PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नलगाड नगरपालिकाले मदिरा सेवन गर्ने समय तोक्यो



नलगाड नगरपालिकाले मदिरा सेवन गर्ने समय तोक्यो
प्रतीकात्मक तस्बिर

जाजरकोट: मदिरा सेवनबाट अशान्ति र अमर्यादित कार्य भएको भन्दै नलगाड नगरपालिकाले मदिरा सेवन गर्ने निश्चित समय तोकेको छ।

नगरपालिकाका १३ नमुना बस्तीमा ६ महीनाभित्र पूर्णरूपमा मदिरा निषेध गर्ने र अन्य ठाउँमा नगरपालिकाले तोकेको समयमा मात्र सेवन गर्न नगरपालिकाले निर्देशन जारी गरेको छ। नगरपालिकाको पाँचौँ नगरसभाबाट नमुना बस्तीबाहेक अन्य ठाउँमा साउन १ गतेदेखि लागू हुने गरी कात्तिक मसान्तसम्म बेलुका ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाइने निर्णय गरिएको छ।

त्यसैगरी मंसिर १ देखि फागुन ३० गतेसम्म बेलुका ६ बजेदेखि ८ बजेसम्म सेवन गर्न पाइने निर्णय नगरपालिकाले गरेको छ। त्यस्तै चैत १ गतेदेखि २०७७ असार मसान्तसम्म ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाइने छ। छिमेकी जिल्ला रुकुम पश्चिम आठविसकोट नगरपालिकाको सिको गर्दै नलगाड नगरपालिकाले मदिरा निषेध गर्ने अभियान थालेको हो।

नगरपालिकाले १३ ठाउँमा नमुना बस्ती निर्माण गरी त्यहाँ साँचिक्कै कामको नमुना हुनुपर्ने अवधारणा लागू गरी बजेटसमेत व्यवस्था गरेको छ । नमुना गाउँमा स्वागतद्वार, सरसफाइ, खानेपानी, खोपयुक्त हुनुपर्ने लगायतका मापदण्ड बनाएर काम गरिरहेको नगरपालिकाले जनाएको छ।

यसअघि नलगाड र भेरी नदीमा माछा मार्न प्रतिबन्ध लगाएको नगरपालिकाले अहिले मदिरा सेवन गर्न समय तोकेको हो। नगरपालिकाले सेवन नगर्न निर्देशन जारी गरे पनि सबै वडाका बासिन्दाससम्म सूचना प्रवाह नहुँदा कार्यान्वयनमा समस्या हुने देखिएको छ।

स्थानीय सरकारले सञ्चारमाध्यममा सूचना प्रसारण र प्रकाशन नगर्ने तर फेसबुक जस्ता सामाजिक सञ्जालमा मात्र मदिरा सेवनको समय प्रकाशित गर्दा सर्वसाधारणसम्म जानकारी नपुग्ने स्थानीय पत्रकार बद्री पन्तले आशंका गरे।

मदिरा निधेष गरे पनि स्थानीय सरकारका प्रतिनिधि आफैं मदिरा सेवन गरेको समेत फेला परेको स्थानीयवासीको गुनासो छ। सबै ठाउँमा प्रहरीको उपस्थिति नहुने र जनप्रतिनिधिले निर्णय कार्यान्वयनमा लापरवाही गर्दा निर्णय समस्या भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell