PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

मैले खिच्न नपाएको त्यो तस्बिर ...



प्रवीण रानाभाट

मैले खिच्न नपाएको त्यो तस्बिर ...

'एउटा खत्रा मान्छे भेट्न जानु छ है। तेरो लागि काम देखाउने ठाउँ हुनसक्छ।'

ऋषि सरको त्यो बोलीले निक्कै उत्साह बढेको थियो। पत्रकारिता गरेको एक वर्ष बित्दै थियो कसैको जीवनशैली प्रस्तुत गर्न  रोचक लाग्ने मलाई ‘खत्रा मान्छे’ भन्दा उत्तिकै आतुर थिएँ, भेट्न।

अर्को असाइनमेन्ट भ्याएरमात्र म भेट्न जाँदै थिएँ। समय यस्तै ३ बजेको थियो सायद।

फोन आयो – ‘आउँदैनस्?’

म हतारहतार गर्दै ‘आइहालेँ भन्दै’ पुगेँ प्याङ्क बाइकको सोरुम।

लगभग कुराकानी सकिसकेको रहेछ।

मैले संकेतमै भने, 'को? मान्छे उही हो?'

'नमस्कार दाइ,' भन्ने आवाजले ध्यान उतैतिर तान्यो। नीलो रङको टीसर्ट लगाएका उनी युवक लामा रहेछन्। यसो हेरेँ, उसको एउटा खुट्टा थिएन। सरले उसको घटना सुनाउँदा नरमाइलो लाग्यो। अनि बारम्बार आँखा उतिरै गयो। उसको अनुहार हेर्दा लाग्थ्यो केही भएकै छैन। कस्तो हँसिलो अनुहार।

कुरा गर्दै थियौं। म आफ्नो क्यामरा निकाल्दै थिएँ। फेरि सरले भन्नुभयो – ‘ऊ खत्रा साइकलिस्ट हो नि। साइकल चलाउनेमात्र होइन रेस गर्छ। अरुलाई सिकाउँछ पनि।‘

अचम्म परेँ। फेरि हेरेँ उसैलाई। सरलाई हेर्दै भने- 'हो र?'

'हेरौं त भाइ,' मैले भने।

उसले साइकल चढ्छ भन्ने सुन्दा नै म अचम्मित थिएँ।

एकैछिनमा ऊ एउटा वैशाखीको साहरामा साइकलसम्म पुगेको थियो। त्यसपछि त मज्जाले साइकल कुदाउँदै मेरै अगाडि हाँस्दै आइपुग्यो।

मनमनै लाग्यो - वाउ! साच्चिकै खत्रै रहेछ भाइ त।

फोनबाट सम्पर्क गरेर अर्को दिन भेट्ने वाचासहित त्यो दिनको भेटघाट सकियो हाम्रो।

स्टोरीको यो प्लट कास्टिङमात्र थियो। उसका धेरै फोटोहरु खिच्नु थियो। र, ती फोटोले नै बताउनु थियो उसको जीवन संघर्षको कथा।

+++

केही दिनपछि सहकर्मी स्वेच्छा राउत र म फेरि उसको हात्ती वनमा रहेको कोठामा पुग्यौं। हामी त्यहाँ पुग्दा ऊ सँगैको घरमा पोट खेल्दै थियो।

जस्ताले बारेको साँघुरो ठाउँ रहेछ। त्यहाँ ऊ एक्लै बस्ने। खाना बनाउनेदेखि सबै काम एक्लै भ्याउने पनि रहेछ। उसको जीवन झल्कने तस्बिरहरु मैले त्यहीँ लिएँ।

त्यस दिनको भेटघाटपछि अब अर्को दिन भेट्ने कुरासहित हामी उसको त्यो घरबाट निस्कियौं। ऊ पनि बाहिरियो।

'मान्छे भेट्नु छ,' भन्दै ऊ फेरि साइकल लिएर निस्कियो। हामी पनि उसको साइकल जिन्दगीको सजीव दृष्यहरुको प्रतीक्षामा थियौं। ऊ साइकलमा अगाडि बढिरहँदा हामी घरी अघि घरी पछि गर्दै फोटो खिच्न तल्लिन रह्यौं। आधा बाटोसम्म यात्रा यसैगरी बित्यो।

फोटो पत्रकारले सबैभन्दा बढी ध्यान आफ्नो क्यामरामा दिन्छन्। तर, त्यस दिन म क्यामराभन्दा बढी उसको एउटा खुट्टामै ध्यान दिइरहेको थिएँ। एउटा खुट्टा नहुँदा पनि कति सजिलै साइकल कुदाइरहेको थियो - शहरको भिडभाडमा पनि।

फोटो कस्तो होला भन्ने मतलब भन्दा पनि उसको साइक्लिङ खुबी देखेर म बढी उत्साहित थिएँ। बाटोमा जसले देख्थे अनौठो मानेर हेर्थे उसलाई। मानिसहरुले हेर्ने दृष्टिकोण नै बदल्ने क्षमता थियो उसमा। साच्चिकै बबाल थियो - खुबी।

कक्षा ११ को परीक्षा चलिरहेको थियो उसको। उसको साइक्लिङ, घरतिरको काम र संघर्ष सबै भए पनि पढिरहेको ठाउँको फोटो आवश्यक थियो। पढ्ने ठाउँमा उमाथि हुने व्यवहार र ऊ अरुभन्दा फरक छ कि छैन त भन्ने बुझ्नका लागि त्यहाँको फोटो आवश्यक हुन्थ्यो।

उसको कलेज जानु अघिल्लो दिन फोनमा कुरा भयो – ‘भोलि तिमी बस्ने ठाउँमा आउँछु है भाइ।‘

उसले 'हस्' भन्यो।

बिहान ५:३० बजे।

जोरपाटीदेखि म पुगेँ सानेपा।

त्यस दिन उसले आफ्नो डेरामा होइन, भाइको कोठाबाट कलेजतिर जाने बताएका थियो। म पुग्दा ऊ आफैँ बाटो देखाउन भन्दै सानेपा चोकमा लिन आइपुगेछ। कलेज जानका लागि तयार हुँदै गरेका केही फोटोहरु मैले लिएँ। त्यसपछि लाग्यौं - उसको परीक्षा केन्द्र रहेको कलेजतिर।

परीक्षा दिन जाँदा बाटोमै स्टन्ट पो गर्छ त! झन् अचम्म। उसका हरेक गतिविधिले मलाई खिचिरहेको थियो।

कलेज पुगेँ। ऊ साथीहरुसँग घुलमिल गरेको, हाँसी मजाक गरेका क्षणहरुको फोटो लिइरहेँ। उसको मिलनसार व्यवहार र साथीहरुको सहृदयी साथ पनि देखेँ। ती सबै कुराहरु देख्दा मलाई लाग्यो - यो भाइसँगै कुनै पीडा छैन, भलै उसँग मेराजस्ता खुट्टा छैन।

परीक्षापछि फेरि उसको अफिसमा अर्को दिन भेट्ने बताउँदै म निस्किएँ।

जमलमा रहेको उसले काम गर्ने ठाउँमा पहिले नै फोटो खिचिसकेको थिएँ। पहिले नै खिचेका उसका तस्बिरहरु हेर्दै गर्दा मलाई लागेको थियो - अझै फरक शैलीका फोटोहरु चाहिन्छ।

अर्को दिन भेट्ने कुरा भएअनुसार म पुगेँ उसको काम गर्ने थलो प्याङ्क बाइक। ऊ त्यहाँ आएका ग्राहकहरुसँग डिल गरिरहेको थियो। आएका मान्छेमात्र होइन, अनलाइनबाट पनि ग्राहकहरुसँग कुरा गर्न भ्याइरहेको थियो। ऊ त्यही काम गर्थ्यो जसले उनलाई साइकल नि:शुल्क उपलब्धसमेत गराएको थियो। संघर्षमा साथ दिएको थियो।

त्यहाँ केही क्षण कुरा भएपछि ऊ 'एकछिन है दाइ' भन्दै बाहिर निस्कियो।

पछि थाहा भयो ऊ त चिसो मगाउन पो गएको रहेछ।

'दाइ यस्तो गर्मी छ। चिसो खाउँ है,' युवकको प्रस्ताव आयो, 'खाजा केही मगाउँ दाइ? केही खाजा खाएर जानुपर्छ है।'

मिज्यासिलो त थियो नै, बोली पनि मीठो।

मनमनै सोचेँ - कति धेरै व्यवहारिक है यो भाइ, यति सानै उमेरमा? ऊ १९ वर्षको मात्र।

कुरा गर्दै जाँदा ठट्यौली पारामा भन्दै थियो - 'दाइ एक दिन पारा ओलम्पिक्स जान्छु म। साइक्लिङमा देशको नाम रोशन गर्ने हो। आउनु है दाइ फोटो खिच्न...'

कस्तो गर्व लाग्नेगरी कुरा गरिरहेको थियो उसले।

हरेक साता शनिवार प्याङ्क बाइकले अफ-रोडतिर साइक्लिङ आयोजना गराउँदो रहेछ। उसले त्यस्तोमा लिड गर्ने गर्दो रहेछ। साइकल लिएर डाँडाकाँडातिर जाने। सबैलाई साइकल चढाउन प्रेरित गर्ने।

उसको त्यो काम चाहिँ कस्तो होला त? डाँडातिरका खाल्डाखुल्डी कसरी पार गर्ला उसले?

यिनै कुराले मलाई सोच्न बाध्य बनायो।

अब मैले खिच्ने फोटोको विषय त्यही हुने भयो। उसले डाँडातिर कुदाएको साइकल। पृष्ठभूमिमा हिमाल अनि एउटा खुट्टाकै भरमा साइकल चढेर अरुलाई प्रेरित गरिरहेको दृष्यको कल्पना गरेँ।

गजब हुनेछ फोटो!

'यो शनिवार म पनि जान्छु नि त साइकलको 'हाइकिङ'का लागि,' मैले भने।

निस्किनै लाग्दा उसले मलाई सुनायो - 'दाइ मत फूटबल पनि खेल्छु नि... हेर्न आउनुस् है, म बोलाउँछु तपाइँलाई।'

म अझै एक्साइटेड भएँ त्यो बोली सुन्दा।

सबै सोचे झै नमिल्ने। त्यो शनिवारको दिन मेरालाई अरु नै असाइनमेन्ट थपियो, अफिसमा। युवकसँगको साइकल यात्रा त्यो साता रोकियो। त्यसपछिको शनिवार छँदैछ भन्ने सोचेँ।

स्वच्छाले युवकको स्टोरी तयार पारिसकेकी थिइन्। मैले कुराएँ। मेरा कारण स्टोरी रोकियो। एउटा फोटोको प्रतीक्षा थियो। हिमालको पृष्ठभूमिमा एक खुट्टाकै भरमा साइक्लिङ गरिरहेको दृष्य।

अर्को साता पनि मिलेन। एउटा फोटोकै कारण स्टोरी रोकिराख्‍ने कुरा थिएन। भएसम्मका फोटोहरु हालेर स्वेच्छा र मेरो मेहनत सार्वजनिक भयो। धेरैलाई प्रेरित गर्‍यो जस्तो लाग्छ - त्यो स्टोरीले।

पढ्नुस् त्यो स्टोरी : 

एक खुट्टा गुमाएका युवकको साइकल जिन्दगी: चलायमानमात्र होइन, लिड गर्नेगरी रफ्तारमा यात्रा

+++

स्टोरी प्रकाशित भए पनि मेरा लागि हिमालको पृष्ठभूमिमा उसको साइकल स्किलको क्लिक हुन बाँकी नै थियो।

त्यसपछि पनि युवकसँग कुरा गर्दै थिएँ - 'अर्को हप्ता है जाने।'

वर्षाको मौसम, झरी लागिरह्यो। कहिले पानी त कहिले झरी। युवकसँगको साइकल यात्रा सरिरह्यो। यात्रा सर्नुभन्दा पनि फोटो स्टोरी पूरा गर्ने काम रोकिइरह्यो।

साउन १९ गते आइतबार। विदा लिएर घरमा थिएँ। विदाको दिन आफ्नै कामको रिभ्यू गर्दै बसिरहेको थिएँ। पाँच बजेतिर युवकका फोटोहरु एक एक गरेर हेर्दै थिएँ। अब आउने शनिवार जानुपर्ला साइकलमा हाइकिङको फोटोको लागि भन्ने सोचेँ।

स्टिलसँगै भिडियो पनि खिचेको थिएँ उसको। युट्युवमा अपलोड गर्न मन लाग्यो। र, अपलोड थालेँ। त्यत्तिकैमा फेसबुकमा युवकलाई ट्याग गर्दै म्यासेज फ्लो हुन थालिसकेको रहेछ – आर आइ पी।

म झसङ्ग भएँ।

उसले आत्महत्या पो गरेछ। हतारहतार उसको प्रोफाइल हेरेँ- तिनै पोस्टहरु। फोन गरेँ मोबाइल अफ रहेछ। उसको भाइको फोन नम्बर त थिएन तर फेसबुकमा जोडिएको थियो - उसलाई मैले फलो गर्न थालेपछि।

तर, उसले पनि म्यासेन्जरमा रिप्लाइ गरेन।

यतिखेर युवकको फेसबुक वालभरी हेर्न नसकिने तस्बिर पोस्ट भइरहेको थियो।

यी सबै देखिरहँदा म केही बोल्न नसक्ने अवस्थामा पुगिसकेको थिएँ।

सधैं हाँस्दै बोल्ने युवकले किन त्यसो गर्‍यो? यही प्रश्नले म रातभर सुत्न सकिन।

पारा ओलम्पिक पुग्ने उसको सपना सम्झिएँ।

अनि जंगलको खाल्डाखुल्डी बाटोमा अरुलाई गाइड गर्दै गरेको दृष्यको कल्पना गरेँ। फुटबल खेल्दै गरेको युवकको अनुहार, पारा ओलम्पिक जितेर देशको झन्डा ओडेको आदि आदि दृष्य कल्पनामा आउँदा निद्रा लागोस् कसरी? मेरो क्यामराको फ्रेममा कैद हुन सकेनन् ती तस्बिरहरु जसले यो मेरो स्टोरी अधुरै रह्यो, सधैंका लागि।

यो पनि पढ्न सिफारिस : युवकले त मलाई नमज्जाले ढाँटेछ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell