PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गुठी संस्थानको लापरवाहीः झन्डै रोकियो इष्टदेवी तलेजुको पवित्रारोहण पूजा



सहयोग रञ्जित

गुठी संस्थानको लापरवाहीः झन्डै रोकियो इष्टदेवी तलेजुको पवित्रारोहण पूजा
तलेजु भवानीको मन्दिर

काठमाडौः राजधानीको वसन्तपुरस्थित तलेजु भवानीलाई नेपालको इष्टदेवीका रुपमा पुज्ने गरिन्छ। वर्षभरि नै तलेजु मन्दिरमा अनेकौं पूजाहरु हुने गर्छन्। गथांमुग: को दिन पनि तलेजु भवानीको पवित्रारोहण पूजा हुने गर्छ। बिहानदेखि बेलुकीसम्म विभिन्न चरणमा छुट्टा छुट्टै पूजा हुन्छ।

विशेष गरी यस दिन तलेजु भवानीलाई हातले बनाएको विशेष किसिमको जनै र कपासको धागो तिसा: (गहना) का रुपमा चढाउने गरिन्छ। यस्तै साँझ तलेजु भवानीलाई ९ वटा बोकाको बलि दिने परम्परा रहेको छ।

तर, मंगलबार गथांमुग: का दिन तिनै इष्टदेवी मानिने तलेजु भवानीको पूजा नै रोकिने अवस्था सिर्जना भयो।

पवित्रारोहण पूजाका लागि गुठी संस्थानले पूजा सामाग्रीको व्यवस्था गर्नुपर्ने हुन्छ। संस्थानले सामानको जोहो गरेर पुजारीलाई दिने काम टेन्डर मार्फत् ठेकेदारलाई दिने गरेको छ। गुठी संस्थानले ९ वटा बोका ल्याउने जिम्मेवारी पनि ठेकेदारलाई नै दिएको छ।

मंगलवार भने तलेजु भवानीको पवित्रारोहण पूजा अन्तर्गत बलिका लागि राति साढे ११ बजेसम्म पनि पूजाका लागि चाहिए जस्तो बोका गुठी संस्थानले व्यवस्था नगरिदिँदा मल्लकालमा सुरु भएको इष्ट देवीको पूजा रोकिनै लागेको थियो।

पूजाका लागि गुठी संस्थानले बोकालाई बिहानै तलेजु मन्दिर परिसरमा पुर्‍याउनु पर्थ्यो। पूजामा जथाभावी जुन पायो त्यही बोका ल्याएर बलि दिन मिल्दैन। बलिका लागि एउटै रंगको, स्वस्थ, चारै खुट्टा ठीक भएको (कुनै घाउ या चोटपटक नलागेको), कुनै दाग नभएको 'चोखा' बोका चाहिन्‍छ।

गुठी संस्थानका ठेकेदार बिहान १० बजेतिर पूजाका लागि भनेर बोका लिएर मन्दिर पुगे। तर, ठेकेदारले ल्याएका सबै बोकाहरु पूजामा बलि दिन नमिल्ने खालका थिए।  

बलिका लागि ल्याइएका सबैजसो बोका साना थिए त्यसैले पूजारीहरुले ठेकेदारले ल्याएका बोका पूजाका लागि जस्तो चाहिने हो त्यस्ता नभएको भन्दै फिर्ता पठाइदिए। बोका फिर्ता पठाएपछि पूजारीहरु अन्य पूजामा व्यस्त भए।

तलेजुका पुजारी उद्धव कर्माचार्य भन्छन्, 'हामीले दिनभरि कुर्‍यौं। तर बलिका लागि आवश्यक बोका नआएपछि हामीले गुठी संस्थानमा सम्पर्क गर्‍यौं। संस्थानका प्रशासक नारायण चौधरी र काठमाडौंका जिल्ला आयुक्तलाई पटकपटक फोन गर्‍यौं। उनीहरुले आउँदैछ, व्यवस्था हुँदैछ भन्ने जवाफ दिए।'

मन्दिर परिसरमा गरिने सबै पूजाहरु सकिएका थिए। बाँकी थियो त मन्दिरभित्र हुने विशेष पूजा। साँझको ५ बज्यो। तर संस्थानबाट बोका आएनन्।

त्यति बेलासम्म पूजा नै रोकियो भन्ने हल्ला हावाजस्तै फैलिसकेको थियो। स्थानीयहरु आक्रोशित भए। त्यसपछि पुजारीहरुले 'फोर्स' लगाए।

'हामीले जहाँजहाँ सक्छौं। सबै ठाउँमा सम्पर्क गर्यौं। बेलुकी भयो उताबाट जहिल्यै हुँदैछ हुँदैछ भन्ने कुरा मात्रै आयो। हामीलाई त पूजा नै रोकिन्छ जस्तो लागिसकेको थियो', कर्माचार्य भन्छन्, 'तर त्यसो भएन। हामी अबेरसम्म कुरेर बस्यौं। अन्तत: करिब साढे ११ बजे गुठी संस्थानले बलिका लागि बोका पठायो।'

पवित्रारोहण पूजा अन्तर्गत एउटा पूजामा नै ४२ जनासम्म सहभागी हुने गर्छन्। संस्थानले बोका ल्याएपछि पूजा फेरि सुरु भयो र रातिको ३ बजे विधिवत् पूजा सकियो।

कर्माचार्य यी सबै समस्या गुठी संस्थानले पूजाका लागि आवश्यक बोकादेखि सबै सामाग्री ठेक्काबाट सञ्चालन गर्दा उत्पन्न भएको बताउँछन्। दसैंमा हुने पूजा जस्तै यो पवित्रारोहण पूजा पनि उत्तिकै महत्वपूर्ण भएको बताउँदै उनले भने, 'ठेकेदारले त आफूलाई फाइदा हुने गरि मात्र सामान ल्याउँछ। उनीहरुलाई हाम्रो आस्था, धर्मको महत्व थाहा हुँदैन। संस्थानले कामको जिम्मेवारी लिएपछि जवाफदेही हुनुपर्‍यो नि। ठेकेदार देखाएर पन्छिन मिल्दैन।'

यता, गुठी संस्थानले भने ठेकेदारको कमजोरीका कारण पूजा रोकिने अवस्थामा पुगेको जनाएको छ। गुठी संस्थान काठमाडौं शाखाका जिल्ला आयुक्त बैकुण्ठ रेग्मी बोका ल्याउने बेलामा ठेकेदार नै बेपत्ता भएको बताउँछन्।

'ठेकेदारले राम्ररी काम नगरेको देखियो। पूजाभन्दा पहिले नै उसले व्यवस्था गर्नुपर्ने हो। बिहान कमसल बोकाहरु लगेका कारण फिर्ता पठाइएको रहेछ। मैले ४-५ बजे मात्र जानकारी पाएँ। ठेकेदार बोका ल्याउनु सट्टा भागेछ। पछि हामी आफैं गएर बोका किनेर पूजाका लागि लग्यौं। त्यसैले ढिला भयो।'

आयुक्त ठेकेदारको कमजोरीका कारण गुठी संस्थान नै बदनाम भएको भन्दै अब लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्ने बताउँछन्। पहिला झैं व्यवस्थित रुपमा पूजा सञ्चालन गर्न आगामी दिनमा सजग रहने उनको तर्क थियो।

पुजारी कर्माचार्य भने मंगलवार पूजा रोकिएको भए त्यसले नकारात्मक अवस्था सिर्जना गर्न सक्थ्यो भन्छन्। त्यसैले आगामी दिनमा यस्तो लापरवाही हुन नदिन गुठी संस्थान सजग हुनुपर्ने सुझाव दिँदै भन्छन्, 'धार्मिक कुरामा राजनीति गर्नु हुँदैन। फेरि यस्तै दोहोरिए पूजा नै रोकिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell