PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ने क पाको एकता: ओली विदेश हुँदा प्रचण्ड सक्रिय, केन्द्रीय नेताको रुची अनुसार सूची तयार गर्दै महासचिव



पहिलोपोस्ट

ने क पाको एकता: ओली विदेश हुँदा प्रचण्ड सक्रिय, केन्द्रीय नेताको रुची अनुसार सूची तयार गर्दै महासचिव
दैलेख ने क पा का नेताहरु पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेट्दै। फोटोः विष्णु रिजालको फेसबुकबाट

काठमाडौं: बिहीवार बिहानै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न ने क पा दैलेखका नेताहरु पुगे। पार्टी एकता, नेताहरुको जिम्मेवारी तथा तल्ला कमिटीहरुको गठनको विषयमा छलफलका लागि यो टोली प्रचण्डलाई भेट्न पुगेको थियो।

यही टोलीले एकताको विषयमा ने क पा सचिवालय सदस्य बामदेव गौतम र महासचिव विष्णु पौडेलसँग पनि भेट गर्‍यो। यो भेटका क्रममा ने क पा महासचिव पौडेलले पार्टीको विधान,  नियमावली र पार्टी अन्तरपार्टी निर्देशन अनुरुप तल्ला कमिटीहरुको गठन हुने स्पष्ट पारे। उनले पार्टीको अन्तर पार्टी निर्देशन विपरीत कुनै कमिटीबाट साबिकका सदस्यहरू हटाइए मान्य नहुने समेत ने क पा दैलेखका नेताहरुसामु स्पष्ट पारेका छन्। उनले पुराना सदस्यहरू कमिटीमा रहिसकेपछि थप्नुपर्ने भएमा मात्र वरिष्ठताका आधारमा थप्न पाइने जानकारी दिएको ने क पाका केन्द्रीय सदस्य विष्णु पौडेलले बताए।

त्यस्तै विधानले पार्टी सदस्यहरूलाई दुई कमिटीमा बस्ने अधिकार दिएको भन्दै स्वेच्छाले बाहेक कसैलाई जिल्ला कमिटीबाट हटाउन नपाइने समेत बताएका थिए।

विधान र अन्तर पार्टी निर्देशन विपरीत कमिटीमा थपघट गर्न नपाइने र त्यस्तो विषयमा रेकर्ड मगाएको र त्यस्तो भए खारेज गरिने महासचिव पौडेलले बताए।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि ने क पा गठन भएको पनि १४ महिना कटिसकेको छ। यो १४ महिनामा पनि एकता प्रक्रियाले अझै अन्तिम रुप पाएको छैन। यस्तोमा अर्का अध्यक्ष 'प्रचण्ड' र महासचिव पौडेल सक्रिय बनेका छन्।

अहिले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपचार र आरामका लागि सिंगापुरमा छन्। अध्यक्ष प्रचण्ड पनि दुबईमा पाँच दिन लामो पारिवारिक बिदा मनाएर फर्किएपछि आन्तरिक छलफललाई तीव्रता दिएका छन्।

एकताको अन्तिम टुंगो सचिवालयको २८ गते बस्ने बैठकले लगाउने बताइएको छ। गत साउन १३ गते बसेको सचिवालय बैठकले अर्को बैठक साउन २८ मा बस्ने निर्णय गरेको थियो। सो बैठकमा दुई अध्यक्षको विदेश भ्रमणको विषयमा छलफल भएको थियो।

अध्यक्ष प्रचण्ड साउन १८ गते दुबईबाट फर्किएकै दिन ओली सिंगापुरतर्फ लागेका थिए। ओली नेपालमा नहुँदा प्रचण्डले आन्तरिक छलफललाई तीव्र पारेका छन्।

पार्टीभित्र एकल नेतृत्व पाएका बेला उनले पार्टी गतिविधिमा सक्रियता बढाएका हुन्। यसबीच प्रचण्डले पार्टीका वरिष्ठ नेताहरुसँग समेत छलफल गरेका छन्। हिजो बुधवार मात्र प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच प्रचण्ड निवास खुमलटारमा छलफल भएको थियो। उनले दुबईबाट फर्किएको भोलिपल्ट नै अर्का वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका थिए।

त्यस्तै यसबीच प्रचण्डले सचिवालय सदस्यहरु रामबहादुर थापा 'बादल' र नारायणकाजी श्रेष्ठसँग पनि छलफल गरेका छन्।

प्रचण्डले पार्टीका स्थायी कमिटी सदस्यहरुलाई पनि खुमलटारमा बोलाएर एकताको विषयमा छलफल गरिसकेका छन्। अहिले ने क पा भित्र केन्द्रीय विभागहरुको गठनको विषय पेचिलो बन्दै गएको छ। ३२ विभागमध्ये स्कुल विभागमा पूर्व एमालेबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल र पूर्व माओवादीबाट ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन्। दुई सचिवालय सदस्यको दाबेदारीपछि अहिले विभाग गठनले टुंगो पाउन सकेको छैन।

पोखरेल र श्रेष्ठबाहेक घनश्याम भुसाल र वेदुराम भुसालले समेत स्कुल विभाग आफूले पाउनुपर्ने दाबी गरिरहेका छन्। स्कुल विभागकै विवादका कारण विभागहरुको गठनको विषयमा कुनै पनि निर्णय हुन नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

१३ गते बसेको सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले कुनै पनि विभागको विषयमा निर्णय नभएको बताएका थिए।

यद्यपी पार्टीभित्र संगठन विभागमा वामदेव गौतम, विदेश विभागमा माधव नेपाल र नीति विभागमा झलनाथ खनालको नाममा सहमति जुटिसकेको बताइएको छ। गौतमले यसअघि नै संगठन विभागको प्रमुख आफू हुने पक्का भएको दाबी गरेका थिए।

१६६ केन्द्रीय सदस्यको रुचीको सूची तयार हुँदै

गत १३ गते बसेको बैठकले विभागहरुको गठन तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि उनीहरु रुची बुझ्ने र सोही अनुसार प्रस्ताव तयार गर्ने निर्णय गरेको थियो।

सोही अनुसार केन्द्रीय सदस्यहरुको रुची बुझ्ने काम भइरहेको छ। यसका लागि महासचिव पौडेल खटिएका छन्। उनले उपलब्ध केन्द्रीय सदस्यसँग भेट गर्दै र उपलब्ध नभएकाहरुसँग टेलिफोनबाट राय बुझिरहेका छन्। ने क पाका ४४१ केन्द्रीय सदस्य रहेका छन्। यसमध्ये २७२ जनाले विभिन्न कमिटीको जिम्मेवारी पाएका छन्। प्रदेश कमिटीको पदाधिकारी, इन्चार्ज सहइन्चार्ज, जिल्ला इन्चार्ज सहइन्चार्ज र जिल्ला अध्यक्ष र सदस्यको जिम्मेवारी २७२ केन्द्रीय सदस्यलाई दिइसकिएको छ।

दुई अध्यक्ष र महासचिवबाहेक १६६ जनाले जिम्मेवारी पाउन बाँकी छ। उनीहरुलाई ३२ विभागहरू, केन्द्रीय परिषद्, सम्पर्क समन्वय कमिटी, २२ जनवर्गीय संगठनहरुको इन्चार्जको जिम्मेवारी दिने गरी उनीहरुको रुचीको क्षेत्र र विषय, योग्यता र अनुभवको सूची तयार भइरहेको महासचिव पौडेलले बताए।

महासचिव पौडेलले उनीहरुसँग सम्पर्क गरी उनीहरुले काम गर्न चाहेको क्षेत्रको सूची तयार गरिरहेका छन्। सोही आधारमा आगामी बैठकमा प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell