PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अन्योलमा नेपाली क्रिकेटको भविष्य : खेलाडीले खेल्न नसकेकै हो त?



गोविन्दराज नेपाल

अन्योलमा नेपाली क्रिकेटको भविष्य : खेलाडीले खेल्न नसकेकै हो त?
फोटो सौजन्य: क्रिकेटिङ नेपाल

काठमाडौं: दोस्रो पटक टी २० विश्वकप खेल्ने लक्ष्य राखेपको नेपालको सपना एउटा हारले रोकिदिएको छ। सन् २०१४ मा छनोट भएर बंगलादेशमा टी-२० विश्वकप खेलेको नेपाल यस पटक एसियन क्वालिफायरमै रोकियो। पाँच राष्ट्र सम्मिलित विश्वकप क्वालिफायर एसिया फाइनलमा 'फेभरेटको ट्याग' लागेको नेपाल अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले हारेपछि ग्लोबल क्वालिफायर पुग्नसमेत सकेन। विश्वकप झनै टाढा बन्यो।

सिंगापुरमा आज सम्पन्न एसियन फाइनल क्वालिफायरमा नेपाल तेस्रो बन्यो। सिंगापुर र कतारसँग पराजित भएको नेपालले मलेसिया र कुवेतलाई मात्र हराउन सक्यो।

यसले युएईमा अक्टोबरमा हुने ग्लोबल क्वालिफायर खेल्दै २०२० को विश्वकप पुग्ने नेपालको सम्भावना सकिएको हो।

पहिलो पटक नेपालको मुख्य प्रशिक्षक भएर टोलीको प्रशिक्षण सम्हालेका भारतीय प्रशिक्षक उमेश पटवालले आफ्नो पहिलो लक्ष्य नेपाललाई विश्वकप पुर्‍याउने भएपनि उनी त्यसमा सफल हुन सकेनन्। नेपालको स्तर ग्लोबल क्वालिफायर खेल्ने नै नभएको उनले सिंगापुरसँगको हारपछि प्रतिक्रिया दिइसकेका छन्।

जित र सफलताले टिमको हाई हाई हुने हुँदा कमजोर पक्षहरु छोपिन्छ। हार र असफलताले खेलाडी र टिमको आलोचना हुन्छ। कमीकमजोरी बाहिर आउँछ। जसले गर्दा सुधार गर्नुपर्ने कैयौँ पक्षहरुको उजागर हुन्छ।

कप्तान पारस खड्काले पनि हारको सम्पूर्ण जिम्मा आफूले नै लिने बताइसकेका छन्। नेपाल क्रिकेट संघ क्यान अहिले निलम्बनमा रहेका कारण कप्तान, प्रशिक्षक र आइसीसीका प्रतिनिधि अनिमुल इस्लाम रहेको छनोट समितिले खेलाडी छनोट गर्दै आएको छ। कतै यो प्रक्रिया नै गलत त होइन भन्ने आवाज पनि क्रिकेटवृत्तमा उठ्न थालेको छ।

हुन त टी २० फर्म्याटमा को खेलाडी कस्तो भन्दा पनि चाहिएको दिनमा कसले राम्रो खेलेर जिताउन सक्छ भन्ने विषयले पनि महत्व राख्छ। तर कप्तान पारसकै भनाइ नै सापट लिने हो भने पनि एक जनाभन्दा टिम इफोर्ट महत्वपूर्ण हुने र जित र हार जे भए पनि टिमकै नाम आउँछ।

के सिंगापुरमा नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेकै हो त? खेलाडीले खेल्न नसकेकै हो त? वा नेपालभन्दा विपक्षी टिमहरुले स्तर सुधार गर्दै राम्रो खेलेको हो?

सिंगापुरमा क्वालिफायर खेल्नुअघि नेपालले त्यहाँको मौसमअनुसार अभ्यस्त हुन मलेसियामा १० दिनको तयारीका साथै दुई खेलको सिरिजसमेत खेलेको थियो। नेपालले मलेसियालाई २ खेलमै हराएको थियो।

त्यसअघि कप्तान पारसले नेपाल वरीयतामा माथि रहेकोले टिम दबाबमा रहेकोसमेत बताएका थिए। के नेपालले उसो भए दबाबमा खेलेको हो त?

पहिलो खेलमै कतारसँग अप्रत्यासित हार बेहोरेपछि नेपाल सुरुमै दबाबमा परेको थियो। मलेसिया र कुवेतलाई हराउँदै नेपालले पुनरागमन गरे पनि निर्णायक खेलमा सिंगापुरसँग चुक्यो। जोसँग नेपालले टी २० मा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेको थियो भने एउटै खेल पनि हारेको थिएन।

सिंगापुरमा नेपालबाट आशा गरिएका सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी जस्ता खेलाडीहरुले सोचेअनुसार खेल्न सकेनन्। नेपालको मुख्य फास्ट बलरको रुपमा रहेका सोमपाल कामीको रोल के हो भन्ने नै स्पष्ट नभएको जस्तो देखियो। नयाँ बल फाल्ने फास्ट बलरले ४ ओभर बलिङ गर्न नपाएको विषयले पनि चर्चा पायो। सोमपाल र करणलाई अलराउन्डरको रुपमा प्रयोग गरिएको भनिए पनि त्यसमा नेपालको रणनीति सफल हुन सकेन। 

ग्लोबल क्वालिफायर पुग्न नसकेपछि नेपालले टी २० विश्वकपसम्म पुग्ने ठूलो मौका गुमाएको छ। ओडिआई विश्वकपमा आइसीसीले टिम संख्या घटाउँदै लैजाँदा नेपाल जस्तो मुलुकका लागि अब ओडिआई विश्वकपमा छनोट हुन कठिन बनेको छ।

अब २०२० को फेब्रुअरीमा हुने त्रिदेशीय सिरिज अघि नेपालले खेल्ने कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता र सिरिजहरु छैनन्। सन् २०२३ को ओडिआई विश्वकपसम्म पुग्ने बाटोमा रहेको आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पहिलो सिरिज ओमान र अमेरिकासँग कीर्तिपुर मैदानमा खेल्ने तालिका सार्वजनिक भइसकेको छ।

खेलाडी र टिमको प्रदर्शनबाहेक पनि नेपाली क्रिकेटमा धेरै एक्स फ्याक्टरहरु छन्।

सबैभन्दा मुख्य कुरो नेपाली क्रिकेट हेर्न संघ क्यान आइसीसीको निलम्बनमा छ। घरेलु क्रिकेटको संरचना गतिलो छैन। आवश्यक तयारी गर्न र प्रतियोगिता खेल्नको लागि भौतिक पूर्वाधार पर्याप्त मात्रामा छैन।

घरेलु प्रतियोगिताहरु हुन नसक्दा नयाँ खेलाडीहरु धेरै आउन सक्दैनन्।

अहिले नेपालमा व्यावसायीक रुपमा ३ वटा टी-२० लिग सञ्चालन भए पनि त्यसबाट पर्याप्त संख्यामा खेलाडीहरु उत्पादन हुन सकिरहेका छैन। प्रायः उही खेलाडीले लिग खेलिरहेका हुन्छन्।

नेपाली क्रिकेट अभिभावकविहीन बनेको धेरै समय भइसक्यो। निर्वाचनमा राजनीतिक हस्तक्षेप रहेको भन्दै आइसीसीले क्यानलाई निलम्बन गरेपछि अहिले नेपाली क्रिकेटको सम्पूर्ण बागडोर आइसीसीले नै हेर्दै आएको छ। नेपालले क्याम्प राख्नेदेखि लिएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सम्मको निर्णय आइसीसीबाटै हुँदै आएको छ। जसले गर्दा नेपालले आफूखुसी केही गर्न पाउँदैन। निवर्तमान प्रशिक्षक जगत टमाटाले एकफटक आइसीसीको अनुमतिबिना नेपाली क्रिकेटको सिन्को पनि नभाँचिने प्रतिक्रिया दिएका थिए।

नेपाली क्रिकेटको अवस्था कहाँनेर छ भन्ने यस भनाइले पनि प्रष्ट पार्छ।

अर्कोतिर राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिबिना निर्वाचन गर्दै निर्वाचिन क्यान हुँ भन्दै हिँड्नेहरुले गर्दा नेपाली क्रिकेट अनिर्णयको बन्दी बनेको लामो समय भइसक्यो। आइसीसीले क्यानलाई निलम्बनमा राखे पनि राष्ट्रिय टिमलाई भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्न छुट दिएको छ। जसले गर्दा नेपालले विभिन्न प्रतियोगिताहरुमा भाग लिन भने पाइरहेको छ।

यहीबीचमै नेपालले पहिलो पटक आइसीसीको वान डे इन्टरनेसनल ओडिआईको मान्यता पाएको हो। तर चार वर्षको लागि पाएको त्यो अस्थायी मान्यताको नेपालले पूर्ण रुपमा उपयोग गर्न सकिरहेको छैन। ओडिआई मान्यता पाएको करिब डेढ वर्ष बितिसक्दा नेपालले जम्मा २ वटा ओडिआई सिरिज खेलेको छ।

आइसीसीबाट क्यान निलम्बन भएको ३ वर्षभन्दा बढी समय बितिसक्यो। यो समयमा नेपालले धेरै गुमाइसकेको छ। आइसीसीको वार्षिक बैठक र बोर्ड बैठक हुँदा नेपालबारे के निर्णय होला भन्ने चासो सबैको हुन्छ। तर क्यान निलम्बन फुकुवाबारे कुनै सुनुवाइ हुँदैन।

आइसीसीले क्यान विवाद समाधान गर्न सल्लाहकार समितिदेखि स्वतन्त्र समितिसम्म बनाएको छ। तर पनि भनेको समयमा तोकिएको काम हुन सकेको छैन। स्वतन्त्र समितिलाई आइसीसीले बाँकी रहेको जिल्लाको निर्वाचन, प्रदेशको निर्वाचन हुँदै केन्द्रको निर्वाचन गर्नेसम्मको जिम्मेवारी दिएको छ। केही जिल्लामै अझै निर्वाचन हुन बाँकी छ।

राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले क्यान विवाद चाँडै समाधान हुने बताएका छन्। यसअघि क्यानमा बसेर काम गरिसकेका सिलवालले अहिले क्रिकेटभित्रै केही मान्छे यो विवाद समाधान हुन नदिन सक्रिय रहेको आरोप लगाए। शनिवार भएको एक अन्तरक्रिया कार्यक्रममा उनले नेपाली क्रिकेटकै कसैबाट विबाद समाधान नगर भनेर आइसीसीमा पत्र गएको खुलासासमेत गरे।

उनले त्यस्ता व्यक्तिलाई समय आएपछि सामाजिक बहिस्कार गर्न आफैँ अघि बढ्नेसमेत बताए। तर उनले समय कहिले आउँछ खुलाएनन्। सिलवालले नेपाली क्रिकेटमा बाधक बन्ने अधिकार कसैलाई नभएको तर्क गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell