PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

ग्लोबल टी-२०: सन्दीपको टोली बाहिरियो, भ्यानकुभर नाइट्स फाइनलमा



ग्लोबल टी-२०: सन्दीपको टोली बाहिरियो, भ्यानकुभर नाइट्स फाइनलमा

क्यानडामा जारी ग्लोबल टी-२० मा भ्यानकुभर नाइट्सले ब्र्याम्पटन उल्भ्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।  शुक्रवार भएको खेलमा नाइट्सले उल्भसलाई ७७ रनले पराजित गरेको हो।

वर्षाका कारण १६ ओभरमा घटाइएको खेलमा नाइट्सका लागि कप्तान सोहेब मलिकले सर्वाधिक ४६ रन बनाए। यता, उल्भ्सले भने १३.४ ओभरमा १० विकेट गुमाउँदै १ सय ४ रनमै अलआउट हुन पुग्यो। उल्भ्सका कप्तान कोलिन मुन्रोले सर्वाधिक ६२ रन बनाए। तर उनको टोलीका अन्य खेलाडीले 'डबल डिजिट' बनाउनै सकेनन्।

यस्तै नेपालका सन्दीप लामिछाने संलग्न टोरन्टो नेशनल्स सोमपाल कामीको विन्निपिग हक्ससँगै पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

पहिले ब्याटिङ गर्दै टोरन्टो नेशनल्सले ५ विकेट गुमाउँदै २३८ रन बनाएको थियो। टोरेन्टोका लागि हेनरिच कलासिनले १०६ रन बनाएका थिए भने रोडिग्रस थोमसले ७३ रन बनाएका थिए। कप्तान युवराज सिंह पहिलो खेलमा झैं रिटायर्ड हर्ट भए।

यता, विन्नपिग हक्सले १७ .१ ओभरमा ५ विकेट गुमाउँदा २०१ रन बनाए। यसबेलासम्म खेल भैरहेको स्थानमा धेरै अँध्यारो भइसकेको थियो। अम्पायरहरुले त्यसकारण खेल हुन नसक्ने घोषणा गरे र पार स्कोर अन्तर्गत १७.१ ओभरसम्म हक्सको १९९ रन भएको थियो जुन टोरन्टोको भन्दा २ रन बढी थियो।

यसरी २.६ ओभर बाँकी नै छँदा अम्पायरहरुले खेल सकाउने निर्णय गरेसँगै हक्सले तेस्रो क्वालिफायरमा स्थान पक्का गर्‍यो।  सन्दीपले सो खेलमा ४ ओभर खेल्दै ३ विकेट लिएका थिए। सोमपाल कामीले भने यो खेलमा प्लेइङ ११ मा परेनन्।

अब ब्र्याम्पटन उल्भ्स र विन्निपिग हक्सबीच हुने तेस्रो क्वालिफायरको विजेताले फाइनलमा भ्यानकुभर नाइट्स विरुद्ध प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell