PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कुमार पौडेल मृत्युको मुचुल्कामा सही गरेका वडा अध्यक्षको यु टर्न, भने : दोहोरो भिडन्त भएकै थिएन



विधुर ढकाल

कुमार पौडेल मृत्युको मुचुल्कामा सही गरेका वडा अध्यक्षको यु टर्न, भने : दोहोरो भिडन्त भएकै थिएन

काठमाडौं : असार पाँच गते कुमार पौडेल दोहोरो भिडन्तमा परेको खबर पाएलगत्तै बाबु खिलकराज र भाइ हरिकृष्ण जिल्ला प्रहरी कार्यालय सर्लाहीतिर दौडिए।

प्रहरीकहाँ पुग्दा 'यहाँ त होइन जिल्ला अस्पतालमा' भन्ने जानकारी पाए। लगत्तै हान्निएर अस्पताल पुगे। अस्पतालसम्म पुग्दा पनि खिलकराजलाई लागेको थियो - छोरो ज्युँदै छ।

तर, उनले चाहेअनुसार हुने कुरा थिएन, जे भइसकेको थियो त्यसलाई सहनुको विकल्प थिएन उनीसामु।

अस्पतालमा पुगेपछि मुखमात्र हेर्ने चाहना प्रकट गरे पनि पूरा हुन सकेन। त्यसपछि त उनी शव बुझ्ने मुडमा नै रहेनन्।

'यथार्थमा के भएको हो जानकारी नपाउँदासम्म शव नबुझ्ने भनेको थिएँ,' खिलकराजले भने, 'मारी त हाले अब त्यसलाई जलाउनु र नजलाउनुमा के थियो र?'

उनी जान्न चाहन्थे कसरी र किन मारिए कुमार?

'घटना भएको के हो थाहा छैन। हामीलाई शव भन्दा पनि यथार्थ के भएको हो त्यसबारे जान्नु थियो अझै कसैले के हो भनेका छैनन्,' खिलकराजले भने।

घटनाको भोलिपल्ट रिपोर्ट आउन ढिलो हुने भयो भन्दै हतारमा शव बुझ्न दवाव दिइयो। भाइ हरिकृष्ण भन्छन्, 'मानव अधिकार आयोगका प्रतिनिधिको रोहवरमा शव बुझ्यौं।'

कुमारका बुबा खिलकराज सुरुदेखि नै शव नबुझ्ने अडानमा थिए। मानव अधिकार आयोगका प्रतिनिधिहरु नै रोहवरमा बस्ने र घटनाको निष्पक्ष छानविन गर्ने विश्वास दिलाएपछि भाइ हरिकृष्णले शव बुझे।

'हामीलाई पोस्टमार्टम रिपोर्ट दिएनन्। मानवअधिकार आयोगका प्रतिनिधिहरुको रोहवरमा शव बुझेका हौँ,' उनले भने।

शव परीक्षणपछि राष्ट्रिय मानव अधिकार आयोगको २ नं प्रदेशका प्रतिनिधिहरुको रोहवरमा 'एउटा कागज' मा हस्ताक्षर गरी हरिकृष्णले शव बुझेका थिए। बुझे लगत्तै दाह संस्कार पनि गरे।

सर्लाहीमा प्रहरीसँगको मुठभेडमा मृत्यु भएका भनिएका नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको पोस्टमार्टम रिपोर्ट घटना भएको डेढ महिना बितिसक्दा पनि उनका आफन्तले प्राप्त गरेका छैनन्।

+++

दोहोरो भिडन्त भनिए पनि कुमारको मृत्युमाथि प्रश्न उठ्यो। घटनाको छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गर्‍यो। त्यो टोली घटनाको अनुसन्धानका लागि सर्लाही पनि पुग्यो। तर, प्रत्यक्षदर्शीसमेत फेला पार्न सकेन। केही स्थानीय तथा जनप्रतिनिधिसँग भेट गरेर गृहको अनुसन्धान टोली फर्कियो।

यसरी फर्किएको टोलीले घटनामा संलग्न प्रहरीहरुसँग कुरा गर्‍यो। त्यही आधारमा प्रतिवेदन तयार पार्‍यो।

त्यो प्रतिवेदनमा कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको गृहमन्त्री रामबहादुर थापाले संसदमा जानकारी दिए।

'लालबन्दीबाट सिन्धुलीतर्फ जाँदै गर्दा कुमार पौडेलको प्रहरीसँग जम्काभेट भयो। उनका साथीहरुले प्रहरीतर्फ फायर गर्दै जंगलतर्फ भागे। कुमार पौडेलले पनि प्रहरीलाई लक्षित गरी फायर गरेका थिए। उनको हानेको मिस फायर भयो। जवाफी कारवाहीमा कुमार पौडेलको मृत्यु भयो,' प्रतिवेदनलाई उदृत गर्दै गृहमन्त्री थापाले भनेका थिए।

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका पौडेल विध्वंसात्मक गतिविधिमा संलग्न भएको छानविन समितिले जनाएको छ। उनको निगरानीका लागि केन्द्रबाट विशेष प्रहरी फोर्स, केन्द्र र जिल्लास्तरबाट समेत प्रहरी परिचालन गरिएको गृहमन्त्री थापाले भनेका थिए।

प्रतिवेदनमा पौडेलले जनप्रतिनिधिलाई धम्क्याएर चन्दा माग्ने गरेको उल्लेख छ। छानविन टोली समक्ष वाग्मती नगरपालिकाका प्रमुख भरत थापाले पौडेलले आफूलाई मार्ने धम्की दिएको दाबी गरेका छन्।

प्रतिवेदनमा मेयर थापाको भनाइलाई राखिएको छ - ‘लिखित रूपमा र्नै धम्की दिएका थिए। युद्ध सुरु हुनेबित्तिकै पहिला नै गोली मलाई हान्ने धम्की दिन्थे, दलाल गुण्डा भन्दै मेरो चरित्र हत्या गरेर विज्ञप्तिसमेत निकालेका छन्।’

कुमार पौडेलले मेयर थापा विरुद्ध राजिनामा दिन माग गर्दै विज्ञप्ति निकालेका थिए।

'पार्टीको नीति होला र चन्दा मागेको थाहा थियो। मेयर थापालाई राजीनामा दिन धम्कीसहित प्रेस वक्तव्य जारी गरेका थिए,' सर्लाहीका एक पत्रकारले भने, 'तर त्यस्तो दुस्मनी थियो भन्ने लाग्दैन। चन्दाबाहेक उनको अर्को धम्की छ जस्तो लाग्दैन।'

मेयर थापाले छानविन समिति समक्ष आफ्नो कार्यकक्षको पछाडि भित्तामा बम राखेर पौडेलले आतंक मच्चाएको दाबी गरेका छन्। पौडेलले दिएको धम्कीबारे शीर्ष नेतालाई पनि जानकारी गराएको उनले दाबी गरेका छन्।

त्यस्तै, छानविन टोलीको प्रतिवेदनमा लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष सुरेन्द्र न्यौपानेले पौडेलले चन्दा मागेको बताएको उल्लेख छ।

छानविन टोली समक्ष सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का स्थानीय नेताले 'मेड इन अमेरिका' लेखेको रिभल्वर बोकेर हिँड्ने गरेको दावी गरेका छन्। त्यस्तै सागरनाथ वन परियोजनाका प्रमुख देवशमणि त्रिपाठीले किसानले झाडी फाँडेर बसेको जग्गामा समेत पौडेलले राजनीति गरेको दाबी गरेका छन्।

‘स्थानीयले झाडी फाँडेर केही वर्षदेखि खेती गर्थे,’ त्रिपाठीले भनेका छन्, ‘पछि उनले किसानले पाउनुपर्छ भन्दै राजनीतिक मुद्दा बनाए।’

पौडेलको नेतृत्वमा वनको ३५ सय हेक्टर क्षेत्र कब्जा भएको र अहिले ८० घरले दुई हजार दुई सय हेक्टर जमिन अतिक्रमण गरेको दाबी गरेका छन्।

परियोजनाका प्रमुख त्रिपाठीले पहिलोपोस्टसँग भने पौडेलले चन्दा माग्ने कुरालाई सामान्य भएको बताए।

'अब त्यो विद्रोहीको धर्म पनि हो। संविधान मान्ने र नमान्नेबीच यस्तो हुनु सामान्य जस्तै लाग्छ,' उनले भने, 'पछिल्लो समय हामीलाई त्यहाँ कुनै अवरोध छैन।'

कुमार पौडेलको मृत्युसँगै सागरनाथ परियोजनाले अतिक्रमित क्षेत्रमा वृक्षारोपण थालिसकेको छ।

घटनाको छानविन गर्न राष्ट्रिय मानव अधिकार आयोगले पनि छुट्टै टोली सर्लाहीमा खटाएको थियो। स्रोतका अनुसार मानव अधिकार आयोगको टोलीले मुठभेडको कुनै संकेत फेला पार्न सकेको छैन। सँगसँगै अनुसन्धान थालेका अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमले भने घटनाको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेका छन्।

गृह मन्त्रालयको टोलीले दोहोरो भिडन्त भनेर रिपोर्ट तयार गरे पनि इन्सेक र एडभोकेसी फोरमले तयार पारेको प्रतिवेदनमा भने दोहोरो भिडन्तको कुनै संकेत नदेखिएको उल्लेख छ। शव परीक्षण रिपोर्ट प्राप्त गर्न यी दुई संस्थाले पनि सकेका छैनन्। इन्सेकका २ नं प्रदेश प्रमुख राजु पासवानले जिल्ला प्रहरी कार्यालय तथा अस्पतालले पोस्टमार्टम रिपोर्ट उपलब्ध नगराएको बताए।

अस्पतालले एक हप्तामा पोस्टमार्टम रिपोर्ट दिने भने पनि नदिएको उनले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयले पनि पोस्टमार्टम रिपोर्ट दिन नमानेको उनको भनाइ छ।

पहिलोपोस्टसँगको सम्पर्कमा सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले पोस्टमार्टम रिपोर्टमा 'डेथ बाइ बुलेट इन्जुरी' उल्लेख भएको बताए। तर, रिपोर्ट अनुसन्धानकै क्रममा रहेकाले सार्वजनिक गर्न नमिल्ने जनाए। हात भाँचिएको शरीरमा चोटपटक लागेको भन्ने हाम्रो जिज्ञासामा उनले भने, 'यति धेरै बाहिर आएका छन्। यस विषयमा पनि केही होला,' उनले भने।

पोस्टमार्टम रिपोर्ट प्रहरीले राष्ट्रिय मानव अधिकार आयोगमा बुझाएको छ। मानव अधिकार आयोगका दुई नं प्रदेश कार्यालयका वीरबहादुर बुढा मगरले भने घटनाको छानविन भइरहेको तर निष्कर्षमा नपुगेको बताए।

'हामीले छानविन गरिरहेका छौँ। प्रतिवेदन हामीले मुख्यालयमा पुर्‍याउँछौँ। त्यहीबाट सार्वजनिक हुन्छ,' उनले भने।

मुचुल्कामा सही गर्ने वडा अध्यक्ष भन्छन् : प्रहरी कार्यालयमा हस्तक्षर गरायो, दोहोरो भिडन्त होइन

घटना भएको दिन राति ८ बजे घटनाको मुचुल्का इलाका प्रहरी कार्यालय नवलपुरमा तयार भयो। घटना भएको स्थान इलाका प्रहरी कार्यालय लालबन्दीमा पर्छ। घटनास्थल लालबन्दी नगरपालिका वडा नं १ मा पर्छ। यस वडा अध्यक्ष हुन्, पञ्चलाल स्याङ्बो।

घटना भएको दिन असार ५ गते दिनभर स्याङ्बो वडा कार्यालयमै थिए। घटनाको बारेमा उनले सुरुमा सशस्त्र प्रहरी क्याम्प नवलपुरबाट जानकारी पाएका हुन्।

'सशस्त्र प्रहरी क्याम्प नवलपुरबाट फोन आयो। तपाइँको वडा लखनदेही खोलामा घटना भयो, केही थाहा छ कि भनि सोध्यो,' इन्सेक र एडभोकेसी फोरमको प्रतिवेदनमा उनको भनाई उदृत गरिएको छ, 'मलाई केही थाहा भएन भनेर जवाफ दिएँ। हरिवन नपा–३ मा मेरो भाइको घर छ। त्यतातिर घटना भयो कि भनेर भाइलाई फोन गरेर सोधेँ। उनलाई पनि थाहा थिएन। लगतै सांसद डिल्ली उप्रेतीले फोन गर्नुभयो। तपाइँको वडामा घटना भयो। मैले बुझ्दैछु भन्नुभयो।'

उनले नवलपुर प्रहरी कार्यालयका सईलाई फोन गरेर घटना के भएको हो भनेर सोधेँ। प्रहरी कारबाहीमा कुमार पौडेलको मृत्य भयो’ भनेर जवाफ आयो।

तीन महिना अगाडि मात्र पौडेल र स्याङ्बोको भेट भएको रहेछ।

'कुमार पौडेल मोटरसाइकल सर्भिसिङ गर्न नवलपुर आएका थिए। त्यतिबेला पौडेलसँग भेट भएको थियो। सँगै नास्ता पनि खायौँ। पार्टीको अभियानमा लागेको छु भनेर केही कुरा गर्‍यो। आर्थिक सहयोगका लागि केटाहरू आए सहयोग गर्नु भनेको थियो,' उनले भनेका छन्, 'एक्कासी यस्तो घटना भएको सुनियो।'

त्यसै दिन साढे २ बजे तिर स्याङ्बोलाई श्रीमतीको फोन आएको थियो।

६ देखि ७ ओटा प्रहरी भ्यान, एउटा एम्बुलेन्स आफ्नो घर नजिकबाट दक्षिणतिर जाँदै गरेको उनले बताइन्। प्रहरीले घटना स्थलतिर कसैलाई जान दिएको थिएन। शव एम्बुलेन्समा राखेर गएको र उक्त शवलाई प्लास्टिकमा बेरेर राखिएको पत्नीले सुनाइन्। उनले भनेका छन्, 'घटनास्थलमा म गएको छैन। त्यो दिनभर वडा कार्यालयमा बसेँ। ५ बजे घर गएँ।'

त्यसै दिन राति ८ बजे नवलपुर प्रहरी कार्यालयका सईले फोन गरेर स्याङ्बोलाई कार्यालयमा आउन आग्रह गरे। उनले आफूसँग साधन नभएको बताएपछि लिन कार्यालयको गाडी पठाए। प्रहरी कार्यालय पुगेपछि उनलाई घटनास्थलको मुचुल्कामा हस्ताक्षर गर्न भनियो।

घटनास्थल नपुगेका। शव पनि नदेखेका। स्याङ्बोलाई मुचुल्कामा किन हस्ताक्षर गराइयो? प्रश्न खडा भएको छ।

'मैले शव हेरेको छैन। घटनास्थल हेरेको छैन। मैले कसरी मुचुल्कामा सही गर्ने?,' उनले प्रश्न गरे।

त्यसपछि कुमार पौडेलको घटनास्थलको फोटोहरू हो भनेर देखाइयो।

'फोटो स्पष्ट छैन त?' उनले फेरि प्रश्न गरे।

कुमार पौडेलको अनुहार देखिने फोटो देखाइयो।

'छातीमा गोली लागेको एउटा फोटो र टाउकोमा गोली लागेको अर्को फोटो देखाइयो। शव भने हेर्न दिइएन। तीन पेजको मुचुल्का बनाएको रहेछ। मुचुल्कामा लेखिएको विषय पढेर सुनाइएन्,' उनले भनेका छन्, 'दोहोरो भिडन्तमा कुमार पौडेलको मृत्यु भएको, तीन जना भागेको र तपाइँको वडामा घटना भएको भनी मुचुल्कामा सहीछाप गराए।'

त्यतिले पुगेन। भोलिपल्ट पुनः प्रहरी घरमा आए।

'तीन जना फरार व्यक्तिको नाम छुटेकाको भन्दै सच्याएर ल्याएको भन्दै पुन: सही गराए। त्यतिबेला पनि मुचुल्का पढ्न दिएनन्,' उनले भनेका छन्, 'गाउँलेहरू घटनास्थलमा गोली नै नचलेको बताउँछन्। गाईवस्तु चराउनेहरूलाई प्रहरीले आवतजावत गर्न रोक लगाएको थियो। घटना दोहोरो भिडन्त नभएको हुँदा घटनाको निष्पक्ष छानविन होस्।'

घटना स्थलमा थिएनन् नजिकैका प्रहरी

वडा अध्यक्ष स्याङ्बोले घटनाको मुचुल्का इलाका प्रहरी कार्यालय नवलपुरमा गराइएको बताए पनि नवलपुर प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक सूर्यबहादुर कार्कीले भने मुचुल्का इलाका प्रहरी कार्यालय लालबन्दीमा भएको दाबी गरेको प्रतिवेदनमा उल्लेख छ।

स्याङ्बोले इन्सेक र एड्भोकेसी फोरमको टोली समक्ष 'नवलपरका सई'ले फोन गरेर बोलाएको बताएका छन्। तर प्रहरी नायव निरीक्षक (सइ) कार्कीले भने यसलाई अस्वीकार गरेका छन्।

'घटना भएको दिन बकपत्र रहेकाले म जिल्ला अदालत गएको थिएँ। कुमार पौडेलको शव पोष्टमार्टम बारेमा पनि थाहा भएन। घटना मुचुल्का इलाका प्रहरी कार्यालय, लालबन्दीबाट भएको हो। यो कार्यालय इलाका प्रहरी कार्यालय, लालबन्दी मातहत पर्छ। इलाका प्रहरी कार्यालय, लालबन्दीले घटनाको अनुसन्धान गर्दैछ,' उनको भनाई उदृत गर्दै प्रतिवेदनमा भनिएको छ।

असार ५ गते घटनाको २० मिनेटपछि मात्र इलाका प्रहरी कार्यालय लालबन्दीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी निरीक्षक किरणप्रसाद न्यौपानेको टोली त्यहाँ पुगेको हो। घटनाका क्रममा इलाका प्रहरी कार्यालयको टोली त्यहाँ नरहेको प्रहरी निरीक्षक न्यौपानेले बताएका छन्।

घटनास्थलबाट बरामद दुई मोटरसाइकल र अन्य सामाग्री समेत इलाका प्रहरी कार्यालयमा राखिएको उनले जानकारी दिएका छन्।

घटना अघि सादा पोशाकका प्रहरीको चहलपहल

स्थलगत अध्ययन तथा अनुगमनमा गएको टोलीले पौडेल मारिएको भनिएको स्थानमा रगतका दागहरू फेला पारेको थियो। घटनास्थल नजिकै चाउचाउको कार्टुन, चाउचाउका खाली खोलहरु र मिनिरल वाटरका खाली बोतलहरु फालिएको पाइएको छ।

अनुगमन टोलीले भ्रमण गरेका घटनास्थल भन्दा लगभग १ किलोमिटर उत्तरतर्फ रहेको हिरापुर गाउँका बासिन्दाले गोलीको आवाज नसुनेको बताएका छन्।

'उक्त दिन बिहानैदेखि लखनदेही जंगलमा सुरक्षाकर्मीको चहलपहल देखेको स्थानीयले बताए। सो दिन घटनास्थल वरपर कृषक तथा घाँस दाउरा गर्ने स्थानीयहरुलाई आवतजावत गर्न सुरक्षाकर्मीले अवरोध गरेका थिए,' अनुसन्धान प्रतिवेदनमा अगाडि भनिएको छ, 'सो क्षेत्रमा जान सुरक्षाकर्मीले किन रोकेको र के भएको भनी स्थानीयवासीलाई जानकारी थिएन। कुमार पौडेल मारिएको सञ्चार माध्यमबाट थाहा पाएको स्थानीयले अनुगमन टोलीलाई बताए।'

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले भने घटनाको तीन चार दिनदेखि चन्दा आतंक बढेको र कुमार पौडेलले चन्दा नदिए मारिदिने धम्की दिएको भन्ने गुनासो आएको बताएका छन्। घटना सुनियोजित नभएको उनको दावी छ।

'प्रहरी गस्तीमा थियो। दुईवटा मोटरसाइकलमा चार जना थिए। एउटा अन टेस्ट लेखेको बाइक थियो। प्रहरीले त्यस्तो बाइकमा बढी ध्यान दिन्छ। त्यसैक्रममा उनीहरूले प्रहरी गस्ती टोलीमाथि गोली फायर गरे। प्रहरीले पनि आत्मरक्षाका लागि गोली फायर गर्‍यो। दोहोरो फायरिङ भयो। कुमार पौडेललाई गोली लाग्यो,' उनले भनेका छन्।

पोस्टमार्टम गर्ने मलंगवा अस्पतालका चिकित्सक डाक्टर वीरेन्द्र मण्डलले हात र टाउकोमा गोली लागेको र शरीरका अन्य भागमा चोटपटक लागेको देखिएको बताएका छन्।

मृतक पौडेलका मामा हरिबहादुर कार्कीले भने पौडेललाई घटनाकै दिन हिरापुरबाट नियन्त्रणमा लिएर घिसार्दै हत्या गरेको बताएका छन्। पौडेल मृत्युहुनु अघि उनकै घरमा चिया खाएर निस्किएको परिवारले बताउँदै आएको छ।

त्यस्तै घटनास्थल नजिकैका स्थानीयले पनि गोली चलेको आवाज नसुनेको बताएका छन्।

'गोलीको आवाज सुनिएको छैन। सुरक्षाकर्मी परिचालन गरिएको थियो। घटनास्थलतिर जान सबैलाई रोक लगाइएको थियो। स्थानीय घटनाबाट डराएका छन्। सोधपुछ गरेर गएपछि प्रहरी आउँछ कि भन्ने डर र त्रास स्थानीयमा रहेको छ। घरमा पनि कसैले गोली चलेको नसुनेको बताउँछन्। यो घटना दोहोरो भिडन्त हुँदै होइन,' एक स्थानीयलाई उदृत गर्दै प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनमा दोहोरो भिडन्त भएको विश्वासिलो आधार नभेटिएको उल्लेख छ।

'प्रहरीले दोहोरो भिडन्त भएको जनाएता पनि यसको विश्वसनीय आधार भने पाउन सकिएन,' प्रतिवेदनमा भनिएको छ, 'घटनाको अनुगमन तथा तथ्य संकलनमा गएको टोलीले देखेको घटनास्थलको अवस्था तथा प्रकृति, घटनास्थलमा खिचिएको फोटोहरु, जिल्ला अस्पतालमा राखिएको मृतकको शवको अवलोकन, शव पोष्टमार्टम गर्ने डाक्टरको भनाइ, मृतकको परिवार र आफन्तको भनाइ, स्थानीय व्यक्तिहरूको कथन अनुसार घटना भएको दिन स्थानीयबासीलाई बिहानैदेखि घटनास्थलमा आवतजावतमा रोक लगाइनु, स्थानीय प्रहरीलाई घटनाबारे जानकारी नहुनु, दोहोरो गोली हानाहानको घटना भनिए पनि स्थानीयवासीले दोहोरो भिडन्तमा गोली चलेको आवाज नसुन्नु जस्ता कारणले कुमार पौडेलको दोहोरो भिडन्तमा मृत्यु भएको हो भन्न सकिने विश्वसनीय आधार देखिएन।'

कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभई नियन्त्रणमा लिएपछि गरिएको हुनसक्ने यथेष्ठ सम्भावना रहेका निष्कर्ष अनुसन्धानले निकालेको छ। इन्सेक र एडभोकेसी फोरमले घटनाको छानविन गर्न उच्चस्तरीय छानविन टोली गठन गर्न सुझाव दिएका छन्।

'कुमार पौडेल हत्या घटनाको न्यायिक छानविन गर्न उच्चस्तरीय संसदीय समिति गठन गरी सत्य तथ्य उजागर गर्न माग गर्दछौँ,' प्रतिवेदनमा भनिएको छ, 'घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा दण्डहीनातको अवस्था अन्त्य गर्न माग गर्दछौँ।'

कथित मुठभेडका नाममा व्यक्ति हत्या जस्तो जघन्य अपराधमा संलग्न संस्था वा व्यक्तिलाई उत्तरदायी बनाउन तथा कानुनी दायरामा ल्याउन माग समेत गरेका छन्।

यी दुई संस्थाले राष्ट्रिय मानव अधिकार आयोगले यस घटनाका सम्बन्धमा गरेको अनुसन्धान तथा अनुगमन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्।

कुमार पौडेलको विषयलाई नै लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी नेपालले लामो समय संसद अवरुद्धसमेत गरेका थिए।

कुमार पौडेलको विवादित इन्काउन्टरमाथि हाम्रो कभरेज

प्रहरीको विवादित 'इन्काउन्टर'मा मारिएका कुमार पौडेल आखिर को हुन्? - श्रृङ्खला -१

सुकुम्बासीका हिरो तर सरकारको भिलेन : कुमार पौडेलसँग जोडिएको सागरनाथ कनेक्सन - श्रृङ्खला -२

असार ५ गतेको ती दुई कल: सञ्चै छु भनेको ४ घन्टामा मृत्युको सन्देश - श्रृङ्खला -३

सम्बन्धित समाचारहरु :

कुमार पौडेल इन्काउन्टर प्रकरणः मानवअधिकार आयोगले ११ जना प्रहरीको बयान लियो, काठमाडौँबाट गएका दुई प्रहरीमाथि शङ्का

भाँचिएको हातले कसरी गोली चलायो? कुमार पौडेलको 'इन्काउन्टर'लाई लिएर सांसदको प्रश्न, 'गृह मन्त्रीको जवाफ गैरजिम्मेवार'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell