PahiloPost

Aug 20, 2019 | ३ भदौ २०७६


तेक्वान्दोकी डान रोमीको सफलताको रोमाञ्चक यात्रा


स्वेच्छा राउत

तेक्वान्दोकी डान रोमीको सफलताको रोमाञ्चक यात्रा

२९ अप्रिल, सन् २०१६। संयुक्त राष्ट्रसंघको मुख्यालय। रोमी गिरी आत्मविश्वासका साथ सयौं मानिसहरुका अगाडि बोलिरहेकी थिइन्। उनले त्यहाँ विश्वभरका तेक्वान्दो खेलाडीहरुको प्रतिनिधित्व गर्दै मन्तव्य दिइरहेको दृश्य स्क्रिनमा हेरिरहेकी आमा लक्ष्मी गिरीका आँखा भने रसाइ रहेका थिए। उनको मनमा उर्लिरहेको खुशी भने सायदै कसैले अनुमान गर्न सक्छ।

रोमी बोल्दै थिइन्-

'बुद्ध जन्मेको देश र शान्तिको देशबाट विश्व तेक्वान्दो महासंघ तथा नेपाल तेक्वान्दो संघको प्रतिनिधित्व गर्दै म नेपालकी छोरी २३ वर्षीया रोमी गिरी यहाँहरु माझ उपस्थित छु…'

उनले आफूलाई नेपालकी छोरी भनेर चिनाइ रहँदा यता आमाको खुशीको सीमा रहेन।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन थिए। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बच लगायत खेल क्षेत्रका विशिष्ट व्यक्तित्व र खेलाडीहरु पनि थिए। त्यो क्षण रोमी वा उनको परिवारका लागि मात्र नभएर नेपाली तेक्वान्दो तथा खेलकुद क्षेत्रका लागि गर्विलो क्षण थियो।

हो, उनी त्यही 'बिग्रिएकी छोरी' थिइन्, जो युएनमा बोल्ने पहिलो महिला एथ्लेट बन्लिन् भन्ने कुरा उनका आमाबुबाका लागि अविश्वसनीय थियो।

***

सधैं स्पोर्ट्स ट्र्याक सुट र जुत्ता। खेलकुददेखि ग्याङ्ग फाइटसम्म। केटाहरुको समूहमा एक्ली थिइन् रोमी। कहिले जोशै जोशमा छतबाट हाम् फाल्दिने अनि कहिले होस्‍टलबाट भागेर नाइट क्लब गइदिने। उनको यस्तै हर्कतबाट आजित भएका थिए आमाबुबा।

छोरी मान्छेका सन्दर्भमा निर्धारित सामाजिक घेराबाट कोही बाहिर निस्कन्छ भने, ऊ धेरैको नजरको तारो बनिसकेको हुन्छ। रोमी केटासाथीहरुसँग हिँड्नु, केटाकै जस्तो लवाइ, चालढाल अपनाउनु, घुमफिर गर्नु अभिभावकका लागि कदापी स्वीकार्य थिएन। किनकि छोरीले त्यसो गर्दा समाजले कुरा काट्ने डर थियो। आमा भन्थिन्- 'जेठी छोरी नै बिग्रिने भइ।' घर उनको जोरपाटी।

रोमीपछिका एक बहिनी र एक भाइ छन्। जेठीले बाटो बिराए अरु सन्तानले पनि त्यही सिक्छन् भन्ने डर थियो आमाबुबामा। त्यसैले रोमीले गाली खान्थिन्। कहिले काहीँ प्लास्टिकको पाइपले कुटाइ खाएको पनि बिर्सिएकी छैनन् उनले।

'गाली र पिटाइको त बानी परिसकेको थियो। आफूले गल्ती नगरेसम्म न मलाई दुख्यो न माफी नै मागेँ,' उनले पुरानो कुरा सम्झिइन्।

आफ्नो यस्तो थेत्तरो स्वभावको कारण चाहिँ तेक्वन्दोलाई मान्छिन् उनी। उमेरले ८ वर्षको मात्र थिइन् जब खेल्न सुरु गरिन्। जाडोमा काका बिहानै उठाउँथे। उनी रुँदैरुँदै काकाकै पछिपछि हिँडेर डोजाङसम्म पुग्थिन्। अनिद्रा र चिसोले हात फुकाउनसमेत गाह्रो हुन्थ्यो। तर, काकाले हौस्याए। रोमीका आमाबुबा त छोरीलाई खेल्न पठाउने समय नै भएको छैन भन्थे। काका सोभित गिरी तेक्वान्दो पाँचौ डान। उनकै जिद्दीले रोमीलाई त्यहाँसम्म पुर्‍यायो। बानी पर्दै गयो। खेलमा रमाउन थालिन्।

स्कूले जीवनको अधिकांश समय पढाई भन्दा बढी खेल्नमै बिताएको स्वीकार्छिन् उनी। तेक्वान्दोसँग यति नजिकिइन् कि प्रतियोगितामा सहभागिता जनाउन तौल नपुग्दा वा बढी हुँदा झगडा गर्थिन्। सँगै खेल्ने साथीहरु मेडल लिएर फर्कदा उनी रुँदै फर्कन्थिन्।

तर, प्रतियोगिता र पुरस्कार भन्दा महत्वपूर्ण त आखिर खेल नै थियो। एसएलसी पास गर्नुअघि नै तेक्वान्दोमा सेकेन्ड डान भइन्। नयाँ खेलाडीहरुको गुरु बनिन्। तेक्वान्दो सिकाएर कमाउने भइन्। तर, फेरि पनि खाजा खर्च त घरमै माग्नु पर्थ्‍यो। किनकि उनको कमाइ त सधैं बाटोमै सकिन्थ्यो। साथीहरुसँग पार्टी गरेर, घुम्न गएर।

यस्‍तै हर्कतका कारण उनीसँग बुबाआमा वाक्क। रोमी चाहिँ बुबाआमासँग वाक्क।

'ड्याडी ममी मेरो इच्छाबारे न सोध्नु हुन्थ्यो न सुन्नु नै चाहनु हुन्थ्यो। उहाँहरुलाई म समाजले चाहनेजस्तै छोरी मान्छे बनोस्। घर नछोडोस् भन्ने थियो। त्यसैका लागि गाली गर्नु हुन्थ्यो। म जे भने पनि सही दिन्थें,' उनले सुनाइन्, 'आखिर मेरो कुरा सुन्ने यिनै साथीहरु हुन् भन्ने लाग्थ्यो। त्यसैले धेरै समय साथीहरुसँगै बिताउँथे।'

यस्तै जिद्दी, एकोहोरो स्वभावका कारण उनकी आमा लक्ष्मीसँग उनीप्रति धेरै गुनासाहरु थिए। रोमीको भविष्यलाई लिएर चिन्तित पनि। पढे पढाउँछु नपढे विवाह गरेर पठाउँछु भन्ने योजना पनि नबनाएकी होइनन्।

तर, आमाको सपनाहरुलाई हुर्कने ठाउँ नै दिइनन् रोमीले। सरासर पढिन्। पढाइकै बीच हो, उनी संयुक्त राष्ट्रसंघको कार्यक्रममा गएर बोलेको।

'त्यो यस्तो अवस्था थियो जब मैले खुशी र डर एकसाथ महसुस गरेँ। मेरो लागि त्यो अवसर र चुनौती दुवै थियो। जब बोली सकेँ तब लाग्यो अब अझै धेरै चुनौतीसँग जुध्न सक्ने र जिम्मेवारी सम्हाल्ने ताकत राख्नुपर्छ,' रोमीले पहिलोपोस्टसँगको कुराकानीमा सुनाइन्।

तर, यो नै उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता भने थिएन।

सन् २०१५ मै जापानको टाकोहुमा आयोजित १४ औँ युथ लिडरसीप कार्यक्रममा नेपाल तेक्वान्दो संघको प्रतिनिधित्व गर्दै सहभागिता जनाइसकेकी थिइन्।

जिद्दी र रहर मार्न नसक्ने बानीले त्यहाँसम्म पुगेको लाग्छ उनलाई। महिलालाई शारीरिक मात्र होइन बौद्धिक रुपमा पनि कमजोर मानिने, हेप्ने, दबाउने परिवेशबीच उनले परिवार, समाज र आफू जोडिएका संस्थाहरुसँग लडेरै भए पनि फरक स्थान बनाएकी छिन्।

'गरेर नदेखाएसम्म कसैलाई हाम्रो क्षमतामाथि विश्वास हुँदैन। त्यसैले गर्नैपर्छ। सकिन्छ सकिँदैन फरक कुरा, प्रयास भए पनि गर्नु चाहिँ पर्ने रहेछ,' उनले भनिन्। जुन कुराको पुष्टि आफ्ना उपलब्धीहरुले गर्ने बताउँछिन्।

लर्ड बुद्ध एकेडेमीबाट एसएलसीसम्मको अध्ययन गरेकी उनले सेन्टिनेन्टल कलेज जोरपाटीबाट प्लस टु सक्काइन्। खेलकुदले गर्दा छोरीको पढाई ध्वस्त हुन्छ भन्ने अनुमान गरेका आमाबुबाको यो अनुमान पनि फेल खायो। उनले पढाइ र तेक्वान्दो दुवैलाई निरन्तरता दिइन्। फोर्थ डानसम्म पुरा गरिन्। जया मल्टिपल क्याम्‍पसबाट बीबीएस हुँदै केएफएबाट एमबीए पनि गरिन्।

हाल उनी दक्षिण कोरियाको इन्चोनमा बस्छिन्। त्यहाँ उनले वर्ल्ड तेक्वान्दो फेडेरेसनमा रहेर खेलकुद व्यवस्थापन र प्रशासनमा इन्टर्न गर्दैछिन्। नेपाल तेक्वान्दो महासंघको तर्फबाट गएकी उनले १ वर्ष लामो कोर्स सकेर फर्किने छिन्।

'यस्तो मौका निकै कमले पाउँछन्। मैले पाएँ। त्यसैले मौकाको भरपुर फाइदा उठाउने छु। यो मेरो व्यक्तिगत मात्र नभएर म जोडिएको संस्थाका लागि पनि निकै ठूलो कुरा हो,' उनले भनिन्। उनको योजना नेपाली खेल क्षेत्रमा, विशेष गरी तेक्वान्दो क्षेत्रमा आवश्यक सुधार र परिवर्तन ल्याउनु हो।

खेलाडीसँगै केही समय रेफ्रीका रुपमा पनि काम गरेकी उनी अब भने कुनै नेतृत्व सम्हाल्ने गरी काम गर्ने योजनामा छिन्।

'हामीले सधैं यो भएन, त्यो भएन भनेर गुनासो गर्दै मात्र आयौं। तर, आफ्नो तर्फबाट व्यवस्थापन राम्रो बनाउन कुनै पहल गरेनौं। म त्यो गर्न चाहन्छु। खेल क्षेत्रको व्यवस्थापक बनेर', उनले आफ्नो योजना सुनाइन्, 'जे चाहिन्छ त्यसको लागि लड्न सक्दैनौं भने कम्तिमा चाहिएको कुराको पक्षमा उभिऔं।'

उनले एमबिए पढ्दै गर्दा वाणिज्य मन्त्रालय अन्तर्गत नेपाल इन्टर मोडल यातायात विकास समितिमा रहेर पनि काम गरिन्। हाल भने कोरियामै रहेर नेपालका लागि तेक्वान्दो कियर्स भन्ने कार्यक्रम डिजाइन र भित्र्याउने काम गरिन्। यो वर्ल्ड तेक्वान्दो अन्तर्गतको कार्यक्रम हो जसले अनाथ तथा असाहय बालबालिकाको शारीरिक एवं मानसिक विकासका लागि सहयोग पुर्‍याउँछ। विशेषगरी तेक्वान्दो नै यसको कार्य क्षेत्र हो।

छोरी मान्छे कति बोल्या? कति डुल्न सकेको? किन केटा मान्छेको संगत गर्‍या लगायतका प्रश्नहरुको सामना गरेर हुर्किएकी रोमी आज बोलेरै चिनिइन्। उनी आज पनि डुल्छिन्, देश विदेश- देशको प्रतिनिधित्व गर्छिन्।

'यो सबका लागि आफ्नो निर्णय आफै लिन र के सही के गलत छुट्याउन चाहिँ सक्नुपर्दो रहेछ,' उनी आफ्नो अनुभव सुनाउँछिन्, 'हो किशोरावस्थामा म पनि केही कुरामा गलत थिएँ। सम्झदा नराम्रो महसुस हुन्छ तर मैले त्यो बेला आफ्नो रहरहरु मारेको भए आज जहाँ छु त्यहाँ हुन्थिन।'

परिवेश र बुझाइ फेरिएको देखेर खुशी छिन् उनी। बुबा आमा आफैले डोहोर्‍याएर छोरीहरुलाई डोजाङ्मा पुर्‍याएको देख्दा खुशी लाग्छ उनलाई।

'अब त यो समय कटाउने खेलमात्र होइन आवश्यकता बनेको छ। स्वास्थ्यका लागि, आत्मरक्षाका लागि। यस्तोमा अभिभावकको साथ रहनु थप बलियो हुन सघाउनु हो,' भनिन्, 'अझै पनि फेरिनुपर्ने बुझाइ छन्। थप उदाहरणीय काम गरेर त्यस्ता बुझाइ भत्काउन सहयोग पुर्‍याउने छु।'



तेक्वान्दोकी डान रोमीको सफलताको रोमाञ्चक यात्रा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट