PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

असार ५ गतेको ती दुई कल: सञ्चै छु भनेको ४ घन्टामा मृत्युको सन्देश



विधुर ढकाल

असार ५ गतेको ती दुई कल: सञ्चै छु भनेको ४ घन्टामा मृत्युको सन्देश

असार ५ गते मध्याह्न। खाना खाएर यसो ढल्किएकी थिइन् धनकुमारी पौडेल। नयाँ नम्बरबाट आएको फोनको धुनले उनलाई ब्युँझायो। फोन उठाइन्।

'के छ? सन्चै छौ? भुराभुरी के गर्दैछन्?'

नयाँ नम्बरबाट फोन आए पनि आवाज परिचित नै थियो।

कुमारले गरेका रहेछन्।

'खाना खाएर यसो ढल्किएकी थिएँ। फोन आयो, भुराभुरीलाई कस्तो छ? के गर्दैछन्? भनेर सोध्नुभयो, 'धनकुमारीले सुनाइन्, 'धेरै कुरा भएको होइन, सन्चो बिसन्चोको मात्र कुरा भयो। ठीक छु भन्नु भएको थियो। अनि फोन राख्नुभयो।'

त्यतिबेला कुमार कहाँ छन् भन्ने उनलाई थाहा थिएन। न त उनले नै सोधिन् - 'कहाँ हुनुहुन्छ?'

धनकुमारीलाई थाहा थियो - कुमारले यहाँ छु भन्दैनन्।

'सुरक्षाको कुरा हो। मैले कहिले पनि कहाँ हुनुहुन्छ भनेर सोधिनँ। उहाँले पनि भन्नु भएन, 'उनले भनिन्, 'फोन राख्नुभयो। म घरधन्दामा लागेँ।'

लामो समयदेखि कुमार घर गएका थिएनन्। धनकुमारीका लागि उनको अनवरत अनुपस्थिति नौलो थिएन पनि। धनकुमारीलाई आफ्ना श्रीमानसँग कुरा गर्नका लागि यसैगरी फोन कुर्नुपर्थ्यो। उनले कुमारलाई फोन गर्दिनथिन्।

त्यसै दिन ४ बजे फेरि अर्को कल आयो। धनकुमारीले फोन उठाइन्। यसपाला फोनमा बोल्ने परिचित थिएनन्। १२ बजे आएको कलमा ठीकै छु भन्ने कुमार अब रहेनन् भन्ने खबर थियो, दोस्रो कलमा। धनकुमारी एकाएक अर्धचेत अवस्थामा पुगिन्।

+++

कुमारले जतिखेर घरमा आफ्नी श्रीमतीलाई फोन गरेका थिए, त्यही समयको आसपासमा लालबन्दी १ सर्लाहीका अजित यादव आफ्नो खेतबाट काम गरेर घर फर्किएका थिए। यो त्यही खेत हो जहाँ हामी घटनाको १७ दिनपछि पुग्दा पनि अजित उनकी श्रीमतीसहित काम गरिरहेका थिए।

कुमार पौडेलको मृत्यु भएको स्थान नै उनको खेत हो। घटना भएको दिन समाचारहरुमा लखनदेही खोलामा मृत्यु भन्ने समाचार आएका थिए। वास्तवमा घटनास्थल खोला नभइ खोलादेखि पूर्वतर्फ ५०० मिटरभन्दा बढीको दुरीको लखनदेहीस्थित जंगलको छेउमा रहेको बाटोको अर्को किनार बाँसको झाडीसहितको खेत हो।

यो बाँसको झाडी र खेतका मालिक हुन् अजित यादव। त्यस दिन बिहानैदेखि अजित खेतमा आफ्नी श्रीमतीसहित खेतालासँग काम गरेर बसेका थिए।

'त्यो दिन हामी बिहानभर यहीँ काम गरेर फर्किएका थियौँ,' उनले घटनास्थल देखाउँदै भने, 'बिहानको प्रहर काम सकेर फेरि साँझ फर्किने भन्दै काम गर्नेहरुलाई बिदा गरेर घर गएको थिएँ।'

तर, साँझको प्रहरमा खेतमा काम गर्न भने जान पाएनन्।

'खेतमा जान नपाएपछि लालबन्दी बजार गएको थिएँ। साथीले फोन गरेर तिम्रो खेतमा त मान्छे मारेको छ रे भन्यो। यहाँसम्म आउन चाहिँ पुलिसले दिएन, 'उनले भने, 'पछि आएको थिएँ। केही रगत मात्र थियो। रगत चाहिँ माटोले छोपिदिएँ।'

प्रहरी गइसकेपछि मात्र उनी घटनास्थल पुगेका थिए। दिउँसाे २:३० सम्म त प्रहरीले शव लिएर गइसकेको थियो।

जुन ठाउँमा कुमारको मृत्यु भयो त्यहाँ बाँस काटिएको देखिन्थ्यो।

'बाँस थाँक्रा बनाउनका लागि मैले नै काटेको हुँ,' उनले भने। रगतलाई माटोले पुरे पनि उनलाई मारिएका व्यक्ति कुमार पौडेल नै हुन् भन्ने चाहिँ पछि मात्रै थाहा भयो।

+++

काठमाडौंका पत्रकारहरुले घटना भएको केही समयमा नै प्रहरी हेडक्वार्टरबाट घटनाको बारेमा जानकारी पाइसकेका थिए तर स्थानीय पत्रकार भने घटनाबाट पछिसम्मै बेखबर रहे।

गोली चलेको जानकारी त पाए तर यथार्थ विवरण पाउनै सकेनन्।

'घटना कहाँ भएको हो भन्ने पनि यकिन थिएन। हामी त्यही बाटो हिँडेका थियौं। तर मेसो पाएनौँ,' पत्रकार घनश्याम बलम्पाकीले भने, 'हामी यहाँ पुग्दा केही पनि थिएन। केही रगत थियो, माटोले छोपिएको।'

घटनाको दिन त्यहाँका पत्रकारहरुले गरेको कल जिल्ला प्रहरी कार्यालयका प्रमुख र प्रवक्ताले पनि रिसिभ गरेनन्। घटना भएको साढे पाँच घण्टापछि मात्र प्रहरीले यसबारे आधिकारिक रुपमा जानकारी दिएको थियो।

तर, ३ बज्दानबज्दै सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको समाचार काठमाडौंबाट सबैतिर फैलिसकेको थियो। अनलाइनहरुमा ब्रेकिङ न्युजको भीड लागिसकेको थियो - दोहोरो भीडन्तको।

+++

असार ५ गते दिनभर पसलमा थिइन् चम्पादेवी यादव, दोहोरो भीडन्त भनिएको स्थान यहाँबाट ५ मिनेटकै दुरीमा पर्ने। यति ठूलो दोहोरो भीडन्तमा उनले गोली चलेको आवाज सुनिनन्।

'म यहीँ थिएँ। खाना खाएर ढल्किएकी। भर्खर आँखा लाग्दै थियो। एउटा लड्का आयो झक्झक्यायो,' उनले त्यो दिन सम्झिइन्, 'गाउँमा मान्छे मारिसक्यो। के सुतेर बसेको? भन्यो।'

सानो बस्तीसँगैको घुम्तीमा रहेको पसलमा रहेकी उनीमात्र होइन, गोलीको आवाज सुन्नेहरु कोही पनि भेटिएनन्।

चम्पादेवीले ती युवकलाई पनि चिनिनन् जसले उनलाई ब्युँझाए।

'खोइ त्यो मान्छे नि चिनिनँ। त्यहाँ (घटनास्थल) जाँदा मान्छे (शव) पनि थिएन्,' उनले भनिन्।

हरिण मार्न लागेको भनेर स्थानीयहरुलाई घटनास्थलतिर जान प्रहरीले रोकेको रहेछ, त्यतिखेर। काठमाडौँमा दोहोरो भीडन्त भनेर हल्ला गरे पनि प्रहरीले स्थानीय पत्रकारबीच सूचना पूरै लुकाएको थियो।

प्रहरी प्रशासनको यस्तो व्यवहारविरुद्ध पत्रकारले कडा प्रश्न पनि गरे, सामाजिक सञ्जालबाट। नागरिक दैनिकका पत्रकार टंक क्षेत्रीले फेसबुकमा लेखे -'के कुमार पौडेल दोहोरो भीडन्तमै मारिएका हुन्?'

घटना भएको दिन साँझ ७ बजे पोस्ट भएको उनको फेसबुक स्टाटसमा लेखिएको छ - 'जिल्लास्थित प्रहरी नेतृत्वले स्थानीय सञ्चारकर्मीको फोन नउठाउने मात्र हैन घटना भएको झन्डै साढे ५ घण्टासम्म पत्रकारहरुलाई गुमराहमा राख्नुले शंकाको ठूलो घर देख्छु म। जाबो ३०-३५ किलो गाँजासहित अभियुक्त समातिएको घटनामा तत्काल पत्रकारहरुबीच डंका पिट्ने प्रहरी बिहीबार विप्लव समूहका सर्लाही इञ्चार्ज मारिँदा पनि साढे ५ घण्टासम्म किन चुप? त्यो पनि सामान्य इमेल पत्रबाट जानकारी, क्या काइदा!'

अरुबेला घटना हुँदा फोटोसहित इमेल गर्ने प्रहरीले यस घटनामा भने फोटोसमेत नदिएको उनले पहिलोपोस्टसित बताए।

+++

असार ५ गते सर्लाहीको लालबन्दी १ लखनदेही खोलादेखि करिब ५०० मिटर पूर्वतर्फ सडक किनारमा प्रहरीको गोली लागेर कुमार पौडेलको मृत्यु भएको थियो। प्रहरीका अनुसार उनको मृत्यु २ बजे भएको हो।फोटो : संचारकेन्द्रडटकम

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि कुमार पौडेल घरमा पुगेका थिएनन्। तर, त्यही दिन उनले घरमा फोन गरेर सञ्चो  बिसञ्चो सोधेका थिए, जुन दिन उनी मारिए।

कुमार मारिएको खबर पाएलगत्तै उनकी श्रीमती धनकुमारी अर्धमुर्छित् भइन्। कुमारका भाइ हरिकृष्ण र बुबा खिलकराज घटनास्थलतिर गए पनि त्यहाँसम्म पुगेनन्। कुमारलाई मलंगवा लगेको खबर आएपछि उनीहरु त्यतैतिर मोडिए।

सोझै जिल्ला प्रहरी कार्यालय पुगे खिलकराज र हरिकृष्ण।

'अस्पतालमा छ। यहाँ छैन,' प्रहरी कार्यालयमा यस्तै जवाफ मिल्यो।

'अस्पताल पुग्दासम्म पनि अझै सास छ भन्ने आशा थियो। पुगेपछि भने आशा हरायो,' खिलकराजले भने, 'अस्पतालभरि प्रहरी थिए। म बा हुँ कुमारको। मलाई हेर्न देऊ भन्दा पनि दिएनन्।'

+++

असार ५ गते बिहान १० बजे कुमार पौडेल बहिनीको घरबाट खाना खाएर निस्किएका थिए।

'मामाकी छोरीकहाँ खाना खाएर निस्किएका थिए रे,' कुमारकी दिदी लक्ष्मीले भनिन्, '१२ बजेतिर मामाको घरमा चिया खाएको थियो रे। तीन जना थिए रे। अरु दुई जनालाई मामाले चिन्नु भएन।'

कुमारको घर, मामाको घर, मामाको घर र घटनास्थल पूर्वपश्चिम राजमार्गलाई केन्द्रमा राखेर 'सर्कल' कोर्दा एउटै परिधिमा पर्छ।

पौडेल चिया खाएर मामासँग बिदा भएर निस्किए।

घटना हुँदा कुमारसँग कति जना थिए भन्नेमा पनि विवाद छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाको भएको साँझ जारी गरेको वक्तव्यमा कुमारसहित चार जनाले प्रहरीलाई देखेपछि गोली चलाएको उल्लेख छ। तर, विप्लव समूहले तीन जनामात्रै भएको बताएको छ।

प्रहरीले घटनास्थलबाट तीन जना भागेको दाबी गरेको छ भने विप्लव समूहले कुमारसहित तीन जना रहेको र दुई जना आफ्नो सम्पर्कमा रहेको जनाएको छ।

'घटनाको दिन हामी दलित राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रमका लागि जाँदै थियौँ। कुमारजीकै आग्रहमा उहाँको आफन्तको घरमा चिया खान पसेका थियौँ,' घटना हुँदा कुमारसँगै रहेका र हाल पार्टीको सम्पर्कमा रहेका एक कार्यकर्ताले भने, 'चिया पिउँदै थियौं एक जना अपरिचित युवा हामी भए नजिकै आए र हेरे। उनी फर्किएपछि हामीलाई शंका लाग्यो र हामी निस्कियौं।'

त्यहाँबाट निस्किए पनि उनीहरुको जम्काभेट तिनै युवकसँग भयो जसका गतिविधिले उनीहरुलाई शंका पैदा गरेको थियो।

'उहाँको आफन्तकहाँबाट निस्किएको १० मिनेट अगाडि बाँसको घारीमा पुगेर कुमारजीले पिसाब गरौँ भन्नुभयो हामीसँग दुई वटा बाइक थियो। हामी पिसाब फेर्न सडक किनारमा गएका थियौँ,' उनले भने, 'एउटा मोटरसाइकलमा दुई जना अपरिचितहरु आए। एकजनाले कुमारलाई समात्यो। अर्कोले कुमारजीलाई हतियार ताक्यो।' बन्दुक ताक्ने तिनै युवक थिए जसले कुमारहरुको 'रेकी' गरिरहेको थियो।

'कुमार तैँ होइनस्?'

कुमारको मुखबाट मास्क खोल्न लगाए।

कुमार नै हो भन्ने पक्का भएपछि उनीहरुले मोबाइलबाट अरु सहयोगी डाके।

'आफ्नो कोड भाषा प्रयोग गर्दै कुमार भेटिएको छ आउनुस् भन्दै बोलाए। २ /३ मिनेटमै मोटरसाइकलमा अरु दुई जना आइपुगे,' उनले भने, 'दुई जना आउनासाथ कुमारजीलाई गोली हाने। त्यति गर्दा एक जना हाम्रा साथी त्यहाँबाट भागिसक्नु भएको थियो।'

गोली चलेलगत्तै कुमारको शरीर बारीको डिलतिर ढल्यो।

'मतिर गोली चलाउन थालेपछि जंगलतिर भागेँ। गोली चलाए पनि मलाई ताकेरै हानेनन् जस्तो लाग्छ,' उनले भने, 'नजिकबाट हानेका थिए। ताकेकै भए मलाई पनि लाग्थ्यो।'

उनका अनुसार दोहोरो भीडन्त यतिमात्रै हो। प्रहरीले भने उनीहरुसँग भीडन्त हुँदा पेस्तोल बरामद भएको समेत जनाएको छ।

'त्यसपछि के के भयो तपाईंलाई थाहा होला। हातमा पेस्तोल राखिदिएछन्। दोहोरो भीडन्त भनेछन्...,' उनले भने।

दोहोरो भीडन्त भएको खबर पाएलगत्तै कुमारसँगै रहेका उनका आफन्तले राष्ट्रिय मानव अधिकार आयोगमा खोजीका लागि निवेदनसमेत दिए। पछि उनी आफैँ आफन्तको सम्पर्कमा पुगे।

कुमार पौडेलको हत्या भयो या दोहोरो भीडन्त अझै प्रष्ट छैन। तर, उनको यस्तोखाले मृत्यु भने सरकारको टाउको दुखाइको विषय बनिरहेको छ। आजै पनि कुमार पौडेलको मृत्यु होइन, गैरन्यायिक हत्या भयो भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरे। सत्तारुढ दलकै सांसद जनार्दन शर्माले त संसदमै कुमार पौडेलको गैरन्यायिक हत्या भएको दाबी गरिसकेका छन्। के कुमार पौडेलको मृत्युमा अरु कसैको सन्देहपूर्ण भूमिका छ? अर्को श्रृङ्खलाको प्रतीक्षा गर्नुस्।

 

सम्बन्धित समाचार

सुकुम्बासीका हिरो तर सरकारको भिलेन : कुमार पौडेलसँग जोडिएको सागरनाथ कनेक्सन

प्रहरीको विवादित 'इन्काउन्टर'मा मारिएका कुमार पौडेल आखिर को हुन्?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell