पालनको सुरुवात भएको छ।  कुखुरा उत्पादनमा गाउँ आत्म निर्भर भैसकेको छ। साना घरेलु उद्योगहरु सञ्चालित छन्।  अर्ग्यानिक गाउँमा शत प्रतिशत नतिजा ल्याउने अङ्ग्रेजी भाषामा पढाइने सामुदायिक विद्यालय 'ज्योति मावि' छ। सरकारी विद्यालय जालपा माविको पनि नतिजा उत्कृष्ट  नै छ।  गाउँमा खेल संस्कृति व्यापक छ। गाउँको सामुदायिक अस्पताल उदाहरणीय मानिन्छ। यो गाउँ विकास र संस्कृति दुबैमा अब्बल छ।

गाउँमा अरू के हेर्ने?

करिब ४ घण्टा माथि रहेको रुपाकोट (२९०० मिटर) बाट पूर्वका हिमालहरू अवलोकन गर्न सकिन्छ। नजिकै कोरे देविस्थान (३० मिनेट), रावा उपत्यका, झाप पाखा देविस्थान (१ घण्टा), बागेश्वरी महादेव स्थान गुफा (२ घण्टा), मह भिर (१ घण्टा) अवलोकन गर्न सकिन्छ।

यस क्षेत्रमा रतुवा, दुम्सी, सालक, खरायो, बाँदर, लङ्गुर, गोहोरो, चितुवा, स्याल, कालिज, मयूर, लामपुच्छ्रे, तित्रा, सुगा, मलेवा, ढुकुर, लाटोकोसेरो, हुचिल, कोइली, जुरेली सजिलै देख्न सकिन्छ।

जालपामा कसरी आउने?

काठमाडौँबाट (कोटेश्वर) बस तथा सुमरो (करिब ८ वटा सुमोहरु) बिहानै उपलब्ध छन्। काठमाडौँदेखि खुर्कोट, घुर्मी, जयराम, हलेसी हुँदै जालपासम्म जान सकिन्छ। काठमाडौबाट जालपा जम्मा २६७ किलोमिटर (काठमाडौँबाट हुर्लुङ २५७ कि. मि. पक्किबाटो, हुर्लुङबाट जालपा १० कि. मि कच्ची बाटो) छ। तर गाउँ पुग्न करिब १० देखि ११ घण्टा लाग्छ। बस भाडा करिब १४०० प्रति व्यक्ति र सुमोमा १८०० प्रति व्यक्तिसम्म  पर्न जान्छ।

रात परेको खण्डमा हुर्लुङमा बास बस्न सकिन्छ वा एक घण्टा परको सदरमुकाम (दिक्तेल) पनि पुग्न सकिन्छ। तर सदरमुकामबाट जालपा जानका लागि फेरि हुर्लुङ फर्कनु पर्ने हुन्छ। हुर्लुङबाट ओरालो बाटो हिढेर पनि करिब २ घण्टा जतिमा गाउँ पुग्न सकिन्छ। यदि हुर्लुङ बास बस्ने हो भने काठमाडौँ वा अन्य ठाउँबाट दिक्तेल जाने कुनै पनि बस प्रयोग गर्न सकिन्छ।

खोटाङको सदरमुकाम दिक्तेलबाट दिउँसोको ३ बजेतिर जालपाको लागि बस छुट्छ। भाडा रु २५० मात्र। काठमाडौँबाट मोटरसाइकलमा जान चाहनेहरूको लागि उपयुक्त गन्तव्य हो। आफ्नो  निजी वाहनमा जानेका लागि हुर्लुङदेखि जालपासम्मको  १० किमि कच्ची बाटो बाधक बन्न सक्छ। ग्राउण्ड क्लीयरीन्स राम्रो भएको गाडीहरू गाउँसम्मै जान्छन्। पूर्वका धरान, विराटनगर, गाईघाट, इटहरी, घुर्मि, भोजपुर आदि स्थानहरूबाट हुर्लुङ हुँदै खोटाङको सदरमुकाम दिक्तेलसम्म नियमित गाडीहरू सञ्चालित छन्।

जालपामा कति खर्च लाग्छ ?

भाडा बाहेक सादा खाना  १५० रुपैयाँदेखि १८० सम्म। चिकेन खाना २५० देखि ३०० रुपैयाँसम्म। बफ-पोर्क खाना २५० रुपैयाँ। खाना खाएपछि कोठाको निःशुल्क व्यवस्था हुन्छ वा लजिङको  पैसा न्यूनतम तिरे पुग्छ।



ट्रेन्डिङ पोस्ट

Ncell