PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आगोको लाप्कासँग भिड्ने बद्री भन्छन् : नियन्त्रणमा लिन 'टिम वर्क' नै भएन



सविन ढकाल

आगोको लाप्कासँग भिड्ने बद्री भन्छन् : नियन्त्रणमा लिन 'टिम वर्क' नै भएन

काठमाडौं : झन्डै डेढ घन्टासम्म आगोमा पौंठेजोरी खेलेर असिनपसिन भएर निस्किँदै थिए उनी। सजिलोसँग साससमेत लिन पाएका थिएनन्। युट्युबर र अन्य पत्रकारको टोलीले झ्याप्पै छोपिहाल्यो।

‘तपाईँ त फुटेको पाइप लिएर आउनु भएछ। कसको लापरबाही हो?'

आगोको रापबाट निस्किएका उनलाई मनमै पोल्ने प्रश्न। जसरी सुबिसुको भवनमा पानीको फोहोराले आगो निभाएका थिए। त्यसरी नै उनी पत्रकारका प्रश्नको ट्याकल पनि गर्दै थिए।

‘कहिलेकाहीँ यस्ता समस्या भइहाल्छन् नि, बनाएरै राखेको दमकल घट्नास्थलमा पुग्दा काम नगर्ने नि हुनसक्छ।'

यसरी जवाफ दिने व्यक्ति हुन्, बद्री अधिकारी।

+++

नाम : बद्री अधिकारी

पद : वरिष्ठ अग्नि नियन्त्रक 

अनुभव : २६ वर्ष

आवद्धता : जुद्ध बारुण यन्त्र  

२६ वर्षदेखि उनी आगो निभाउने काममै छन्। उपत्यका भित्रका ठूलादेखि साना आगका लाप्सासँग कुस्ती खेल्न भ्याएका छन् उनले। त्यसैले उनका लागि यस्ता आगलागी सामान्य विषय।

‘२६ वर्ष भएछ काम गरेको। राजधानीमा धेरै ठूला आगजनी देखेको छु। यो खासै ठूलो भन्न मिल्दैन,’ केही फुर्सदिलो भएपछि उनले सुनाए।

वुधबार उनी आगो निभाउन भिआइपी एरियामा तैनाथ थिए। नेपाल राष्ट्र बैंक, प्रधानमन्त्रीको र भिआइपीहरुका निवासकै बीचमा भएको आगलागीको मुस्लो काठमाडौंका सबै कुनाबाट देखिन्थ्यो। मुलुकको केन्द्रमा रहेको यो चोकमा आगो लाग्दा सबैभन्दा छिटो पुगेको दमकल आगो दन्किन सुरु भएको २५ मिनेटपछि मात्रै पुगेको स्थानीयको दावी छ। पहिलो दमकलमा उनै अधिकारी थिए।

स्थानीयले ढिलोगरी दमकल पुगेको दावी गरिरहँदा उनी भने जानकारी पाएको १० मिनेटमै स्पटमा आइपुगेको सुनाउँदै थिए।

‘हाम्रो टोली पहिले आएको हो। सेना प्रहरी र अन्य टोली त हामी आएको केही समयपछि मात्र पुगेको हो,' अधिकारीले सुनाए। रोचक त के भने नेपाल प्रहरीको मुख्यालय यहाँको एक  किलोमिटर दुरीमै थियो। त्यहाँ तैनाथ दमकलभन्दा छिटो अधिकारीहरुको टिमको दमकल पुगेको थियो बालुवाटार।

सुबिसुको कार्यालयमा रहेको पेट्रोलिय पदार्थको रिजर्भ ट्याङ्कीका कारण आगो झनै दन्किरहेको थियो। आगोलाई पेट्रोल सितन जस्तै भएपछि नियन्त्रणमा लिन सजिलो भने थिएन।

‘पेट्रोल भएकाले निकै समस्या भयो। शुरुमा त जानै सकिएन। आगोले नै खाला जस्तो भएको थियो। गाह्रो थियो, फेन्ट होला जस्तो,' आगो नियन्त्रणका लागि भिडिरहँदाको अनुभव उनले सुनाए।

आगो निभिसक्दा उनको अनुहारको हालत देख्दा जे भने त्यो त कम नै भने कि जस्तो लाग्थ्यो। 

+++

एक दर्जनभन्दा बढी बारुण यन्त्र आगो नियन्त्रणका लागि पुगेका थिए, बालुवाटार। सबैले आफ्नो आफ्नो तरिकाबाट 'मैले गर्दा आगो नियन्त्रणमा आयो' भन्ने दावी संचारकर्मीसित गरिरहेका थिए।

विमानस्थलको एभिएसन रेस्क्यु एण्ड फायर सर्भिसको बारुण यन्त्र पनि पुगेको थियो आगो निभाउन।

‘त्यो त आयो मात्र। त्यो आइपुग्दा हामीले आगो नियन्त्रणमा लिइसकेका थियौं,’ अधिकारीले पनि आफ्नै हिसाबले दाबी गरे।

एभिएसनको दमकल हामी सवा १ बजेतिर आगलागीस्थल पुग्दा सक्रिय देखिन्थ्यो। यद्यपि, एभियसनको दमकलले जसरी एयरपोर्टमा 'डेमो' देखाउँदै काम गरेको थियो, साच्चिकै आगो लाग्दा भने त्यस्तो स्वरुपमा थिएन।

बारुण यन्त्रबाट दुई वटा दमकल सहित १८ जनाको टोली पुगेको थियो। सुरक्षाकर्मी भन्दा बारुण यन्त्रको टोली बढी सक्रिय झैं देखिन्थ्यो। यसलाई पुष्टि गर्न तम्सिए अधिकारी।

‘सुरक्षाकर्मीले सहयोग त गरे तर उल्टो,' अधिकारीले आगो नियन्त्रण गर्दाको क्षण व्याख्या गरे।

सुरक्षाकर्मीले कसरी उल्टोबाट सहयोग गरेछन् त? हाम्रो प्रश्न।

‘हामीसित प्रयाप्त जनशक्ति छैन। सुरक्षाकर्मीको सहयोग लिनुपर्छ,' उनले टिमवर्कको हालत सुनाए, 'हामीले मेलमा जोड्नु भन्छौं, उनीहरु फिमेल जोड्छन्। यसले समस्या आउँछ।' 

सुरक्षाकर्मीसहित टोलीले करिब ढेड घन्टामा आगो नियन्त्रणमा लियो।

‘के गर्नु, छ महिना तालिम लिन्छन्। अनि अलिअलि सीप जानेका हुन्छन्, अर्कातिर सरुवा हुन्छ। अनि हामीलाई काम गरेनन् भन्न मिल्छ?,’अधिकारीले आगो निभाउँदा पाएको अपजसको पीडा सुनाए, ‘दक्ष जनशक्ति नै छैन, अनि कसरी काम चाँडो र प्रभावकारी हुन्छ?’

सम्वन्धित समाचार

आगो निभाउन पुगेको पहिलो दमकलमा पानी कम, दोस्रो दमकलको पाइपै फुटेको

सुबिसु कार्यालयमा लागेको आगो यसरी आयो नियन्त्रणमा, २० फोटोमा हेर्नुस्

अपडेट : बालुवाटारमा सुबिसुमा लागेको आगो, भक्तपुरको यति कार्पेटमा जस्तै, स्टोरमा थियो २ हजार लिटर पेट्रोलियम पदार्थ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell